नेभिगेशन

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा

नेपाल हेल्थ न्युज, नयाँदिल्ली । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँ बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरीसमेत हुनुहुन्छ।

रायटर्सले प्राप्त गरेको उहाँको राजीनामा पत्रअनुसार, डब्ल्युएचओ तथा बंगलादेशी अधिकारीहरूले उहाँमाथि ठगीसम्बन्धी अनुसन्धान अघि बढाइरहेका बेला वाजेदले बुधबार पदबाट राजीनामा दिनुभएको हो।

सन् २०२४ को मध्यतिर बंगलादेशमा भएको हिंसात्मक जनविद्रोहपछि शेख हसिना सत्ताबाट बाहिरिनुभएको थियो। त्यसयता उहाँका राजनीतिक सहयोगी तथा परिवारका सदस्यहरूमाथिसमेत विभिन्न आरोपमा अनुसन्धान र कानुनी कारबाही अघि बढिरहेको छ। हसिनाका कैयौँ सहयोगीविरुद्ध बंगलादेशमा भ्रष्टाचारलगायतका आरोपमा आपराधिक मुद्दा चलिरहेका छन् भने उहाँ स्वयं स्वनिर्वासनमा रहनुभएको छ।

वाजेदले सन् २०२४ को सुरुआतमा डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँको कार्यकाल पाँच वर्षका लागि तय गरिएको थियो।

तर, उहाँमाथि अनुसन्धान अघि बढेपछि डब्ल्युएचओले गत वर्षको अन्त्यतिर उहाँलाई तलबविहीन प्रशासनिक बिदामा पठाएको थियो। त्यसअघि बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले मार्च २०२५ मा उहाँविरुद्ध ठगी तथा कागजात किर्ते गरेको आरोपमा मुद्दा दायर गरेको थियो। सोही प्रकरणपछि जुलाई २०२५ मा उहाँलाई पहिलोपटक प्रशासनिक बिदामा पठाइएको थियो।

उक्त आरोप तथा अनुसन्धान शेख हसिना सत्ताच्युत भएपछि गठन भएको बंगलादेशको अन्तरिम सरकारले अघि बढाएको हो। वाजेदमाथि लागेको आरोपका विषयमा उहाँले आफू निर्दोष रहेको बताउँदै आउनुभएको छ। उहाँको राजीनामासँगै डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयको नेतृत्वमा अब नयाँ व्यवस्था गर्नुपर्ने भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट