नेभिगेशन

दुर्गम स्वास्थ्य सेवादेखि राष्ट्रिय एड्स नियन्त्रणको नेतृत्वसम्म

दुर्गम हिमाली जिल्लादेखि तराई, पहाड हुँदै संघीय तहका स्वास्थ्य संस्थामा काम गरेको अनुभवी । अहिले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशक । सरकारी सेवामा करिब दुई दशक बिताइसक्नुभयो ।  बाँकेको नेपालगञ्जमा जन्मिनुभएका उहाँ बुबा–आमा सरकारी सेवामा रहेकाले पारिवारिक बाल्यकाल र शिक्षाको महत्वपूर्ण समय नेपालगन्जमा नै बित्यो । एसएलसी नेपालगन्जबाट पूरा गरेपछि तत्कालीन दीपेन्द्र प्रहरी स्कुल साँगाबाट प्लस टु अध्ययन गर्नुभयो ।  नेपालगन्ज मेडिकल कलेजबाट बि.सं २०६१ सालमा एमबीबीएस पूरा गर्नुभयो । बि.सं. २०६३ सालमा लोकसेवा आयोगमार्फत् सरकारी सेवामा प्रवेश गर्नुभयो । 

सरकारी सेवाको सुरुवाती चरणमा दुर्गम क्षेत्रमा चिकित्सकीय सेवा गर्ने अवसर पाउनुभयो । मेहेलकुनाको प्राथमिक स्वास्थ्य केन्द्रमा केही समय काम गरेपछि उहाँलाई हिमाली जिल्ला हुम्लामा खटाइयो । त्यहाँ करिब दुई वर्ष सेवा गर्नुभयो । हुम्लाको दुर्गम क्षेत्रमा काम गर्दा प्राप्त अनुभवले उहाँको चिकित्सकीय यात्रामा महत्वपूर्ण भूमिका खेल्यो ।

त्यसपछि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), शिक्षण अस्पतालबाट जनरल प्राक्टिसमा एमडी पूरा गर्नुभयो । जनरल प्राक्टिसलाई अहिलेको सन्दर्भमा फेमिली मेडिसिनसँग जोडेर हेरिन्छ । मैदानमा प्रत्यक्ष बिरामीको उपचारदेखि स्वास्थ्य प्रशासनसम्मको अनुभव बटुलेका डा. शर्माले स्वास्थ्य प्रणालीका विभिन्न तहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

स्वास्थ्य सेवाको ११ औँ तहमा पुगेपछि उहाँले स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारीसमेत सम्हाल्नुभयो । त्यहाँ करिब डेढ वर्ष काम गरेपछि वीर अस्पतालमा गएर सेवा गर्नुभयो । त्यसपछि उहाँको जिम्मेवारी राष्ट्रियस्तरको एचआईभी तथा यौनरोग नियन्त्रण कार्यक्रमतर्फ मोडियो ।

हाल उहाँ राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ ।

एचआईभी नियन्त्रणमा नीति, रोकथाम र उपचारको नेतृत्व
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको नेतृत्वमा रहेर डा. शर्माले एचआईभी तथा यौनरोगको रोकथाम, परीक्षण, उपचार र नीतिगत व्यवस्थापनसँग सम्बन्धित कामको नेतृत्व गरिरहनुभएको छ ।  

केन्द्रको प्रमुख जिम्मेवारीमध्ये एचआईभी तथा एड्स र यौनरोग नियन्त्रणसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण, स्वास्थ्य मन्त्रालयसँगको समन्वय, रोकथाम तथा उपचारका कार्यक्रम सञ्चालन, स्वास्थ्यकर्मीको क्षमता विकास र तालिमलगायतका विषय पर्दछन् । उहाँको नेतृत्वमा केन्द्रले एचआईभी संक्रमण रोकथामसँगै संक्रमितलाई उपचारको दायरामा ल्याउने, उपचारको निरन्तरता सुनिश्चित गर्ने र समुदायमा आधारित कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा काम गरिरहेको छ ।

‘एचआईभीको चुनौती घटेको छ, तर समाप्त भएको छैन’
नेपालमा एचआईभीको अवस्था विगतको तुलनामा उल्लेख्य रूपमा सुधार भएको डा. शर्मा बताउनुहुन्छ । करिब तीन दशकदेखि सञ्चालन हुँदै आएका रोकथाम तथा उपचारका कार्यक्रमले एचआईभीसम्बन्धी जोखिम र संक्रमणलाई नियन्त्रणमा ल्याउन महत्वपूर्ण योगदान गरेको उहाँको बुझाइ छ । तर एचआईभीको चुनौती पूर्ण रूपमा समाप्त नभएकाले रोकथामका कार्यक्रमलाई लामो समयसम्म निरन्तरता दिनुपर्ने उहाँको धारणा छ ।

अबको चुनौति संक्रमण नियन्त्रणमा मात्र सीमित नभई संक्रमित व्यक्तिलाई नियमित उपचारमा जोडिराख्ने, उनीहरूको जीवन प्रत्याशा बढाउने, उपचारपछि पुनःस्थापना गर्ने तथा सामाजिक विभेद र आत्मविभेद घटाउने विषय पनि उत्तिकै महत्वपूर्ण छन् । 

२०३० सम्म एचआईभी अन्त्य गर्ने लक्ष्य
अहिले नेपालमा करिब ३४–३५ हजार एचआईभी संक्रमित रहेको अनुमान छ । यो प्रत्यक्ष गणना नभई विभिन्न तथ्यांकका आधारमा गणितीय विधिबाट गरिएको अनुमान हो । तीमध्ये करिब २८ हजार व्यक्ति एचआईभीविरुद्धको औषधि (एआरटी) सेवन गरिरहेका छन् ।

नेपालले सन् २०३० सम्म एचआईभी एड्सलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ । तर यो लक्ष्य हाँसिल गर्न उपचारसँगै रोकथाम, परीक्षण, समुदायको सहभागिता र सामाजिक विभेद न्यूनीकरणलाई निरन्तरता दिनुपर्ने अवस्था छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर