चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ । चौथो योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका क्षेत्रमा काम गर्ने १०० भन्दा बढी संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ । शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रम गरी योग दिवस मनाइने जनाइएको छ । सोही समितिको अगुवाईमा आज बिहान ७ बजे शान्तिवाटिकाबाट प्रभातफेरी शुरु भई सकेको छ । प्रभातफेरीमा सहभागी हुन मन्त्रालयले मातहतका कार्यालयका सबै कर्मचारीलाई आह्वान गरेको छ । माघ ७ गते समापनका दिन कार्यपत्रको प्रस्तुतिसहित कार्यशाला गोष्ठी गरिने जनाइएको छ । यस्तै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले अहिले विहान ८ बजे देखि टेकुमा योग शिविरको आयोजना गर्दैछ । सो शिविरमा सहभागी हुन विभागले स्वास्थ्य सम्वद्ध कर्मचारी तथा आम सर्वसाधारणलाई निमन्त्रणा गरेको छ । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा ‘योग सबैका लागि सधैँका लागि’ आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए । जसलाई युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको जनाइएको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । दिवसका अवसरमा योगसँग सम्बन्धित विभिन्न संस्थाले विविध कार्यक्रम गरी मनाइने मन्त्रालयले जनाएको छ । यस वर्ष ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहलाई पनि विशेष कार्यक्रम गरी योग दिवस मनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ । व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पु¥याउने साधनाका रुपमा योगलाई आत्मसात गर्न जागरण फैल्याउने उद्देश्यले योग दिवस मनाउन थालिएको हो । नेपाल संस्कृत विश्वविद्यालय योग विभागका प्रमुख डा पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताउनुहुन्छ । “नेपालको हिमवत्खण्ड र मानस खण्डको बीचमा योगको विकास भएको हो, नेपालमा बर्षेनी हजारौँ विदेशी योग सिक्नकै लागि नेपाल आउँछन्, काठमाडौँमा ५० वटा योग केन्द्रले विदेशीलाई मात्र योग सिकाएर बसेका छन्,” उहाँले भन्नुभयो । नेपाल महर्षि वैदिक फाउण्डेशनले देशभरका ७५ गुरुकुल र एक दर्जनभन्दा बढी सामुदायिक एवं संस्थागत विद्यालयमा ध्यान साधनासहितको कार्यक्रम शुरु गरेको छ । गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक र विद्यालयमा चेतनामा आधारित शिक्षा लागू गरेको जनाएको छ । थप गुरुकुल र विद्यालयमा पनि यो कायक्रम लागू गर्ने तयारी गरिएको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले बताए । पतञ्जलि योग पीठले ७७ वटै जिल्लामा शाखा खोलेर ४० हजार योग शिक्षकमार्फत योगको पुनर्जागरण शुरु गरेको जनाएको छ । नेपालीले योग गरेर निरोग भए विदेशिने अर्बौँ डलर स्वास्थ्यका नाममा जानबाट रोकिने विश्वास लिइएको छ । योग प्रशिक्षक निर्यात गर्नसके श्रमका लागि विदेशिएकाले भन्दा राम्रो र इज्जतको रोजगारी अवसर पाउने सम्भावना छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले देशका ७२ जिल्लामा राजयोग र ध्यान सिकाउने अभियान शुरु गरेको जनाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई योग ध्यान साधनास्थलका रुपमा विकास गर्ने तयारी शुरु गरेको छ । पशुपति मन्दिरको दक्षिण मूल ढोकाअघिको पञ्चदेवलमा महात्मा सुशीलले पाशुपत योग प्रशिक्षण शुरु गर्नुभएको छ । कोषको सहयोगमा शुरु भएको यो कार्यक्रम देशभर विस्तार गरिने उनले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, माघ १, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
योगा
भाँचिएको आत्मालाई जीवन विज्ञानले जोडेको आत्मकथा
बिहीबार, जेठ १५, २०८२
महिलालाई निरोग राख्ने सात योग
आइतबार, चैत २४, २०८१
योग खाली पेट गर्नु उपयुक्त कि नास्तापछि ?
मंगलबार, चैत १९, २०८१
रोग लाग्नुभन्दा पहिला नै बच्ने उपाय योग
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ
