नेभिगेशन
धन होइन, सम्बन्ध हो जिन्दगीको सार 

भाँचिएको आत्मालाई जीवन विज्ञानले जोडेको आत्मकथा

छोरीलाई वस्तु होइन, अस्तित्वका रूपमा हेर्नुस्  

‘पछाडि फर्केर हेरेको भए म जिन्दगी जिउन सक्दिन थिएँ ।’— भन्छिन् बिना अधिकारी, भक्तपुरको ‘राधे राधे जीवन विज्ञान केन्द्र’ की एक होनहार साधिका । उनको अनुहारमा गम्भीरता, बोलीमा आत्मबल र आँखामा एक अलगै चमक देखिन्छ । ती आँखाहरूले संसारलाई मात्र होइन, आफैंलाई पनि भोगेकी छन् — ‘अपमान, अवहेलना, क्रन्दन र संघर्षको तीतो संसार ।’

तेह्रथुमको म्याङ्लुङ बजारमा जन्मिएकी बिनाको बाल्यकाल त्यति सहज थिएन । हुन त उनी परिवारकी प्यारी कान्छी छोरी थिइन् । तर  एउटी छोरीको हैसियतमा उनले भोगेका पीडा उनका शब्दहरूमा आज पनि ताजै छन् । ‘धन सम्पत्तिसँग तुलना गरियो मेरो अस्तित्व’—उनी सम्झन्छिन्—‘र पलपल म मारिँदै गएँ । म जिउँदै मर्न सिकेकी थिएँ ।’

पटक–पटक मृत्यु, तर अझै जिन्दगी बाँकी छ
जीवनमा धेरै पटक यस्तो क्षण आयो, जहाँ बिनालाई लाग्यो —‘अब सकियो, म बाँच्छु जस्तो छैन ।’ तर त्यो अन्त्य थिएन । त्यो त नयाँ सुरुवातको सङ्केत मात्र रहेछ । ‘म पटक–पटक मरेकी थिएँ’—उनी भन्छिन्—‘तर आत्मा मर्न सक्दैन रहेछ । आत्मा भित्रको उज्यालो कहिले निभ्दैन रहेछ ।’
कहिलेकाहीँ आँसुको ओसिलो बाटो नै आत्मशक्तिको मूल बनिदिन्छ । बिनाले पनि त्यही आँसुलाई संकल्पमा रूपान्तरण गरिन् । पछाडि फर्केर हेर्ने काम गरिनन् । भविष्यतिर हेरिन् — ‘साहस, साधना र सत्यमार्गमा ।’

भत्किएका सम्बन्ध र बनिरहेका विश्वास
‘सम्पत्ति भन्दा सम्बन्ध मूल्यवान रहन्छ’—बिना भन्छिन् । जीवनको कठोर शिक्षाले उनलाई सिखायो— ‘पैसा केही हदसम्म मात्र उपयोगी छ । तर माया, समझदारी र सहानुभूति भने जीवनको असली सम्पत्ति हो ।’ ‘मेरो बाल्यकालले मेरो दिमागमा ठूलो असर पा-यो । तर मैले सिकेँ — सन्तुष्टि नै मुल्यवान चीज हो ।’
घर–परिवार, समाज र आफन्तबाट बारम्बार बेवास्ता पाइन् उनले । कतिपटक त आफैंमा शंका गर्न थालिन् । तर एकपटक बिनाले आफैंसँग भनिन् —‘अब म आफैंलाई माया गर्छु ।’

साधनाको बाटोः जीवन विज्ञानको शक्ति
यही मोडमा उनले भेटिन् आध्यात्मको एउटा उज्यालो किरण — ‘जीवन विज्ञान राधे राधे केन्द्र ।’ त्यसपछि उनी साधनाको यात्रामा होमिइन् ।
‘संसारले त मलाई पटक–पटक तोड्ने प्रयास ग-यो’—उनी भन्छिन्—‘तर साधनाले मलाई फेरि निर्माण ग-यो ।’ जीवन विज्ञानको माध्यमबाट उनले आफूलाई चिनिन्, । आफैंलाई माफ गरिन् र अरूलाई पनि माया गर्न सिकिन् ।

‘सब कुरा भुल्न सकिँदो रहेछ’—उनी भन्छिन्—‘तर पीडा र यातना कहिल्यै भुलिँदैन । त्यसैले त परिवार, समाज सबैले सोच्न जरुरी छ — के हामी छोरीहरूमाथि अन्याय त गरिरहेका छैनौं ?’

छोरीलाई बुझ्नुस्, उनको अस्तित्व स्वीकार्नुस्
आज उनी एक साधिका मात्रै होइनन्, जीवन विज्ञानका माध्यमबाट धेरैलाई जीवनका गहिरा घाउहरू निको पार्ने साधक पनि बनिसकेकी छन् । उनको कथा, उनको आँसु र उनको आँधी–पछिको इन्द्रेणी सन्देश हो—‘छोरीलाई वस्तु होइन, अस्तित्वका रूपमा हेर्नुस् ।’ उनको हरेक सासमा सपना हुन्छ ।  उनको हरेक स्पन्दनमा संसार बदल्ने साहस हुन्छ ।
‘म सफल भएँ किनभने मैले अगाडि मात्रै हेरेँ ।’ बिना अधिकारीको यो वाक्य आजका हरेक महिलाका लागि एउटा प्रेरणाको धरोहर बन्न सक्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप योगा