नेभिगेशन

दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले कानुनी रूपमा दर्ता तथा सूचीकृत नभएका जडीबुटीयुक्त सुगन्धित तेलको उत्पादन, आयात तथा बिक्री–वितरण नगर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।

विभागका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यमबाट यस्ता तेलको प्रचार–प्रसार तथा बिक्री भइरहेको पाइएको छ। विशेषगरी स्वास्थ्यसम्बन्धी दाबी गर्दै अनधिकृत रूपमा विज्ञापन गर्ने क्रम बढेपछि विभागले यस्तो गतिविधिप्रति ध्यानाकर्षण गराउँदै सूचना जारी गरेको हो।

विभागले औषधि ऐन, २०३५ तथा ‘जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचीकृत सम्बन्धी न्यूनतम मापदण्ड, २०८१’ बमोजिम विभागमा सूचीकृत नभएका उत्पादन बिक्री–वितरण गर्न नपाइने स्पष्ट पारेको छ।

त्यस्तै, औषधि ऐन, २०३५ को दफा १९ र औषधि दर्ता नियमावली, २०३८ को नियम ७ अनुसार सम्बन्धित निकायबाट अनुमति नलिई औषधिसम्बन्धी विज्ञापन तथा प्रचार–प्रसार गर्नसमेत निषेध गरिएको विभागले जनाएको छ।

विभागले अनुमति नलिई भइरहेको विज्ञापन, प्रचार–प्रसार तथा बिक्री–वितरण तत्काल बन्द गर्न उत्पादक, आयातकर्ता तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ। नियमविपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

जनस्वास्थ्यको सुरक्षा र उत्पादनको प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्यले विभागले जडीबुटीयुक्त सुगन्धित तेलको खाने तथा बाह्य प्रयोगसम्बन्धी न्यूनतम मापदण्ड, २०८१ लागू गरेको जनाएको छ। उक्त मापदण्ड औषधि सल्लाहकार समितिको ४२औँ बैठकको परामर्शअनुसार जारी गरिएको हो।

विभागले यस्ता तेलका उत्पादक तथा आयातकर्तालाई आवश्यक कागजात र निर्धारित प्रक्रिया पूरा गरी उत्पादनहरू विभागमा दर्ता वा सूचीकृत हुनसमेत आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट