नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सापकोटाले सार्वजनिक सेवामा रहँदा आफ्नो पदको दुरुपयोग गरी आयको तुलनामा अस्वाभाविक रूपमा उच्च जीवनशैली अपनाएको र विभिन्न माध्यमबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको हो।
आयोगले सापकोटाको सेवा प्रवेश मिति २०५३ साल असार २५ देखि २०८० साल वैशाख ३० गतेसम्मलाई जाँच अवधि कायम गरी उनको तथा एकासगोल परिवारका सदस्यको आय–व्ययको विस्तृत अनुसन्धान गरेको जनाएको छ।
अनुसन्धानका क्रममा सापकोटा तथा उनको परिवारले तलब तथा पारिश्रमिक, विभिन्न भत्ता, सवारीसाधन बिक्री, घरबहाल, जग्गा बिक्री, ऋण तथा कर्जा, बैंक ब्याज, शेयर बिक्री, कृषि तथा अन्य आयलगायत विभिन्न स्रोतबाट कुल ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगको दाबी छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण तथा घरजग्गा खरिद, शेयर खरिद, सवारीसाधन खरिद, कर्जा भुक्तानी, बीमा प्रिमियम, अध्ययन तथा विदेश भ्रमण, सुन खरिद, विद्युतीय उपकरण खरिदलगायत शीर्षकमा कुल ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।
वैधानिक आम्दानी र खर्च तथा लगानीबीच २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको अन्तर देखिएको भन्दै आयोगले उक्त रकमको स्रोत पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ।
आयोगका अनुसार सापकोटाले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट काठमाडौंलगायत प्रमुख शहरमा महँगा घडेरी खरिद गरी घर निर्माण गरेको, महँगा सवारीसाधन खरिद गरेको तथा अस्वाभाविक जीवनस्तर कायम गरेको आरोप छ।
त्यस्तै, गैरकानुनी सम्पत्तिबाट खरिद गरिएका केही सम्पत्ति उनकी श्रीमती निरजा पण्डितको नाममा समेत रहेको आयोगको दाबी छ। आयोगले सापकोटाविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न प्रावधानअनुसार बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना गर्न मागदाबी गरेको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरिएको छ।
यसैगरी, वास्तविक सम्पत्तिको विवरण नखुलाई सम्पत्ति लुकाइछिपाई झुट्टा विवरण पेस गरेको आरोपमा समेत सापकोटाविरुद्ध छुट्टै कसुर कायम गरी सजाय माग गरिएको आयोगले जनाएको छ।
सापकोटाकी श्रीमती निरजा पण्डितलाई भने सापकोटाले गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट आफ्नो नाममा खरिद गरेका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगको भनाइ छ। मुद्दाको अन्तिम फैसला भने विशेष अदालतको न्यायिक प्रक्रियापछि हुने छ।
बाढीमा सर्वस्व गुमाएकी विष्णुकुमारीको केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
आइतबार, असोज ४, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
आइतबार, असोज ४, २०८३
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
