नेभिगेशन

हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।

अस्पतालको व्यवस्थापनलाई थप सुदृढ गर्दै सेवा विस्तार, संस्थागत विकास तथा व्यावसायिक योजनालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले डा. आचार्यलाई सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।

नवनियुक्त सीईओ डा. आचार्यले अस्पतालको समग्र व्यवस्थापन, सेवा विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थाको रणनीतिक योजनाको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने छ । साथै, आधुनिक प्रविधिको प्रयोगमार्फत बिरामीलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने तथा दन्त शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले लामो समयदेखि दन्त स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। अस्पतालले विभिन्न विशेषज्ञ दन्त उपचारसँगै डेन्टल इम्प्लान्ट, थ्रीडी सीबीसीटी एक्सरे, मिलिङ मेसिन, लेजर डेन्टिस्ट्री तथा अपरेशन थिएटरलगायत आधुनिक प्रविधि र सुविधामार्फत सेवा दिँदै आएको छ।

त्यस्तै, हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्समार्फत दन्त स्वास्थ्य शिक्षाको क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आएको संस्थाले विभिन्न प्राविधिक तथा व्यावसायिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा दन्त स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रलाई थप विस्तार गर्ने योजना संस्थाले अघि बढाएको छ।

यसैबीच, हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेड आईपीओ निष्काशनको प्रक्रियामा रहेको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

आईपीओ प्रक्रियासँगै डा. आचार्यको सीईओमा नियुक्तिलाई संस्थागत विकास, सेवा विस्तार तथा आगामी व्यावसायिक योजनालाई थप व्यवस्थित रूपमा अघि बढाउने कदमका रूपमा कम्पनीले लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट