नेपाल हेल्थ न्युज, बागलुङ। धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलोपटक टन्सिलेक्टोमी (टन्सिल निकाल्ने) शल्यक्रिया सफलतापूर्वक गरिएको छ।
पर्वतको जलजला गाउँपालिका–३ की ३७ वर्षीया महिलामा पटक–पटक टन्सिलाइटिसको समस्या देखिएपछि आधुनिक बाइपोलार डाइथर्मी प्रविधिको प्रयोग गरी टन्सिलेक्टोमी गरिएको कन्सल्टेन्ट ईएनटी सर्जन डा. शरद तिवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार पटक–पटक टन्सिलाइटिस हुने, टन्सिल ठूलो भएर सास फेर्न वा खाना निल्न समस्या हुने, निद्राका क्रममा सास अवरुद्ध हुने, टन्सिलमा फोका वा पिप जम्ने (पेरिटन्सिलर एब्सेस) तथा टन्सिलमा शङ्कास्पद घाउ वा असामान्य वृद्धि देखिएका अवस्थामा टन्सिलेक्टोमी आवश्यक पर्न सक्छ।
शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आएको र सास फेर्न तथा खाना निल्न सहज भएको कन्सल्टेन्ट ईएनटी सर्जन डा. मनिष न्यौपानेले बताउनुभयो। उहाँका अनुसार टन्सिलमा पटक–पटक हुने संक्रमणका कारण उत्पन्न हुने समस्यामा कमी आउनुका साथै बिरामीको दैनिक जीवनयापनमा समेत सहजता हुनेछ।
अस्पतालमा पहिलोपटक गरिएको उक्त शल्यक्रियामा कन्सल्टेन्ट ईएनटी सर्जन डा. शरद तिवारी, डा. मनिष न्यौपाने, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. सन्दीप खत्री, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराई, एनेस्थेसिया सहायक मुन्ना कुमार यादव लगायत स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
धौलागिरि प्रादेशिक अस्पतालमा टन्सिलेक्टोमी सेवा सुरु भएपछि टन्सिलसम्बन्धी जटिल समस्या भएका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
छातीमा समस्या देखिएपछि गृहमन्त्री ट्रमा सेन्टरमा
मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध
मंगलबार, असोज ६, २०८३
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
