नेभिगेशन

मुटु जोगाउने आठ सूत्र: डा. कुञ्जाङ शेर्पा

नेपाल हेल्थ न्युज, काठमाडौं । डा. कुञ्जाङ शेर्पाका अनुसार, मुटुरोग रोकथाममा स्वस्थ जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ । अमेरिकन हर्ट एसोसिएसनले लाइफ इसेन्सियल—८ अवधारणा अघि सारेको छ । यसमा जीवनशैलीसँग सम्बन्धित पाँच स्वस्थ्य व्यवहार र स्वास्थ्य सम्बन्धी तीन प्रमुख जोखिम कारकलाई नियन्त्रण गर्ने विषय समेटिएका छन् । 

१. स्वस्थ खानपानः थालबाटै सुरु हुन्छ मुटुको सुरक्षा
मुटु जोगाउने पहिलो कदम खानपानमा सुधार हो । डा. शेर्पाका अनुसार खानामा सागसब्जी, फलफूल र होल ग्रेन्स बढाउनुपर्छ । अत्यधिक नुन, चिनी तथा अस्वस्थ बोसो कम गर्नुपर्छ । विशेषगरी नियमित रूपमा धेरै तेलमा फ्राइ गरिएका खानेकुरा, अत्यधिक चिनी भएका पेय पदार्थ तथा स्याचुरेटेड र ट्रान्स फ्याट बढी भएका खाद्य पदार्थको सेवन कम गर्नु आवश्यक हुन्छ ।

२. शरीरलाई चलाइराख्नुहोस्
नियमित शारीरिक गतिविधि मुटुको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । वयस्कहरूले प्रतिदिन ३० मिनेटका दरले हप्ताको पाँच दिन कम्तीमा  १५० मिनेट मध्यम तीव्रताको एरोबिक गतिविधि—जस्तैः हिँड्ने, नाच्ने र बगैँचामा काम गर्नुपर्छ वा ७५ मिनेट उच्च तीव्रताको एरोबिक गतिविधि — जस्तै दौडने, पौडी खेल्ने र डोरी नाघ्ने अभ्यास गर्न सकिन्छ । बालबालिकाले प्रत्येक दिन ६० मिनेटका दरले शारीरिक गतिविधि वा व्यायाम गर्नुपर्छ । यसमा खेलकुद तथा योजनाबद्ध रूपमा गरिने शारीरिक गतिविधिहरू पर्छन् । हिँड्ने, जोगिङ गर्ने, साइकल चलाउने, पौडी खेल्नेजस्ता गतिविधि आफ्नो स्वास्थ्य र क्षमताअनुसार गर्न सकिन्छ । मांसपेशीको शक्ति कायम राख्न रेजिस्टेन्स एक्सरसाइज पनि हप्तामा कम्तीमा दुई दिन गर्न सकिन्छ ।

३. धुम्रपानलाई ‘नो’ भन्नुहोस्
हृदयघातका बिरामीमा धुम्रपान महत्वपूर्ण जोखिम कारकका रूपमा देखिएको छ । त्यसैले धुम्रपान गर्नेले छोड्ने र नगरेकाले सुरु नगरेकै राम्रो हुन्छ । सिगरेट मात्र नभई अन्य सुर्तीजन्य पदार्थबाट पनि टाढा रहनुपर्छ । प्रत्यक्ष धुम्रपानसँगै सेकेन्ड–ह्यान्ड स्मोक अर्थात् अरूले गरेको धुम्रपानको धुवाँबाट पनि बच्न आवश्यक हुन्छ ।
 

४. तौल नियन्त्रणमा राख्नुहोस्
अधिक तौल र मोटोपनले मुटुसहित विभिन्न गैरसङ्क्रामक रोगको जोखिम बढाउन सक्छ । त्यसैले आफ्नो उचाइ अनुसार तौल नियन्त्रण गर्न जरुरी हुन्छ । तौलअनुसार स्वस्थ दायरामा रहने, नियमित शारीरिक गतिविधि गर्ने र सन्तुलित खानपान अपनाउनु मुटुको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।

५. निद्रालाई पनि उपचारकै एउटा हिस्सा मान्नुहोस्
नियमित र गुणस्तरीय निद्रा स्वस्थ जीवनशैलीको महत्वपूर्ण हिस्सा हो । डा. शेर्पाका अनुसार वयस्कले सामान्यतया ७–९ घण्टा पर्याप्त निद्रा लिनु उचित हुन्छ । बढ्ने उमेर भएकाले बच्चाहरुलाई अलि बढी निद्रा आवश्यक पर्छ । 

६. आफ्नो कोलेस्ट्रोल थाहा पाउनुहोस्
कोलेस्ट्रोल बढेको थाहा नहुनसक्छ । डा. शेर्पाले गरेको अध्ययनमा अस्पताल भर्ना हुनुअघि आफूलाई कोलेस्ट्रोल उच्च रहेको जानकारी भएका मानिसको संख्या निकै कम भए पनि परीक्षण गर्दा धेरै बिरामीमा कोलेस्ट्रोल बढेको देखिएको थियो । त्यसैले आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गरेर आफ्नो कोलेस्ट्रोलको अवस्था थाहा पाउने र चिकित्सकीय सल्लाहअनुसार नियन्त्रण गर्नु महत्वपूर्ण हुन्छ ।

७. रक्तचाप नियन्त्रण गर्नुहोस्
उच्च रक्तचापलाई ‘नबोल्ने रोग’ पनि भनिन्छ किनभने धेरै मानिसमा स्पष्ट लक्षण देखिदैन । त्यसैले नियमित रक्तचाप जाँच गर्ने, उच्च रक्तचाप भएमा चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने र औषधि आवश्यक भएकाहरुले नियमित सेवन गर्ने बानी बसाल्नुपर्छ ।

८. मधुमेह तथा रगतमा चिनीको मात्रा नियन्त्रण
मधुमेह मुटुरोगको महत्वपूर्ण जोखिम कारक हो । त्यसैले रगतमा चिनीको मात्रा बढनबढेको बारे आवश्यकताअनुसार परीक्षण गर्ने र मधुमेह भएमा खानपान, शारीरिक गतिविधि, तौल तथा चिकित्सकीय उपचारमार्फत नियन्त्रणमा राख्न आवश्यक हुन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्