नेभिगेशन

क्यान्सर अस्पतालमा अत्याधुनिक लिनायक मेसिन

भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने अहिलेसम्मै अत्याधुनिक रेडियोथेरापी उपकरण लिनायक मेसिन भित्र्याएको छ । अमेरिकी प्रविधिको लिनायक आईएक्स मेसिन जडानका लागि बंकर निर्माण भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
लिनायक मेसिनले रेडियो विकिरणमार्फत क्यान्सरको उपचार गर्ने र रेडियो विकिरण बाहिरी वातावरणमा चुहिन नदिन बंकर आवश्यक पर्छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले भने, ‘ब्राकिथेरापीका लागि अर्को सानो आकारको बंकर निर्माण भइरहेको छ ।’
आगामी वैशाख १ गतेदेखि लिनायक मेसिनबाट उपचार सुरु गरिने समितिले जनाएको छ । उक्त मेसिन क्यान्सर उपचारमा अहिलेसम्म प्रयोगमा आएको इन्टेनसिटी मोडुलेटेड रेडियसन थेरापी (आईएमआरटी) एवं थ्रीडी–सीआरटी प्रविधिको भएको चिकित्सकको भनाइ छ । ‘लिनायक मेसिनले बिरामीलाई जहाँ क्यान्सर लागेर विकीरण दिनुपर्ने हो, त्यहीं ठाउँमा रेडियोथेरापीमार्फत विकिरण दिने काम गर्छ,’ अस्पतालको रेडियोथेरापी विभागकी रेडियसन अन्कोलोजिस्ट डा. श्वेता बरालले भनिन्, ‘क्यान्सर लागेको कोषिकालाई सेकेर मार्न यो मेसिन अति प्रभावकारी छ ।’
लिनायक मेसिनले क्यान्सर लागेको कोषिकालाई मात्रै लक्षित गरेर सेक्ने र क्यान्सर पुनः देखिने सम्भावना न्यून हुने उनले बताइन् । लिनायक मेसिनले विद्युतीय ऊर्जामार्फत आफैंले क्यान्सरका कोषिका मार्ने विकिरण तयार गर्ने विभागले जनाएको छ ।
हाल क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि ‘कोबाल्ट ६०’ मेसिन सञ्चालित छ । लिनायक मेसिन सञ्चालनमा आएपछि क्यान्सर बिरामीले रेडियोथेरापीका लागि महिनौंसम्म कुर्नुपर्ने बाध्यता नहुने डा. बरालले बताइन् । ‘कोबाल्ट ६०’ मेसिनले दैनिक सयदेखि १ सय २० जनासम्मलाई रेडियोथेरापी गराउँदै आएको भए पनि वैशाखसम्मका लागि बिरामी क्युमा रहेको विभागले जनाएको छ ।
अस्पतालले यसअघि अनुदानमा लिनायक मेसिन भित्र्याए पनि सञ्चालनमा ल्याउन सकेको थिएन । अनुदानमा पाएको सेकेन्ड ह्यान्ड लिनायक मेसिनले काम नगरेपछि हटाएर १८ करोड रुपैयाँमा समितिले नयाँ मेसिन खरिद गरेको समिति अध्यक्ष श्रेष्ठले बताए । हाल ७५ प्रतिशत उपचार सेवा दिँदै आएको अस्पतालले लिनायक मेसिन जडान पछि ९८ प्रतिशत सेवा दिने जनाएको छ ।
सरकारले अस्पताललाई पेटस्क्यान उपकरण दिने हो भने अस्पतालले शतप्रतिशत बिरामीको उपचार गराउन सक्ने क्षमता भएको समितिको भनाइ छ । २०५१ मा १५ शय्याबाट सुरु भएको भक्तपुर क्यान्सर अस्पतालमा हाल आकस्मिक र डे–केयरसहित १ सय ४० शय्या सञ्चालनमा छ । हालसम्म ७७ हजार ८ सय ३३ बिरामीको सेवा गरेको अस्पताल प्रशासनले जनाएको छ ।कान्तिपुरदैनिकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पत्रपत्रिकाबाट