नेपाल हेल्थ न्युज, काठमाडौं। काठमाडौंको एक प्रतिष्ठित चिकित्सक परिवारमा जन्मिनुभएका वरिष्ठ ग्याँस्ट्रोइन्टेरोलोजिष्ट सर्जन प्रा.डा. सुनिल कुमार शर्मा ढकालको जीवनयात्रा केवल एउटा सफल सर्जनको कथा मात्र होइन, जिम्मेवारी, संघर्ष, समर्पण र सेवाभावले निर्माण गरेको प्रेरणादायी यात्राको कथा हो ।
नेपालमा आधुनिक शल्य चिकित्साको जग बसाल्ने अग्रणी व्यक्तित्व तथा ‘नेपालमा आधुनिक शल्यचिकित्साका पिता’ भनेर सम्मानित डा. अञ्जनी कुमार शर्माका कान्छा सुपुत्रका रूपमा जन्मिएका प्रा.डा. सुनिलको बाल्यकाल चिकित्सा क्षेत्रको वातावरणमै बित्यो। आमा अन्नपूर्णा शर्माको स्नेह र बुवाको अनुशासनबीच हुर्किनुभएका उहाँ तीन दाजुभाइ–दिदीबहिनीमध्ये सबैभन्दा कान्छा हुनुहुन्छ ।
प्रतिष्ठित परिवारको सदस्य भएकाले धेरैले ‘डा. अञ्जनीको छोरा’ वा ‘सिल्भर स्पुन’ भनेर चिन्थे। तर उहाँभन्नुहुन्छ—‘जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो पहिचान आफैंले निर्माण गर्नु हो।’ यही सोचले उहाँलाई आफ्नै मेहनत, संघर्ष र क्षमताको भरमा अघि बढ्न प्रेरित गर्यो।
शिक्षादेखि शल्य चिकित्सासम्मको यात्रा

उहाँको प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स गोदावरी र जावलाखेलमा भयो। त्यसपछि भारतको देहरादुन पुग्नुभयोजहाँ उच्च माध्यमिक शिक्षा पूरा गर्नुभयो । अध्ययनमा अब्बल उहाँले भारतीय छात्रवृत्ति प्राप्त गरी मद्रास विश्वविद्यालयबाट एमबीबीएस अध्ययन सम्पन्न गर्नुभयो । नेपाल फर्किएपछि दुई वर्ष शिक्षण अस्पतालमा काम गर्नुभयो ।
तर उहाँको लक्ष्य त्यतिमै सीमित थिएन। शल्य चिकित्सामा उच्च दक्षता हाँसिल गर्ने सपना बोकेर आफ्नै प्रयासमा बेलायत पुग्नुभयो । त्यहाँप्रोफेशनल एन्ड लिङ्विस्टिक असेस्मेन्ट्स बोर्ड (प्ल्याब) परीक्षा उत्तीर्ण गरी सात वर्षसम्म अध्ययन, अभ्यास र कठोर संघर्षका बीचफेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स (एफआरसिएस) लगायतका प्रतिष्ठित उपाधि हाँसिल गर्नुभयो ।
विदेशमा बसाइँका क्रममा विश्वस्तरीय स्वास्थ्य प्रणाली, आधुनिक शल्य चिकित्सा प्रविधि र अनुसन्धान संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो । त्यही समयमा बुवाले बारम्बार सम्झाउने एउटा वाक्य उहाँको मनमा गहिरो गरी बस्यो— ‘तिमीहरू जस्ता मानिस नेपाल फर्केनौ भने नेपालको शल्य चिकित्सा कसरी माथि जान्छ?’ यो केवल पारिवारिक आग्रह मात्र थिएन, एउटा पुस्ताले अर्को पुस्तालाई दिएको जिम्मेवारीको सन्देश थियो।
अवसरभन्दा माथि देशप्रतिको प्रतिबद्धता
बेलायत र अस्ट्रेलियामा आकर्षक अवसरहरू हुँदाहुँदै पनि नेपाल फर्किने निर्णय गर्नुभयो । उहाँका लागि विदेशमा व्यक्तिगत सफलता हाँसिल गर्नु मात्र पर्याप्त थिएन। आफ्नो ज्ञान, सीप र अनुभव नेपालका बिरामी र चिकित्सा प्रणालीको विकासमा लगाउन चाहनुहुन्थ्यो ।
नेपाल फर्किएपछि क्यान्सर उपचारको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता महसुस गर्नुभयो । त्यसपछि थप विशेषज्ञता हाँसिल गर्न दक्षिण कोरिया र सिङ्गापुर पुग्नुभयो । त्यहाँको अत्याधुनिक प्रशिक्षण र अनुभव लिएर पुनः नेपाल फर्किनुभयो र क्यान्सर तथा आधुनिक शल्य चिकित्साको क्षेत्रमा नयाँ आयाम थप्ने अभियानमा जुट्नुभयो ।
शिक्षक, नेतृत्वकर्ता र सर्जन
प्रा.डा. सुनिलको पेशागत यात्रा केवल शल्यक्रियासम्म सीमित छैन। नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, ओम अस्पताललगायत विभिन्न संस्थाहरूमा विभागीय प्रमुख, प्रिन्सिपल, शिक्षक र नेतृत्वकर्ताका रूपमा काम गर्नुभएको छ । काम गरेका हरेक संस्थामा विभागीय सुदृढीकरण, आधुनिक उपचार पद्धतिको विकास, नयाँ पुस्ताका चिकित्सकको प्रशिक्षण तथा प्रभावकारी टिम निर्माणलाई प्राथमिकता दिनुभयो ।
चिकित्सा सेवा केवल व्यक्तिगत दक्षताले नभई सक्षम टोली र व्यवस्थित प्रणालीले उत्कृष्ट बन्ने विश्वास उहाँ राख्नुहुन्छ । उहाँका सहकर्मीहरूका अनुसार, प्रा.डा. सुनिल शल्यकक्षमा जति दक्ष हुनुहुन्छ, शिक्षण र नेतृत्वमा पनि उत्तिकै प्रेरणादायी हुनुहुन्छ ।
मेडिसिटीमा आठ वर्षको नेतृत्व
विगत आठ वर्षदेखि नेपाल मेडिसिटी हस्पिटलको शल्य चिकित्सा विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । यस अवधिमा आधुनिक शल्य चिकित्सा सेवा विस्तार, विशेषज्ञ जनशक्ति विकास र गुणस्तरीय उपचार प्रणालीलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँको नेतृत्वमा विभागले आधुनिक प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली तथा बिरामी–केन्द्रित सेवामा विशेष ध्यान दिएको छ ।
विनम्रतामा आधारित जीवनदर्शन
लामो अनुभव, प्रतिष्ठा र उपलब्धिका बाबजुद प्रा.डा. सुिनलको जीवनदर्शन अत्यन्त सरल छ।भन्नुहुन्छ—‘कोही ठूलो हुँदैन, कोही सानो हुँदैन। हामी सबै मानिस हौँ। आज मैले केही राम्रो गरेको छु भने मभन्दा अझ राम्रो गर्ने धेरै मानिसहरू छन्।’ उहाँका लागि सफलता भनेको पद, प्रतिष्ठा वा पुरस्कार होइन; आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नु हो। यही सोचले आज पनि निरन्तर सिक्न, सिकाउन र सेवा गर्न प्रेरित गरिरहेको छ।
विरासतको सम्मान, आफ्नै पहिचानको निर्माण
डा. सुनिल आफूलाई दोस्रो पुस्ताको सर्जन भनेर चिनाउन गर्व गर्नुहुन्छ । तरस्पष्ट रूपमा भन्नुहुन्छ—‘त्यो केवल एउटा पारिवारिक पहिचान हो।
वास्तविक पहिचान भनेको आफ्नो कर्म, योगदान र समाजप्रतिको उत्तरदायित्व हो।’ नेपालको शल्य चिकित्सा क्षेत्रमा एक अग्रजले सुरु गरेको यात्रालाई नयाँ पुस्ताको दृष्टि, सीप र समर्पणले अगाडि बढाइरहेका डा. सुनिल आज केवल एक सफल सर्जन मात्र नभई सेवाभाव, विनम्रता र राष्ट्रप्रतिको प्रतिबद्धताको उदाहरण पनि हुनुहुन्छ । उहाँको जीवनकथा एउटा सन्देश हो—‘विरासतले ढोका खोल्नसक्छ तर इतिहास भने आफ्नै कर्मले लेख्नुपर्छ।’
