नेपाल हेल्थ न्युज, रुपन्देही । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछडिएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजय कुमार मिश्रको तर्फबाट रजिष्ट्रार प्रा. श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेयान्ग्बोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपायहरू तथा हिमाली जडीबुटीहरूको अध्ययन एवं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधी उत्पादन गर्न सकिने सम्भावना लगायतका महत्त्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ ।
वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जडीबुटी सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अत्यन्तै महत्वको विषय हो । दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने समेत सम्झौतामा उल्लेख छ ।
त्यसैगरी, दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एक अर्काको आवश्यकता अनुसार आदान प्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलापहरू सुचारु गर्न सहज बनाउने समेत प्रतिबद्धता उल्लेख गरिएको छ ।
सम्झौताले पिछडिएको क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न एवं समान उद्देश्यका लागि उपलब्ध साधन श्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्न सहज हुने विश्वास दुवै प्रतिष्ठानका पदाधिकारीहरूले व्यक्त गर्नुभयो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
