नेपालको स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझ्ने अवसर सबै चिकित्सकले पाउँदैनन् । अझ एउटै व्यक्तिले गाउँको प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालय, बाल अस्पतालको क्लिनिकल अभ्यासदेखि अस्पताल नेतृत्व, महामारीको अग्रपंक्तिमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) देखि स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखासम्म काम गरेको अनुभव दुर्लभ मानिन्छ ।
यही फराकिलो अनुभव बोकेका वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल अहिले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । स्वास्थ्य सेवा विभागको आधिकारिक विवरणमा पनि उहाँलाई निमित्त महानिर्देशकका रूपमा उल्लेख गरिएको छ ।
तर डा. पौडेलको करियरलाई हेर्दा यो जिम्मेवारीसँग जोडिएको अनुभवको दायरा निकै फराकिलो देखिन्छ—बालरोग विशेषज्ञ, जिल्ला तहको स्वास्थ्य प्रशासक, अस्पताल निर्देशक, रोग नियन्त्रण विज्ञ, मन्त्रालयका नीति योजनाकार र स्वास्थ्य प्रणाली सुधारका योजनाकार हुँदै उहाँ अहिले स्वास्थ्य सेवा विभागको नेतृत्वमा पुग्नुभएको छ ।
उहाँ आफैँ पनि आफ्नो यात्रालाई व्यक्तिगत महत्वाकांक्षाभन्दा सार्वजनिक स्वास्थ्य प्रणाली बुझ्ने र त्यसमा काम गर्ने अवसरका रूपमा व्याख्या गर्नुहुन्छ । ‘म एक्लैले सक्दिनँ, हामी सबैको सहयोग चाहिन्छ । जनशक्ति चाहियो, बजेट चाहियो, म्यान, म्याटेरियल र मनी चाहिन्छ ।’ यही सोच उहाँको अहिलेको नेतृत्व दर्शनको आधार देखिन्छ ।
‘धेरै पैसा होइन, देशको स्वास्थ्य प्रणाली बुझ्नुपर्छ’
डा. पौडेलले नेपाल सरकारको सेवामा प्रवेश गर्दाको प्रसंग निकै रोचक छ । उहाँ २०६१ सालमा नेपाल सरकारको सेवामा प्रवेश गर्नुभएको हो । त्यसअघि उहाँ मणिपाल मेडिकल कलेजमा अध्ययनसँगै बालरोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यतिबेला निजी संस्थामा उहाँले सरकारी सेवाको भन्दा दोब्बरजति तलब पाउनुहुन्थ्यो ।
मणिपालमा करिब १६ हजार रुपैयाँ तलब पाउने उहाँलाई नेपाल सरकारको तलब त्यतिबेला करिब ८ हजार रुपैयाँ थियो । तर उहाँले सरकारी सेवा रोज्नुभयो । लोकसेवा आयोगको अन्तर्वार्तामा पनि उहाँलाई यही प्रश्न गरिएको थियो—निजी क्षेत्रमा राम्रो तलब, घरनजिकै काम र भविष्यमा त्यहीँबाट विशेषज्ञता अध्ययन गर्ने सम्भावना हुँदाहुँदै सरकारी सेवामा किन आउनुभयो ? उहाँको उत्तर स्पष्ट थियो—‘नेपालको स्वास्थ्य प्रणाली बुझ्न ।’ ‘म त्यहीँ मात्रै अड्किन्छु कि जस्तो लाग्यो । देशको स्वास्थ्य प्रणाली बुझेर काम गर्न सक्दिनँ कि भनेर आएँ’—उहाँ आफ्नो निर्णय सम्झँदै भन्नुहुन्छ । त्यही निर्णयले उहाँको करियरको बाटो नै बदलिदियो ।
तनहुँको प्राथमिक स्वास्थ्य केन्द्रदेखि सार्वजनिक स्वास्थ्यको पाठ
सरकारी सेवामा प्रवेश गरेपछि उहाँ तनहुँको प्राथमिक स्वास्थ्य केन्द्रमा इन्चार्ज भएर पुग्नुभयो । त्यहाँको अनुभव उहाँका लागि चिकित्सकीय अभ्यास मात्र नभई जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र विभिन्न जनस्वास्थ्य कार्यक्रमसँग प्रत्यक्ष जोडिने अवसर पनि बन्यो । खोप, परिवार नियोजनलगायतका कार्यक्रम कार्यान्वयनदेखि ग्रामीण समुदायसम्म स्वास्थ्य सेवा पु¥याउने चुनौतीलाई उहाँले त्यही समय नजिकबाट देख्नुभयो ।
परिवार नियोजन कार्यक्रमकै सिलसिलामा उहाँ म्याग्दी जिल्लाका गाउँ–गाउँसम्म पुग्नुभएको थियो । त्यस समयको अनुभवले उहाँलाई एउटा महत्वपूर्ण कुरा सिकायो—‘स्वास्थ्य सेवा अस्पतालको भवनभित्र मात्र हुँदैन ।’ स्वास्थ्य सेवा समुदायमा पुग्नुपर्छ, कार्यक्रम प्रभावकारी हुनुपर्छ र स्वास्थ्य प्रणालीको हरेक तहबीच समन्वय हुनुपर्छ । तनहुँमा करिब दुई वर्ष काम गरेपछि उहाँ बालरोगमा एमडी अध्ययनतर्फ लाग्नुभयो ।
बालरोग विशेषज्ञ, तर दृष्टि अस्पतालभन्दा फराकिलो
डा. पौडेलको मूल विशेषज्ञता बालरोग हो । एमडी सकेपछि उहाँ पुनः सरकारी सेवामा सक्रिय भए। कान्ति बाल अस्पतालमा काम गर्ने क्रममा उहाँ चिकित्सकीय सेवासँगै प्राज्ञिक क्षेत्रमा पनि सक्रिय भए र बालरोग विषयमा एसोसिएट प्रोफेसरसम्मको जिम्मेवारी सम्हाल्नुभयो । तर उहाँको करियर क्लिनिकल क्षेत्रमा सीमित भएन । २०७० सालमा उहाँ नवौँ तहमा नियुक्त हुनुभयो ।
त्यसको केही समयमै लोकसेवा प्रक्रियामार्फत ११ औँ तहमा पुग्नुभयो । त्यतिबेला उहाँ ३५ वर्षको मात्र हुनुहुन्थ्यो र ११ औँ तहमा पुग्दा वरिपरिका धेरैजसो वरिष्ठ चिकित्सकभन्दा आफू पदक्रममा अगाडि देखिनुभएको सम्झनुहुन्छ ।
त्यो अवस्था आफैँमा सहज थिएन । ‘म भन्दा वरिष्ठ सरहरू नै मेरा शिक्षक हुनुहुन्थ्यो । उहाँहरूसँगै लोकसेवा दिन गएको थिएँ, तर मेरो नाम निस्कियो । म ११औँ तहमा पुगेँ । त्यो अवस्था अलि असहज पनि थियो’— उहाँ सुनाउनुहुन्छ । तर यही घटनाले उहाँलाई स्वास्थ्य सेवाको प्रशासनिक यात्रामा थप अगाडि बढायो ।
बालस्वास्थ्यदेखि नीति निर्माणसम्म
२०७२ सालतिर स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य महाशाखाको नेतृत्व गर्ने अवसर उहाँले पाउनुभयो । त्यतिबेला उहाँ मूलतः क्लिनिकल चिकित्सक हुनुहुन्थ्यो । विभागमा भने सार्वजनिक स्वास्थ्य पृष्ठभूमिका विज्ञहरूसँग काम गर्नुपथ्र्यो । यही अनुभवले उहाँभित्र सार्वजनिक स्वास्थ्यप्रतिको रुचि अझ बढायो ।
बालस्वास्थ्य महाशाखामा काम गर्दा उहाँले स्वास्थ्य कार्यक्रमलाई बिरामीको उपचारको दृष्टिले नभई नीति, कार्यक्रम, जनशक्ति, बजेट र प्रणालीको दृष्टिले हेर्न थाल्नुभयो । त्यसै क्रममा उहाँले पब्लिक हेल्थमा औपचारिक अध्ययन गर्ने निर्णय गर्नुभयो । अष्ट्रेलिया अवार्डस् स्कलरसिप अन्तर्गत अस्ट्रेलियामा मास्टर्स अफ पब्लिक हेल्थ (एमपिएच) अध्ययन गर्नुभयो ।
मेलबर्नमा अध्ययन सकेर नेपाल फर्किनुभयो । विदेशमै बस्ने अवसर भए पनि नेपाल फर्कने निर्णय गर्नुभयो । उहाँको करियरको यो मोड महत्वपूर्ण थियो । बालरोग विशेषज्ञको क्लिनिकल ज्ञानमा पब्लिक हेल्थको ज्ञान थपियो । यसले उहाँलाई स्वास्थ्य नीति, महामारी व्यवस्थापन र स्वास्थ्य प्रणालीको नेतृत्व गर्ने आधार तयार ग¥यो ।
कान्ति अस्पतालको नेतृत्व र कोभिडको चुनौती
नेपालको ठूलो बाल अस्पतालमध्ये एक कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी सम्हाल्ने अवसर पनि डा. पौडेलले पाउनुभयो । कान्तिको नेतृत्व गरिरहेकै समयमा विश्वभर कोरोना महामारी फैलियो । नेपालमा पनि कोभिड–१९ को चुनौती बढ्दै गयो । त्यसपछि उहाँलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मा ल्याइयो ।
कान्ति अस्पतालको निर्देशकबाट रोग नियन्त्रणको राष्ट्रिय संयन्त्रमा पुग्नु सामान्य स्थानान्तरण थिएन । एउटा अस्पताल व्यवस्थापन गरिरहेका चिकित्सकलाई देशको संक्रामक रोग नियन्त्रण, महामारी तयारी, निगरानी र प्रतिकार्यसँग जोडिएको जिम्मेवारी दिइएको थियो । कोभिडको समयमा ईडीसीडीको नेतृत्व सम्हाल्दा उहाँले महामारी व्यवस्थापनको अर्को पक्ष प्रत्यक्ष अनुभव गर्नुभयो ।
रोग नियन्त्रण, निगरानी, जोखिम सञ्चार, स्वास्थ्य संस्थाको तयारी र अन्तरनिकाय समन्वयजस्ता विषय उहाँको जिम्मेवारीको हिस्सा बने । यसरी डा. पौडेलको अनुभवमा क्लिनिकल मेडिसिनसँगै पब्लिक हेल्थ र महामारी व्यवस्थापन जोडिँदै गयो ।
चार वर्ष नीति–योजनामाः ‘सिस्टम कसरी चल्छ’ भन्ने अनुभव
ईडीसीडीपछि उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा पुग्नुभयो । त्यहाँ उहाँले करिब चार वर्ष काम गर्नुभयो । स्वास्थ्य मन्त्रालयको नीति निर्माणको केन्द्रमा रहेर काम गर्दा उहाँले स्वास्थ्य क्षेत्रको समग्र प्रणालीलाई अर्को कोणबाट बुझ्ने अवसर पाउनुभयो ।
त्यस अवधिमा स्वास्थ्य क्षेत्र रणनीतिक योजना र स्वास्थ्य वित्त रणनीति निर्माण तथा अगाडि बढाउने काममा उहाँको महत्वपूर्ण भूमिका रह्यो । स्वास्थ्य क्षेत्रको रणनीतिक योजनाले देशको स्वास्थ्य प्रणालीलाई दीर्घकालीन लक्ष्यसँग जोड्ने प्रयास गर्छ भने स्वास्थ्य वित्त रणनीतिले स्वास्थ्य क्षेत्रमा दिगो लगानी कसरी बढाउने भन्ने विषयलाई सम्बोधन गर्छ । ‘स्वास्थ्य क्षेत्रको रणनीतिक योजना र स्वास्थ्य वित्त रणनीति बनाउने काम लिड गर्न सकियो । यी दुईवटा सम्झनालायक काम हुन्’—उहाँ भन्नुहुन्छ ।
‘जिम्मेवारी मागेर होइन, परिस्थितिले दिएको’
बालस्वास्थ्य महाशाखा, कान्ति बाल अस्पतालको निर्देशक, ईडीसीडी, नीति–योजना महाशाखा, बीमा र राजविराजको संघीय अस्पताल हुँदै अहिले स्वास्थ्य सेवा विभागको नेतृत्वसम्म आइपुग्दा उहाँको भनाइ एउटै छ—‘परिस्थितिले जिम्मेवारी दिएको हो, मैले स्वीकार गर्दै गएको हुँ ।’ एक ठाउँमा लामो समय बसेर काम गर्ने, त्यसपछि अर्को जिम्मेवारीमा जाँदा अघिल्लो अनुभवलाई नयाँ क्षेत्रमा प्रयोग गर्ने उहाँको शैली देखिन्छ ।
स्वास्थ्य सेवा विभागः ‘ब्रोड स्पेक्ट्रम’ को नेतृत्व
स्वास्थ्य सेवा विभागको काम अत्यन्त फराकिलो छ । डा. पौडेलको शब्दमा विभागले नेपालको स्वास्थ्य प्रणालीको प्रवद्र्धनात्मक, प्रतिरोधात्मक, उपचारात्मक, प्रशामक तथा पुनःस्थापनात्मक सेवासँग जोडिएका विषयमा काम गर्छ । खोप तथा परिवार नियोजनदेखि स्वास्थ्य प्रवद्र्धन, संक्रामक रोग नियन्त्रण, उपचारात्मक सेवा, पुनःस्थापना र प्यालिएटिभ केयरसम्म विभागको कार्यक्षेत्र फैलिएको छ ।
त्यसमा पालिका तहका अस्पतालदेखि विशिष्टीकृत सेवासम्मका विषय जोडिन्छन् । अंग प्रत्यारोपण समन्वयदेखि स्वास्थ्य संस्थामा उपकरण व्यवस्थापन, निजी अस्पतालको सेवा सञ्चालन अनुमति, संक्रामक रोगको निगरानी, जनशक्ति व्यवस्थापन, उपचारका प्रोटोकल र स्वास्थ्य सेवा प्रवाहसम्म विभागको जिम्मेवारी फैलिएको छ । त्यसैले उहाँका लागि महानिर्देशकको जिम्मेवारी प्रशासनिक नेतृत्व नभई स्वास्थ्य प्रणालीका धेरै पाटालाई एउटै दिशामा अघि बढाउने समन्वयकारी भूमिका हो ।
पहिलो प्राथमिकताः ‘वार्षिक कार्ययोजना’ समयमै कार्यान्वयन
नयाँ जिम्मेवारी सम्हालेपछि डा. पौडेलले तत्कालका लागि सबैभन्दा महत्वपूर्ण कामका रूपमा मौजुदा वार्षिक कार्ययोजना तथा बजेट समयमै कार्यान्वयनलाई अघि सार्नुभएको छ । उहाँले विभागअन्तर्गतका महाशाखा तथा केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरिसक्नुभएको छ । विभागले पनि यस्तो कार्यसम्पादन सम्झौता भएको जानकारी सार्वजनिक गरेको छ । पहिलो त्रैमासिकमै कार्यक्रमको प्रगति हेर्ने, समस्या पहिचान गर्ने र समयसीमाभित्र काम सम्पन्न गराउने उहाँको प्राथमिकता छ ।
विपद् र महामारीः ‘रेडी टु रिस्पोन्ड’ स्वास्थ्य प्रणाली
नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुक हो । बाढी, पहिरो, भूकम्प, महामारी तथा संक्रामक रोगका प्रकोप बेलाबेला देखिन्छन् । हालै भोटेकोशीमा आएको विपद्लाई उदाहरण दिँदै डा. पौडेल स्वास्थ्य प्रणालीको तयारी सधैँ चुस्त हुनुपर्ने बताउनुहुन्छ । विपद्को समयमा खोज तथा उद्धारमा स्वास्थ्य क्षेत्रको भूमिका, घाइतेको उपचार, रोगको निगरानी, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन र प्रभावित समुदायसम्म सेवा पु¥याउने काम महत्वपूर्ण हुन्छ ।
त्यसैगरी संक्रामक रोगको निगरानी पनि उत्तिकै महत्वपूर्ण छ । स्वास्थ्य आपत्कालीन अवस्थालाई देशभित्रको मात्र विषय नभई इन्टरनेशनल हेल्थ रेगुलेसन्स अन्तर्राष्ट्रिय स्तरमा देखिने सम्भावित स्वास्थ्य जोखिमप्रति पनि निगरानी राख्नुपर्छ । एयरपोर्टका हेल्थ डेस्क, प्रयोगशालाको क्षमता र रोग पहिचान प्रणालीलाई पनि यसैसँग जोडेर हेर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
स्क्रब टाइफसदेखि अंग प्रत्यारोपणसम्म
स्वास्थ्य सेवा विभागको नेतृत्वमा आउँदा डा. पौडेलले सामना गर्नुपर्ने विषयको फराकिलोपन बुझ्न एउटा उदाहरण पर्याप्त छ । एकातिर कुनै जिल्लामा स्क्रब टाइफसको प्रकोप देखिँदा त्यसको अध्ययन तथा नियन्त्रणका लागि टोली परिचालन गर्नुपर्ने हुन्छ भने अर्कोतिर अंग प्रत्यारोपणजस्तो उच्च विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तारसँग सम्बन्धित विषयमा समन्वय गर्नुपर्छ ।
त्यसैगरी ५, १० वा १५ शय्याका स्वास्थ्य संस्थामा उपकरण पु¥याउनेदेखि ठूला अस्पतालमा विशिष्टीकृत सेवाको समन्वयसम्मका काम विभागसँग जोडिन्छन् । यही कारण डा. पौडेल स्वास्थ्य सेवा विभागको जिम्मेवारीलाई ‘एकदम ठूलो स्पेक्ट्रमको काम’ भन्नुहुन्छ ।
मानव स्वास्थ्य मात्रै होइन, ‘वन हेल्थ’ पनि
धेरै संक्रामक रोग जनावरबाट मानिसमा सर्न सक्छन्। त्यसैले वन हेल्थ एप्रोचको महत्व बढेको छ । डा. पौडेलले पनि पशु स्वास्थ्य, वातावरणीय स्वास्थ्य, मानव स्वास्थ्य र अन्य सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउनुहुन्छ । बर्ड फ्लुजस्ता रोग यसको उदाहरण हुन् । मानिसको स्वास्थ्य जोगाउन मानव स्वास्थ्य प्रणाली मात्र बलियो भएर पुग्दैन ।
पशु स्वास्थ्य, वातावरण र रोगको स्रोतसम्म पुगेर काम गर्नुपर्ने हुन्छ । त्यसैले स्वास्थ्य सेवा विभागको नेतृत्वमा उहाँले वन हेल्थ अवधारणालाई पनि महत्वपूर्ण एजेन्डाका रूपमा हेर्नुभएको छ ।
‘मानव, सामग्री र बजेट’—स्वास्थ्य प्रणालीका तीन आधार
स्वास्थ्य सेवा प्रभावकारी बनाउन भवन वा नीति मात्र पर्याप्त हुँदैन । डा. पौडेलले स्वास्थ्य सेवाको गुणस्तरका लागि जनशक्ति, सामग्री÷उपकरण र बजेट गरी तीनवटा आधारलाई जोड दिनुभएको छ ।
स्वास्थ्य प्रणालीमा दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न सकिँदैन । उपकरण नहुँदा दक्ष जनशक्ति भएर पनि उपचार सम्भव हुँदैन र पर्याप्त बजेट नहुँदा नीति तथा योजना कार्यान्वयन गर्न कठिन हुन्छ । त्यसैले स्वास्थ्यकर्मीको वितरण, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकको परिचालन, प्रदेश तथा स्थानीय तहसँगको समन्वय, स्वास्थ्य संस्थाको डिजिटल अभिलेख र स्वास्थ्य जनशक्तिको डिजिटल प्रणाली विकासलाई पनि उहाँ प्राथमिकतामा राख्नुहुन्छ ।
पुनःस्थापना र प्यालिएटिभ केयरः छायामा परेको क्षेत्र
क्यान्सरका बिरामी, दीर्घरोगी तथा उपचारपछि पुनःस्थापनाको आवश्यकता भएका व्यक्तिका लागि स्वास्थ्य सेवाको निरन्तरता आवश्यक हुन्छ । सडक दुर्घटनापछि शारीरिक पुनःस्थापना आवश्यक भएका व्यक्ति हुन् वा दीर्घरोगका कारण निरन्तर हेरचाह चाहिने बिरामी—स्वास्थ्य प्रणालीले उपचारपछि पनि उनीहरूलाई साथ दिनुपर्छ । त्यसैले हस्पिस, प्यालिएटिभ केयर र पुनःस्थापना सेवालाई स्वास्थ्य सेवाको मूलधारमा ल्याउनुपर्ने उहाँको धारणा छ ।
दुर्गम स्वास्थ्य सेवादेखि राष्ट्रिय एड्स नियन्त्रणको नेतृत्वसम्म
बुधबार, कात्तिक १८, २०८३
२२ वर्षको अनुभव बोकेर नेपाली छालाको स्वास्थ्यमा नयाँ अध्याय लेख्न निस्किएका प्रकाश पाठक
आइतबार, कात्तिक १५, २०८३
‘नमस्ते’ गर्न डराउने युवती सफल म्यानेजर !
आइतबार, कात्तिक १५, २०८३
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
