इन्डोस्कोपी, कोलोनोस्कोपी, इयुएस, इआरसिपी वा म्यानोमेट्री सबै बिरामीलाई आवश्यक पर्दैन । प्रत्येक परीक्षणको आफ्नै उद्देश्य हुन्छ । बिरामीमा सही समयमा सही परीक्षण गर्न सकियो भने धेरै रोग प्रारम्भिक अवस्थामै पत्ता लाग्छन्, अनावश्यक शल्यक्रिया टर्छ र उपचार पनि धेरै प्रभावकारी हुन्छ । त्यसैले लक्षणका आधारमा होइन, विशेषज्ञको सल्लाहअनुसार आवश्यक परीक्षण गर्नु नै सबैभन्दा उचित उपाय हो ।
‘पेट दुखेको छ’—अस्पताल पुग्ने अधिकांश बिरामीको सबैभन्दा धेरै गुनासोमध्ये यो एक हो । कतिपय अवस्थामा सामान्य ग्याँस, अपच वा संक्रमणका कारण पेट दुख्नसक्छ र औषधिले निको हुन्छ । तर केही अवस्थामा यही पेट दुखाइले जीवन नै जोखिममा पार्ने गम्भीर रोगको संकेत पनि गरिरहेको हुनसक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एक्युट एब्डोमिन (अचानक सुरु हुने तीव्र पेट दुखाइ) संसारभर आपतकालीन शल्यक्रियाको प्रमुख कारणमध्ये एक हो । समयमै सही निदान र उपचार हुन नसके संक्रमण, अंग फुट्ने, रक्तस्राव हुने वा सेप्सिस जस्ता ज्यानै जोखिममा पार्ने अवस्था सिर्जना गर्नसक्छ ।
नेपालमा पनि पेट दुखाइका कारण अस्पताल भर्ना हुने बिरामीमध्ये ठूलो हिस्सा एपेन्डिसाइटिस, पित्तथैलीको पत्थरी, पित्तथैलीको संक्रमण, आन्द्रा अवरुद्ध हुने समस्या र मिर्गौलाको पत्थरी जस्ता रोगका कारण आउने गरेको पाइन्छ । पेटको सबै दुखाइ औषधिले निको हुने हुँदैन । कतिपय अवस्थामा शल्यक्रिया नै सबैभन्दा प्रभावकारी र जीवनरक्षक उपचार हुनसक्छ । त्यसैले रोगको सही कारण पहिचान गर्नु पहिलो आवश्यकता हो ।
पेट दुखाइको कारण पहिल्याउन इमेजिङ
आधुनिक ग्याँस्ट्रोइन्टेरोलोजीमा शल्यक्रिया गर्ने निर्णय अनुमानका आधारमा नभई इमेजिङ परीक्षणको आधारमा गरिन्छ । अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआई तथा आवश्यक परेमा इन्डोस्कोपीजस्ता परीक्षणहरूले पेटभित्र के भइरहेको छ भन्ने स्पष्ट जानकारी दिन्छन् ।
विश्व ग्याँस्ट्रोइन्टेरोलोजी संगठन (डब्लुजिओ) का अनुसार तीव्र पेट दुखाइ भएका बिरामीमा प्रारम्भिक इमेजिङले शल्यक्रिया आवश्यक भएनभएको निर्णय गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ । यद्यपी पेट दुख्यो भनेर सिधै अप्रेसन गर्ने समय छैन । पहिले अल्ट्रासाउन्ड वा आवश्यक परेमा सिटीस्क्यान गरेर रोग के हो भन्ने पत्ता लगाइन्छ। त्यसपछि मात्रै शल्यक्रिया गर्ने निर्णय गरिन्छ ।
एपेन्डिसाइटिसः सानो अङ्ग, ठूलो जोखिम
एपेन्डिक्स ठूलो आन्द्राको सुरुवाती भागमा रहेको सानो नलीजस्तो अङ्ग हो । यसमा संक्रमण वा सूजन भएपछि एपेन्डिसाइटिस हुन्छ । यसका प्रमुख लक्षणमा
- दाहिने तल्लो पेट दुख्ने
- ज्वरो आउने
- वाकवाकी लाग्ने
- बान्ता हुने
- खाना खान मन नलाग्ने
‘कतिपय बिरामी एन्टिबायोटिकले पनि निको हुनसक्छन् । तर धेरैजसो अवस्थामा शल्यक्रिया गर्नु नै सबैभन्दा सुरक्षित विकल्प हुन्छ । ल्यान्सेटमा प्रकाशित अध्ययनअनुसार प्रारम्भिक अवस्थाका केही बिरामीमा एन्टिबायोटिक प्रभावकारी भए पनि लगभग ३०–४० प्रतिशत बिरामीमा केही वर्षभित्र पुनः एपेन्डिसाइटिस हुने सम्भावना रहन्छ ।
त्यसैले शल्यक्रियालाई दीर्घकालीन समाधानका रूपमा लिइन्छ । यदि एपेन्डिक्स फुटेमा पेटभरि संक्रमण फैलिन सक्छ जसलाई पेरिटोनाइटिस भनिन्छ । यस्तो अवस्थामा मृत्युको जोखिमसमेत बढ्नसक्छ ।
पित्तथैलीको पत्थरीः
दुखाइ मात्र होइन, संक्रमणको जोखिम

पित्तथैलीमा ढुंगा बन्नु (गलस्टोन डिजिज) संसारकै धेरैलाई गर्नुपर्ने शल्यक्रियाजन्य रोगमध्ये एक हो । डब्लुएचओका अनुसार विश्वभरका करोडौं मानिसमा पित्तथैलीको पत्थरी पाइन्छ । तर सबैलाई शल्यक्रिया आवश्यक पर्दैन । यदि पत्थरीका कारण बारम्बार पेट दुख्ने, खाना खाएपछि दुखाइ बढ्ने, ज्वरो आउने, पित्तथैली सुन्निनेजस्ता लक्षण देखिएमा शल्यक्रिया गर्न सिफारिस गरिन्छ । सिम्प्टोमेटिक गलब्लाडर स्टोनमा धेरै ढिला गर्नु हुँदैन । समयमै अप्रेसन गरे जटिलता कम हुन्छ ।
कोलेसिस्टाइटिसः
संक्रमणले ज्यानै जोखिममा पार्न सक्छ
पत्थरीले पित्तको नली थुनिएपछि पित्तथैली सुन्निन्छ । यसलाई एक्युट कोलेसिस्टाइटिस भनिन्छ । टोकियो गाइडलाइन्स २०१८ अनुसार यस्तो अवस्थामा प्रारम्भिक चरणमै ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी गर्नु सबैभन्दा प्रभावकारी उपचार मानिन्छ । ढिला गरेमा पित्तथैली फुट्ने, संक्रमण फैलिने र सेप्सिस हुनसक्छ ।
मिर्गौला वा युरेटरको ढुंगा
मिर्गौलामा बनेको ढुंगा युरेटरमा अड्किँदा असह्य दुखाइ हुन्छ । यदि ढुंगाका कारण दुखाइ नियन्त्रणमा नआएमा, संक्रमण भएमा वा पिसाब रोकिएमा शल्यक्रिया वा अन्य इन्टरभेन्सन उपचार आवश्यक हुन्छ । युरोपियन एसोसिएसन अफ युरोलोजी (ईएयू) का अनुसार ५ मिलिमिटरभन्दा साना धेरै ढुंगा आफैं निस्कन सक्छन् । तर ठूला ढुंगा वा अवरोध भएका बिरामीमा ढिला गर्नु खतरनाक हुन्छ ।
पेट दुखाइमा किन अल्ट्रासाउन्ड पहिलो रोजाइ ?
पेटको शल्यक्रियाजन्य रोग पहिचान गर्न सबैभन्दा पहिले गरिने परीक्षण अल्ट्रासाउन्ड हो । यसमा विकिरण नहुने, गर्भवतीमा पनि सुरक्षित, सस्तो र तुरुन्त उपलब्ध हुन्छ । यसबाट एपेन्डिसाइटिस, पित्तथैलीको पत्थरी, पित्तथैली सुन्निएको अवस्था, मिर्गौलाको पत्थरी र पेटभित्रको तरल पदार्थ सजिलै पहिचान गर्न सकिन्छ । यदि अल्ट्रासाउन्डले पहिचान नभएमा सिटी स्क्यान वा एमआरआई गरिन्छ ।
आजको शल्यक्रियः
ठूलो चिरा होइन, सानो प्वाल
पहिले पेटको अप्रेसन भन्नासाथ ठूलो चिरा लगाइन्थ्यो । आज अधिकांश बिरामीमा ल्याप्रोस्कोपिक सर्जरी गरिन्छ । यसबाट दुखाइ र, रक्तस्राव र संक्रमण कम हुने साथै छिटो घर र काममा फर्किन सकिन्छ । नेपालका धेरै अस्पतालमा अहिले यही प्रविधि नियमित रूपमा प्रयोग हुन थालेकाछन् । त्यसैले सही समयमा शल्यक्रिया गर्नु नै सुरक्षित हुन्छ । ढिला गर्दा सामान्य रोग पनि जटिल बन्नसक्छ । त्यसैले पेटको असामान्य दुखाइलाई सामान्य ठानेर घरमै बस्नु हुँदैन, विशेषज्ञको परामर्श लिएर आवश्यक जाँच गराउनु नै बुद्धिमानी हुन्छ ।
एच. पाइलोरीः
ग्याँष्ट्रिकको प्रमुख कारण कि पेटको क्यान्सरसम्म पुग्ने मौन संक्रमण?

सामान्य पेट पोल्ने, अमिलो डकार आउने, खाना खाएपछि पेट भारी हुने वा खाली पेटमा जलन हुनेबित्तिकै धेरैले ‘ग्यास्ट्रिक भयो’ भनेर आफैं औषधि खान थाल्छन् । तर यी लक्षणको पछाडि लुकेको एउटा महत्वपूर्ण कारण हेलिकोब्याक्टर पाइलोरी (एच.पाइलोरी) नामक जीवाणु पनि हुनसक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एच. पाइलोरीलाई पेटको क्यान्सरसँग सम्बन्धित प्रमुख जोखिम कारक मानेको छ भने इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले यसलाई ग्रुप—१ कार्सिजनोजेन अर्थात् मानिसमा क्यान्सर गराउन सक्ने प्रमाणित जीवाणुका रूपमा वर्गीकरण गरेको छ ।
यसको अर्थ सबै संक्रमित व्यक्तिलाई क्यान्सर हुन्छ भन्ने होइन तर दीर्घकालीन संक्रमणले केही व्यक्तिमा पेटको क्यान्सर हुने जोखिम उल्लेखनीय रूपमा बढाउनसक्छ । एच. पाइलोरी पेटको भित्री श्लेष्मिक तह (ग्याँष्ट्रिक म्युकोसा) मा बस्ने एउटा स्पाइरल (सर्पिल) आकारको जीवाणु हो ।
सामान्यतया पेटको अम्लीय वातावरणमा अधिकांश जीवाणु बाँच्न सक्दैनन् । तर एच. पाइलोरीले युरिएज नामक इन्जाइम उत्पादन गरेर आफ्नो वरिपरि अम्लको प्रभाव कम गर्छ र पेटको भित्री तहमा लामो समयसम्म बाँच्न सक्षम हुन्छ । ग्यास्ट्राइटिस गराउने प्रमुख कारणमध्ये एच. पाइलोरी संक्रमण पनि एक हो ।
यो एउटा ब्याक्टेरिया हो जसले पेटको भित्री तहमा सूजन (इन्फ्लामेसन) गराउँछ ।
एच. पाइलोरीको संक्रमण भएपछि कसैमा कुनै समस्या नदेखिन सक्छ भने कसैमा पेट पोल्ने, अमिलो डकार आउने, खाना खाएपछि पेट भारी हुने, वाकवाकी लाग्ने, पेट फुल्ने, खाली पेटमा बढी जलन हुनेजस्ता लक्षण देखिन सक्छन । एच. पाइलोरी भएका सबै बिरामीलाई क्यान्सर हुँदैन । तर केही प्रकारका जीवाणु बढी आक्रामक हुन्छन् ।
यदि संक्रमण धेरै वर्षसम्म रह्यो भने केही व्यक्तिमा क्यान्सरतर्फ प्रगति हुनसक्छ । नेपालमा एच. पाइलोरीको संक्रमण धेरै देखिए पनि यसको कारणले हुने पेटको क्यान्सर पश्चिमी मुलुकको तुलनामा त्यति धेरै देखिएको छैन । तर संक्रमणलाई बेवास्ता गर्नु हुँदैन । एच.पाइलोरी पुष्टि भएपछि एन्टिबायोटिक र पेटको अम्ल कम गर्ने औषधिको संयोजनले उपचार गरिन्छ । उपचार पूरा गर्नु अत्यन्त आवश्यक हुन्छ । पटक–पटक ग्याँस्ट्रिकको समस्या भइरहेमा अनुमानका भरमा औषधि खानेभन्दा कारण पत्ता लगाएर उपचार गर्नु नै सबैभन्दा सही उपाय हो ।
‘ग्याँस्ट्रिक’ कि ग्याँस्ट्राइटिस ?
नेपालीहरूलाई सबैभन्दा बढी हुने भ्रम
पेट पोल्यो, अमिलो डकार आयो भने ग्याँस्ट्रिक, खाना नपचे पनि ग्यास्ट्रिक, पेट फुल्यो भने पनि ग्यास्ट्रिकका धेरै मानिस औषधि पसलबाट आफूखुसी प्यान्टोप्राजोल, रेबिप्राजोल, एसोमेप्राजोल वा अन्य अम्ल कम गर्नेजस्ता औषधि किनेर खान्छन् । केही दिन आराम भएपछि फेरि औषधि छोड्छन्, समस्या दोहोरिन्छ, अनि फेरि त्यही औषधि सुरु हुन्छ । कतिपयमा वर्षौंसम्म यही चक्र दोहोरिने गरेको पाइन्छ ।
चिकित्सकीय भाषामा पेटको भित्री श्लेष्मिक तह (ग्याँस्ट्रिक म्युकोसा) मा हुने सुजनलाई ग्याँस्ट्राइटिस भनिन्छ । सामान्य अवस्थामा यही तहले पेटको शक्तिशाली अम्लबाट पेटलाई जोगाउने काम गर्छ । अमिलोपन, पेट पोल्ने, डकार आउने वा अपच हुने लक्षणलाई डिस्पेप्सिया भनिन्छ ।
यी दुई एउटै कुरा होइनन् । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ), विश्व ग्याँस्ट्रोइन्टेरोलोजी संगठन (डब्लुजिओ), अमेरिकन कलेज अफ ग्याँष्ट्रोइन्टेरोलोजी (एसिजी) तथा पछिल्ला द ल्यान्सेट ग्याँस्ट्रोइन्टेरोलोजी र हेपाटोलोजी÷नेचर रिभ्युज ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजीमा प्रकाशित अध्ययनहरूले पनि पटक–पटक दोहोरिने पेटको समस्या भएका व्यक्तिमा कारण पहिचान नगरी लामो समयसम्म अम्ल कम गर्ने औषधि खानु उपयुक्त नहुने उल्लेख गरेका छन् ।
हुन त कुनै कारणले यो सुरक्षा तह कमजोर वा सूजन भएमा पेट पोल्ने, दुख्ने, अमिलो डकार आउने, वाकवाकी लाग्ने, खाना खाएपछि भारी हुनेजस्ता समस्या सुरु हुन्छन् । यसको एउटा प्रमुख कारण एच. पाइलोरी संक्रमण हो । तर त्यो मात्रै कारण नहुनसक्छ । अधिकांश अवस्थामा हाम्रो जीवनशैली पनि उत्तिकै जिम्मेवार हुन्छ ।
धेरैजसो मानिसले पेनकिलर वा मुटुको औषधि लामो समय खाँदा पनि ग्याँस्ट्राइटिस हुनसक्छ भन्ने कुरा थाहा पाउँदैनन् । चिकित्सकको सल्लाहबिना अम्ल कम गर्ने औषधिले केही समयका लागि लक्षण दबाउन सक्छ । तर यदि वास्तविक कारण अर्कै हो भने रोग ढिलो पत्ता लाग्न सक्छ ।
त्यसैले पटक–पटक औषधि खानुभन्दा कारण पहिचान गर्नु आवश्यक हुन्छ।पेट पोल्यो भन्दैमा सबैलाई एउटै औषधि मिल्दैन। ग्याँस्ट्राइटिसको वास्तविक कारण पत्ता लगाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो । यदि जीवनशैली, खानपान वा एच. पाइलोरी संक्रमण जिम्मेवार भएमा त्यसैको उपचार गर्नुपर्छ । पटक–पटक औषधि खाएर लक्षण मात्र दबाउनु भन्दा सही निदान र कारणअनुसार उपचार गर्नु नै दीर्घकालीन समाधान हो ।
इन्फ्लामेटरी बाउल डिजिज (आइबिडी):
जीवनशैलीसँगै बढ्दै गएको आन्द्राको दीर्घकालीन रोग
लामो समयसम्म पखाला लाग्ने, दिसासँग रगत वा सेतो श्लेष्मा (म्युकस) आउने, पटक–पटक दिसा गर्नुपर्ने, पेट दुख्ने र तौल घट्दै जाने समस्या भएका धेरै बिरामीलाई संक्रमण, पाइल्स वा सामान्य पेटको समस्या ठानेर उपचार गरिन्थ्यो । तर पछिल्ला केही वर्षयता अर्को एउटा रोगको संख्या निरन्तर बढिरहेको छ त्यो हो इन्फ्लामेटरी बाउल डिजिज (आईबिडी) ।आईबिडी पाचन प्रणाली (ग्याँस्ट्रोइन्टेस्टाइनल ट्रयाक) मा हुने दीर्घकालीन सूजन (क्रोनिक इन्फ्लामेसन) हो ।
सामान्य अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले बाहिरी जीवाणु र भाइरससँग लड्छ । तर आईबिडीमा यही प्रतिरक्षा प्रणालीले आफ्नै आन्द्राको भित्री तहलाई आक्रमण गर्न थाल्छ जसका कारण निरन्तर सूजन, घाउ (अल्सर) र आन्द्रामा क्षति हुन्छ । इफ्लामेटरी बाउल डिजिज अहिले विकासोन्मुख देशहरूमा पनि बढिरहेको रोग छ । यसमा मुखदेखि लिएर पूरै पाचन नलीसम्म जुनसुकै भागमा सूजन हुनसक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आईबिडीलाई जीवनभर रहन सक्ने (क्रोनिक) , प्रतिरक्षा प्रणालीसँग सम्बन्धित आन्द्राको सूजनजन्य रोगका रूपमा व्याख्या गरेको छ। यो कुनै सामान्य संक्रमण होइन, न त केही दिन औषधि खाएर पूर्ण रूपमा निको हुने रोग हो। समयमै पहिचान र नियमित उपचार भएमा अधिकांश बिरामीले सामान्य जीवन बिताउन सक्छन् ।
तर बेवास्ता गरेमा आन्द्रामा गम्भीर क्षति, कुपोषण, शल्यक्रिया गर्नुपर्ने र केही अवस्थामा आन्द्राको क्यान्सरसम्मको जोखिम बढ्नसक्छ । द ल्यान्सेट, नेचर रिभ्युज ग्याँस्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी,युरोपियन क्रोन्स एन्ड कोलाइटिस अर्गनाइजेसन (एको) तथा मेरिकन ग्यास्ट्रोएन्टेरोलोजिकल एसोसिएसन (एजीए)का पछिल्ला अध्ययनहरूले पनि आईबिडी पश्चिमी देशहरूको रोग नरही एसिया र विकासोन्मुख मुलुकहरूमा तीव्र रूपमा बढिरहेको पुष्टि गरेका छन् ।
द ल्यान्सेट ग्याँस्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजीमा प्रकाशित अध्ययनले एसियाली देशहरूमा आईबिडी तीव्र रूपमा बढ्नुका सम्भावित कारणहरूमा पश्चिमी शैलीको खानपान, अत्यधिक प्रशोधित खाना, फास्टफुडको बढ्दो प्रयोग, कम फाइबरयुक्त आहार, प्रदूषण, शहरीकरण, जीवनशैलीमा परिवर्तन, आन्द्राभित्र बस्ने लाभदायक जीवाणु (गट माइक्रोबायोटा) मा असन्तुलन उल्लेख गरेको छ ।
वेस्टर्न डाइट र बदलिँदो जीवनशैलीका कारण इन्फ्लामेटरी बाउल डिजिज अहिले नेपालमा पनि बढ्दै गएको रोग हो । पटक–पटक दिसा लाग्ने, दिसासँग रगत वा श्लेष्मा आउने, तौल घट्ने र पेट दुख्ने समस्या लामो समयसम्म भइरहेमा त्यसलाई सामान्य संक्रमण वा पाइल्स ठानेर बस्नु हुँदैन। समयमै कोलोनोस्कोपी, बायोप्सी र सही उपचार गरेमा अधिकांश बिरामीले सामान्य जीवन बिताउन सक्छन् ।
पेटका रोग पहिचान गर्ने आधुनिक जाँच
इन्डोस्कोपीदेखि ईआरसिपीसम्म
केही वर्षअघिसम्म पेट दुख्ने, दिसाबाट रगत आउने, खाना निल्न गाह्रो हुने वा जन्डिस हुने बिरामीको रोग पहिचान गर्न चिकित्सकसँग सीमित विकल्प मात्र थिए । धेरै रोग शल्यक्रियापछि मात्र थाहा हुन्थ्यो । आजको अवस्था बदलिएको छ । आधुनिक ग्यास्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी र एड्भान्स इमेजिङ प्रविधिले पाचन प्रणालीका अधिकांश रोगहरू शल्यक्रियाबिनै पहिचान गर्न मात्र नभई धेरै अवस्थामा उपचारसमेत गर्न सम्भव बनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पाचन प्रणालीका रोगहरू विश्वभर मृत्यु र अपाङ्गताको प्रमुख कारणमध्ये पर्दछन्। समयमै सही परीक्षण गर्न सकेमा पेटको अल्सर, आन्द्राको सूजन, पित्तनलीको अवरोध, प्रारम्भिक क्यान्सर तथा क्यान्सरअघिका अवस्थाहरू पहिचान गरी उपचार गर्न सकिन्छ ।
विश्व ग्याँस्ट्रोइन्टेरोलोजी संगठन (डब्लुजिओ), अमेरिकन सोसाइटी फर ग्याँस्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी (एएसजिई), युरोपियन सोसाइटी अफ ग्याँस्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी (इएसजिई) तथा द ल्यान्सेट ग्याँस्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजीमा प्रकाशित अनुसन्धानहरूले इन्डोस्कोपीलाई आधुनिक ग्यास्ट्रोइन्टेरोलोजीको मेरुदण्ड मानेका छन् ।
आज अधिकांश पेटका रोग अनुमानका आधारमा नभई इन्डोस्कोपी र अन्य विशेष जाँचका आधारमा पहिचान गरिन्छ । सही जाँच सही समयमा गर्न सकेमा धेरै रोग प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिन्छ ।
इन्डोस्कोपीः
पेटभित्र प्रत्यक्ष हेर्ने ‘सुनौलो मापदण्ड’
इन्डोस्कोपी (अपर जिआई इन्डोस्कोपी) भनेको मुखबाट क्यामेरा भएको लचिलो नली प्रवेश गराएर खाने नली, पेट र सानो आन्द्राको सुरुआती भाग (ड्युडेनम) प्रत्यक्ष हेर्ने प्रविधि हो । आवश्यक परेमा यसैबाट बायोप्सी लिन, रगत बगिरहेको ठाउँ रोक्न, पोलिप हटाउन वा केही अवस्थामा उपचारसमेत गर्न सकिन्छ । निम्न अवस्थामा इन्डोस्कोपी गर्नुपर्छ—
- ग्याँस्ट्रिकको औषधि खाँदा पनि सुधार नआएमा
- लगातार पेट दुखिरहेमा
- मुखबाट रगत बान्ता भएमा
- दिसा कालो भएमा
- खाना निल्न गाह्रो भएमा
- तौल अचानक घटेमा
- पेटको अल्सर वा क्यान्सरको शंका भएमा
ग्याँस्ट्रिकको औषधिले काम नगरेको, पेट धेरै दुखेको वा मुखबाट रगत आएको अवस्थामा माथिल्लो पाचन नली हेर्न अपर जीआई इन्डोस्कोपी गर्नुपर्छ । अमेरिकन सोसाइटी फर ग्याँस्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी (एएसजिईका अनुसार यस्ता लक्षणलाई खतराको संकेतको रुपमा लिइन्छ ।
कोलोनोस्कोपीः
ठूलो आन्द्राको क्यान्सर रोक्न सक्ने परीक्षण
कोलोनोस्कोपीमा क्यामेरा भएको लचिलो नली मलद्वारबाट प्रवेश गराई ठूलो आन्द्रा (कोलन) र मलाशय (रेक्टम) प्रत्यक्ष हेरिन्छ । विश्वभर ठूलो आन्द्राको क्यान्सर रोकथामका लागि यो सबैभन्दा प्रभावकारी परीक्षण मानिन्छ ।
यो दिसाबाट रगत आएमा, लामो समय कब्जियत वा पखाला भइरहेमा, तौल घट्दै गएमा, इन्फ्लामेटरी बाउल डिजिजको शंका भएमा, आन्द्राको क्यान्सरको सम्भावना भएमा कोलोनोस्कोपी आवश्यक पर्छ । यस क्रममा आवश्यक परे बायोप्सी पनि लिन सकिन्छ ।
अमेरिका, बेलायत, जापानलगायत धेरै देशमा ५० वर्षपछि नियमित कोलोनोस्कोपी स्क्रिनिङ गर्ने गाइडलाइन लागू गरिएको छ किनकि धेरैजसो ठूलो आन्द्राको क्यान्सर पोलिप बाट सुरु हुन्छ । कोलोनोस्कोपीकै क्रममा ती पोलिप हटाइएमा भविष्यमा क्यान्सर हुने जोखिम उल्लेखनीय रूपमा घट्छ ।
हुन त कतिपय मानिसमा बिना लक्षण नै कोलोनोस्कोपी गर्दा क्यान्सरअघिका घाउ वा पोलिप भेटिन सक्छन् । त्यसैले विकसित देशमा नियमित स्क्रिनिङको अभ्यास छ । नेपालमा यस्तो राष्ट्रिय स्क्रिनिङ कार्यक्रम अझै व्यापक रूपमा लागू भइसकेको छैन ।
इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस):
क्यामेरा र अल्ट्रासाउन्डको अद्भुत संयोजन
सिटी स्क्यान वा एमआरआईले पेटभित्र गाँठो देखाउन सक्छ । तर त्यो गाँठो कस्तो हो ? क्यान्सर हो कि होइन ? बायोप्सी कसरी लिने ? जस्ता प्रश्नको उत्तर दिन विकसित गरिएको प्रविधि हो इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) । यसमा इन्डोस्कोपको टुप्पोमन सानो अल्ट्रासाउन्ड जडान गरिएको हुन्छ । यसले एउटै समयमा भित्री सतह प्रत्यक्ष हेर्छ । अल्ट्रासाउन्डबाट गहिरो भाग पनि देखाउँछ । आवश्यक परे सुईमार्फत बायोप्सी पनि लिन सकिन्छ ।
कुन अवस्थामा आवश्यक हुन्छ ?
- प्याङ्क्रियाजमा गाँठो
- पेटको भित्ताभित्रको ट्युमर
- पित्तनलीको रोग
- क्यान्सरको स्टेज निर्धारण
- छाती वा पेटको लिम्फ नोडको बायोप्सी
- सामान्य इन्डोस्कोपी वा सिटी स्क्यानले स्पष्ट नदेखिएको रोग
इन्डोस्कोपिक अल्ट्रासाउन्ड अहिलेको अत्याधुनिक इन्डोस्कोपिक प्रविधि हो । यसले गाँठो हेर्ने मात्र नभई त्यही ठाउँबाट सुरक्षित रूपमा बायोप्सी निकाल्न पनि मद्दत गर्छ । कठिन ठाउँका ट्युमरमा यसको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । युरोपियन सोसाइटी अफ ग्याँस्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी (इएसजिई)ले प्यांङ्क्रियाजको गाँठोको मूल्याङ्कनमा इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस)लाई गोल्ड स्टैन्डर्ड मानेको छ ।
ईआरसिपी निदान मात्र होइन, उपचार पनि
एन्डोस्कोपिक रेट्रोग्रेड कोलाञ्जियोप्यान्क्रियाटोग्राफी (ईआरसिपी) पित्तनली (वाइल डक्ट) र प्याङ्क्रियाटिक डक्टका रोगको उपचारमा प्रयोग हुने विशेष इन्डोस्कोपिक प्रविधि हो ।
पहिले यो मुख्य रूपमा रोग पत्ता लगाउन प्रयोग हुन्थ्यो । अहिले मैग्नेटिक रेजोनन्स कोल्यान्जियोप्यान्क्रियाटोग्राफी (एमआरसिपी) जस्ता इमेजिङ आएपछि इआरसिपी मुख्यतः उपचारात्मक (थेराप्युटिक) प्रक्रिया बनेको छ । ईआरसिपीले रोग पत्ता लगाउनुका साथै त्यही समयमा ढुङ्गा निकाल्ने, अवरोध खोल्ने वा स्टेन्ट राख्ने काम पनि गर्छ । यदि पित्तनली बन्द भएमा बिरामीमा जन्डिस, संक्रमण (कोलन्जाइटिस) र सेप्सिस हुनसक्छ । यस्तो अवस्थामा इआरसिपी जीवनरक्षक उपचार बन्न सक्छ ।
बेरियम स्टडीः
पुरानो तर अझै उपयोगी परीक्षण
सिटी र एमआरआईको विकाससँगै बेरियम स्टडीको प्रयोग घटेको भए पनि यसको महत्व अझै समाप्त भएको छैन । यसमा बिरामीलाई बेरियम सल्फेट नामक कन्ट्रास्ट पदार्थ खुवाइन्छ । त्यसपछि निश्चित समयको अन्तरालमा एक्स–रे गरेर हेर्ने गरिन्छ—
- खाना कहाँ अड्कियो ?
- नली कहाँ साँघुरियो ?
- कतै अवरोध छ कि ?
- खाना तल जान कति समय लाग्यो ?
बेरियम स्टडी पुरानो परीक्षण भए पनि खाना जाने बाटोमा अवरोध वा साँघुरोपन छ कि छैन भन्ने मूल्याङ्कनमा अझै उपयोगी छ ।
म्यानोमेट्रीः
दबाब नापेर रोग पहिचान
सबै रोग आँखाले देखिँदैन । कतिपय समस्या मांसपेशीको चाल र दबाब (प्रेसर) बिग्रिएका कारण हुन्छन् । त्यसका लागि गरिने परीक्षण हो म्यानोमेट्री । यसले खाने नली वा मलाशयको दबाब मापन गर्छ । इसोफेजियल म्यानोमेट्री अन्तर्गत खाना निल्न गाह्रो हुने, खाना अड्किने, छाती दुख्ने समस्यामा खाने नलीका मांसपेशीले सही रूपमा काम गरेनगरेको हेर्न गरिन्छ । यसबाट अकालेसिया, इसोफेजियल स्पाज्म जस्ता रोग पत्ता लाग्छन् ।
एनोरेक्टल म्यानोमेट्रीले लामो समय कब्जियत, दिसा नियन्त्रण गर्न समस्यामा मलाशय र स्फिङ्क्टर मांसपेशीको दबाब जाँचिन्छ । म्यानोमेट्रीले शरीरको कुनै भागमा दबाब असामान्य रूपमा बढेको छ कि छैन भन्ने देखाउँछ । त्यसका आधारमा औषधि, इन्डोस्कोपिक उपचार वा शल्यक्रिया आवश्यक भएनभएको निर्णय गर्न सजिलो हुन्छ । आज नेपालका धेरै शहरमा दक्ष ग्यास्ट्रोइन्टेरोलोजिष्टहरू उपलब्ध छन् । अधिकांश आधारभूत इन्डोस्कोपिक सेवा सहज रूपमा पाइन्छ र उन्नत प्रविधिहरू पनि विस्तार हुँदै गएका छन् ।
फाइब्रोस्क्यानः
जन्डिस देखिनुअघि नै कलेजोको क्षति पत्ता लगाउने आधुनिक प्रविधि
लिभर कति कडा भयो ? कति बोसो जम्यो ? सिरोसिसको जोखिम कति छ ?—अब बायोप्सी बिनै थाहा पाउन सकिने नेपालमा कलेजो (लिभर) सम्बन्धी रोगहरू तीव्र रूपमा बढिरहेका छन् । पहिले हेपाटाइटिस बी र सी प्रमुख चिन्ताको विषय मानिन्थ्यो भने अहिले अस्वस्थ जीवनशैली, मोटोपना, मधुमेह, अत्यधिक मदिरा सेवन र फ्याटी लिभरका कारण कलेजोमा हुने दीर्घकालीन क्षति उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
समस्या के छ भने कलेजो निकै ‘शान्त’ अङ्ग हो । यसले धेरै समयसम्म कुनै लक्षण नै नदेखाई आफ्नो काम गरिरहन्छ । जबसम्म जन्डिस, पेटमा पानी जम्ने, रगत बान्ता हुने वा कलेजो सिरोसिसमा पुग्ने अवस्था आउँछ, त्यतिबेलासम्म रोग धेरै अघि बढिसकेको हुनसक्छ । यही कारणले आज विश्वभर फाइब्रोस्क्यान (ट्रान्जियन्ट इलास्ट्रोग्राफी) लाई कलेजोको स्वास्थ्य मूल्याङ्कन गर्ने सुरक्षित, छिटो र प्रभावकारी प्रविधिका रूपमा अपनाइँदै आएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युरोपियन एसोसिएसन फर दा स्टडी अफ द लिभर (इएएसएल), अमेरिकन एसोसिएसन फर द स्टडी अफ लिभर डिजिज (एएएसएलडी) तथा विश्व ग्याँस्ट्रोइन्टेरोलोजी संगठन (डब्लुजिओ) ले दीर्घकालीन कलेजो रोग भएका बिरामीमा फाइब्रोस्क्यानलाई अत्यन्त उपयोगी ननइन्भेसिव परीक्षणका रूपमा स्वीकार गरेका छन् । कलेजो बिग्रियो भने सबैलाई सुरुमा जन्डिस नै हुन्छ भन्ने हुँदैन । कलेजो विस्तारै कडा हुँदै जान्छ ।
यदि त्यो कडापन समयमै थाहा पाउन सकियो भने सिरोसिस वा कलेजो फेल हुनुअघि नै उपचार सुरु गर्न सकिन्छ । स्वस्थ कलेजो नरम, लचिलो र राम्रोसँग काम गर्ने अङ्ग हो । तर कुनै कारणले कलेजोमा लामो समयसम्म चोट, सूजन (इन्फ्लामेसन) वा बोसो जमिरहँदा शरीरले त्यो भाग मर्मत गर्ने क्रममा फाइब्रोसिस अर्थात् दाग बनाउन थाल्छ । यसैलाई सामान्य भाषामा कलेजो कडा हुँदै गएको भनिन्छ । यदि यो प्रक्रिया धेरै वर्षसम्म निरन्तर चलिरहेमा अन्ततः सिरोसिस हुन्छ, जहाँ कलेजोको संरचना नै बिग्रन्छ र यसको काम गर्ने क्षमता घट्दै जान्छ ।
फाइब्रोस्क्यान एउटा आधुनिक (ट्रान्सियन्ट इलास्ट्रोग्राफी) प्रविधि हो जसले अल्ट्रासाउन्डजस्तै ध्वनि तरङ्ग (साउन्ड वेभ्स) प्रयोग गरेर कलेजोको स्टिफनेस अर्थात् कडापन मापन गर्छ । यसमा कुनै सुई घोच्नुपर्दैन । कुनै अपरेसन गर्नुपर्दैन । कुनै बेहोस बनाउनुपर्दैन । जाँच सामान्यतया ५–१० मिनेटमै पूरा हुन्छ ।
फाइब्रोस्क्यानले अल्ट्रासाउन्डजस्तै तरङ्ग कलेजोतर्फ पठाउँछ । ती तरङ्ग कलेजोबाट कति छिटो फर्किन्छन् भन्ने आधारमा कलेजो कति कडा भएको छ भन्ने मापन गरिन्छ ।
नेपालमा बढ्दो मोटोपना, मधुमेह र अस्वस्थ जीवनशैलीका कारण फ्याटी लिभर तीव्र रूपमा बढिरहेको छ । लिभरमा सामान्य बोसो वा बोसोसँगै कलेजोमा फाइब्रोसिस भएनभएको छुट्याउन फाइब्रोस्क्यान आवश्यक हुन्छ । दीर्घकालीन हेपाटाइटिस बी भएका बिरामीमा कलेजो कति बिग्रिसकेको छ भन्ने मूल्याङ्कन गर्न फाइब्रोस्क्यान उपयोगी हुन्छ । औषधिबाट हेपाटाइटिस सी निको भइसकेपछि पनि कलेजो कति सुधार भयो भन्ने अनुगमन गर्न प्रयोग गरिन्छ ।
वर्षौँसम्म अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा अल्कोहल सम्बन्धित लिभर डिजिजको मूल्याङ्कन गर्न फाइब्रोस्क्यान प्रभावकारी हुन्छ । मेटाबोलिक सिन्ड्रोम अर्थात मोटोपना,मधुमेह,उच्च रक्तचाप,उच्च कोलेस्ट्रोल भएका व्यक्तिमा फ्याटी लिभरको जोखिम धेरै हुने भएकाले चिकित्सकले आवश्यक ठानेमा फाइब्रोस्क्यान गर्न सल्लाह दिन सक्छन्।
फाइब्रोस्क्यान रोग पत्ता लगाउन मात्र नभई उपचार सफल भएनभएको हेर्न पनि उपयोगी छ । यदि धेरै मोटोपना भएको व्यक्तिले तौल घटायो, खानपिन सुधार गर्यो वा उपचार गर्यो भने केही समयपछि फेरि फाइब्रोस्क्यान गरेर कलेजोको कडापन कम भयो कि भएन भनेर मूल्याङ्कन गर्न सकिन्छ । यसले उपचार सही दिशामा भएनभएको स्पष्ट देखाउँछ ।
जोखिम भएका व्यक्तिमा नियमित परीक्षणसँगै आवश्यक अवस्थामा फाइब्रोस्क्यान गरेमा सिरोसिस, कलेजो फेल हुने अवस्था तथा कलेजोको क्यान्सरको जोखिम धेरै हदसम्म घटाउन सकिने विश्वास छ ।
फाइब्रोस्क्यान कुनै साधारण अल्ट्रासाउन्ड होइन । यसले कलेजो कति कडा भएको छ, कति बोसो जमेको छ र भविष्यमा सिरोसिस हुने जोखिम कति छ भन्ने महत्त्वपूर्ण जानकारी दिन्छ । विशेषगरी फ्याटी लिभर, हेपाटाइटिस बी, हेपाटाइटिस सी, मदिराजन्य कलेजो रोग वा मेटाबोलिक रोग भएका व्यक्तिमा यो परीक्षणले समयमै रोग पहिचान गर्न र उपचारको प्रभाव मूल्याङ्कन गर्न ठूलो भूमिका खेल्छ । कलेजोको रोग अन्तिम चरणमा पुग्नुअघि नै पहिचान गर्नु नै आजको आधुनिक हेपाटोलोजीको सबैभन्दा ठूलो सफलता हो ।
