नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ सहयोग गरेको छ।
सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गर्नुभएको हो।
सङ्घका अनुसार उक्त रकममध्ये सङ्घअन्तर्गतका अस्पताल, आँखा उपचार केन्द्र, जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ रुपैयाँ तथा कर्मचारी र स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ रुपैयाँ सङ्कलन गरिएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य तथा जीविकोपार्जनमा गम्भीर असर परेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आह्वान गरेको उद्धार कोषमा सहयोग गर्ने निर्णयअनुसार रकम सङ्कलन गरिएको सङ्घले जनाएको छ।
सङ्घले अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखाका साथै समाजसेवी, शुभेच्छुक र कर्मचारीबाट प्राप्त व्यक्तिगत सहयोगसमेत एकीकृत गरी उक्त रकम कोषमा जम्मा गरेको हो।
आर्थिक सहयोगसँगै सङ्घले बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचार सेवा समेत सञ्चालन गरिरहेको जनाएको छ। विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई आँखा परीक्षण, उपचार तथा आवश्यक परामर्श उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको सङ्घले जनाएको छ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा नेपाल सरकारले गरिरहेको प्रयासप्रति सङ्घको ऐक्यबद्धता रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा प्रवाहमार्फत सङ्घले आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने जानकारी दिनुभयो।
सङ्घका महासचिव चन्दका अनुसार नेपाल नेत्रज्योति सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरेको छ।
हाल सङ्घअन्तर्गत २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन्। ती संस्थामार्फत नेपालीसहित विभिन्न विदेशी नागरिकलाई समेत आँखा उपचार सेवा प्रदान हुँदै आएको सङ्घले जनाएको छ।
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
वीर अस्पतालमा दुर्लभ मस्तिष्कको सफल शल्यक्रिया
बिहीबार, भदौ २५, २०८३


