नेभिगेशन

औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधी व्यवस्था विभागका तीन वरिष्ठ औषधी व्यवस्थापकको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै विभागमा कार्यरत वरिष्ठ औषधी व्यवस्थापक शिवानी खड्गीलाई मन्त्रालयमा सरुवा गरेको छ ।

खड्गी यसअघि औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको थियो  खड्गीको स्थानमा विभागको नेपालगञ्ज शाखा प्रमुख निनु श्रेष्ठलाई सरुवा गरी जिम्मेवारी दिइएको छ । यस्तै, नेपालगञ्ज शाखाको प्रमुखको जिम्मेवारी मन्त्रालयमा कार्यरत उशा तण्डुकारलाई दिइएको बताइएको छ ।

मन्त्रालयले यसअघि औषधी व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको थियो । त्यसपछि दोस्रो चरणमा दशौँ तहका तीन कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

पछिल्लो समय औषधी व्यवस्था विभागका गतिविधि तथा औषधी क्षेत्रसँग सम्बन्धित विषयहरू चर्चामा आउँदै आएका छन् । विशेषगरी औषधीको मूल्य, सहज उपलब्धता तथा औषधीसम्बन्धी नीतिगत व्यवस्थाका विषयमा समय–समयमा बहस हुने गरेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताले औषधी क्षेत्रमा सुधार गर्ने बताउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन र देखिने परिणामबारे भने प्रश्न उठ्दै आएको छ । नयाँ जिम्मेवारीसहित विभागमा आएको टोलीले औषधीको मूल्य, उपलब्धता र नियमनका क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने आगामी दिनमा स्पष्ट हुने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ