नेभिगेशन

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलन (आगलागी तथा पोलिएका) का बिरामीका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ।

महानगरपालिका र कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्रष्टअन्तर्गतको कीर्तिपुर अस्पतालबीच सम्झौता भएसँगै विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले उक्त सुविधा पाउने भएका हुन्।

काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारले समेत जलन उपचार कोषमार्फत प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिनुभयो।

तर अस्पतालको क्याबिन, इएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषको रकम प्रयोग गर्न नपाइने महानगरपालिकाले जनाएको छ। सम्झौताअनुसार सेवा सञ्चालन तथा उपकरण खरिदका लागि महानगरपालिकाले कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। त्यसमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’का लागि छुट्याइएको छ भने बाँकी १ करोड रुपैयाँ गत वर्ष खरिद गरिएका एनेस्थेसिया मेसिन, जेनेरेटर र डिजिटल एक्सरे मेसिनको भुक्तानीका लागि प्रदान गरिएको हो।

sahayata2-(1)-1789281623-1789286944.png
कार्यवाहक मेयर डंगोलले आर्थिक अभावका कारण कुनै पनि जलनका बिरामी उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताउनुभयो। दुर्घटना वा आगलागीका कारण जलन भएमा पैसाको अभावमा अस्पताल लैजान ढिलाइ हुने तथा उपचारका क्रममा आफन्तले रकम खोज्नुपर्ने बाध्यता अन्त्य गर्न कोष प्रभावकारी हुने उहाँको भनाइ छ।

महानगरपालिकाले आगलागी नियन्त्रणमा अग्रपंक्तिमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीलाई जलनबाट बच्ने उपायबारे सचेतना र क्षमता विकासका कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। सम्झौता पत्रमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र जनस्वास्थ्य सरोकार ट्रष्टका कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन्।

कीर्तिपुर अस्पतालका प्राध्यापक डा. शंकरमान राईका अनुसार पछिल्लो प्रविधि र पूर्वाधार विकासका कारण जलन भएका बिरामीलाई बचाउन सक्ने क्षमतामा उल्लेख्य सुधार आएको छ। उहाँका अनुसार १० वर्षअघि ४० प्रतिशतसम्म जलेका बिरामीलाई बचाउन कठिन हुने गरेकोमा अहिले ५० प्रतिशतसम्म जलेका बिरामीमध्ये आधालाई बचाउन सक्ने क्षमता विकास भएको छ।

अन्य निकायबाट समेत निरन्तर सहयोग प्राप्त भए आगामी १० वर्षभित्र ७० प्रतिशतसम्म जलेका बिरामीमध्ये आधालाई बचाउन सक्ने लक्ष्य रहेको डा. राईले बताउनुभयो।

काठमाडौं महानगरपालिकाले यसअघि वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल र कान्ति बाल अस्पताललाई समेत विभिन्न उपकरण सहयोग गरिसकेको छ। महानगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आफ्नै महानगर अस्पताल स्थापना गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट