नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरले ३.० टेस्ला एमआरआई मेसिन खरिदका लागि चिनियाँ कम्पनी सांघाई युनाइटेड इमेजिङ हेल्थकेयर कम्पनी लिमिटेडलाई छनोट गरेपछि खरिद प्रक्रियाको प्राविधिक मापदण्डमाथि प्रश्न उठेको छ । स्वास्थ्य क्षेत्रमा हुने उच्च मूल्यका उपकरण खरिदमा पारदर्शिता, प्रतिस्पर्धा र सार्वजनिक हितको प्रश्न महत्वपूर्ण हुने भएकाले ट्रमा सेन्टरको यो खरिद प्रक्रिया तथा प्राविधिक मापदण्ड आगामी दिनमा थप बहसको विषय बन्न सक्ने देखिएको छ ।
विशेषगरी टेन्डरमा ६५ सेन्टिमिटर (सेमी) बोर भएको एमआरआई अनिवार्य गरिएपछि प्रतिस्पर्धा सीमित गरिएको र निश्चित उत्पादकलाई लाभ पुग्ने वातावरण बनाइएको आरोप सरोकारवालाहरूले लगाएका छन् ।
ट्रमा सेन्टरले जेठ २९ गते प्रकाशित गरेको ‘बोलपत्र स्वीकृत गर्ने मनसायको सूचना’ अनुसार ३.० टेस्ला एमआरआई मेसिनको आपूर्ति, ढुवानी तथा जडानका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी कम्पनीहरूमध्ये युनाइटेड इमेजिङको प्रस्ताव सबैभन्दा कम मूल्याङ्कित तथा सारभूत रूपमा उत्तरदायी ठहरिएको हो ।
सूचनाअनुसार कम्पनीले १३ लाख २९ हजार ९ सय अमेरिकी डलर अर्थात् १९ करोड ७७ लाख १६ हजार २ सय ३३ रुपैयाँ बराबरको प्रस्ताव पेश गरेको थियो । बोलपत्र मूल्याङ्कन समितिले उक्त प्रस्ताव स्वीकृतिका लागि सिफारिस गरेपछि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ‘बोलपत्र स्वीकृत गर्ने मनसाय’ सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।
के हो ‘बोर’?
एमआरआई मेसिनमा बिरामीलाई स्क्यानका लागि प्रवेश गराइने गोलाकार सुरुङको भित्री व्यासलाई ‘बोर’ भनिन्छ । सरल भाषामा भन्नुपर्दा बिरामी प्रवेश गर्ने टनेलको चौडाइ नै बोर हो ।
सामान्यतयाः
- ६० सेमी बोर = स्ट्यान्डर्ड वा न्यारो बोर
- ६५ सेमी बोर = मध्यम आकारको बोर
- ७०–७५ सेमी बोर = वाइड बोर
बोर ठूलो हुँदा मोटोपन भएका बिरामी तथा बन्द ठाउँको डर (क्लस्ट्रोफोबिया) भएका व्यक्तिलाई बढी सहज हुन्छ । यद्यपि एमआरआईको छवि गुणस्तर केवल बोरको आकारले मात्र निर्धारण गर्दैन । चुम्बकीय शक्ति, ग्रेडियन्ट प्रणाली, आरएफ कोइल तथा सफ्टवेयर क्षमताजस्ता पक्षहरू पनि उत्तिकै महत्वपूर्ण मानिन्छन् ।
विवादको केन्द्रमा ६५ सेमी बोर
एमआरआई उपकरणलाई सामान्यतया ६० सेमी र ७० सेमी बोर श्रेणीमा बढी उत्पादन तथा बिक्री गरिन्छ । तर ट्रमा सेन्टरको टेन्डरमा ६५ सेमी बोर अनिवार्य गरिएपछि बजारमा उपलब्ध धेरै उत्पादकहरूको उपकरण प्रतिस्पर्धाबाट बाहिरिएको दाबी गरिएको छ ।
एमआरआई क्षेत्रमा कार्यरत एक विज्ञका अनुसार प्राविधिक मापदण्ड तयार गर्दा आवश्यकताभन्दा बढी विशिष्ट विवरण समावेश गरिए प्रतिस्पर्धा प्रभावित हुनसक्छ ।
उनका अनुसार विश्व बजारमा ६० सेमी तथा ७० सेमी बोरका प्रणाली व्यापक रूपमा उपलब्ध छन् । तर ६५ सेमी बोरलाई अनिवार्य बनाउँदा सहभागी हुनसक्ने कम्पनीहरूको संख्या सीमित हुने सम्भावना रहन्छ ।
सरोकारवालाहरूको दाबी छ कि हाल ६५ सेमी बोर आकारको एमआरआई उत्पादन गर्ने उत्पादकमध्ये युनाइटेड इमेजिङ प्रमुख रूपमा रहेको छ । त्यसैले उक्त मापदण्डले अन्य अन्तर्राष्ट्रिय उत्पादकहरूको सहभागितामा अवरोध पुर्याएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।
प्रतिस्पर्धा कि लक्षित स्पेसिफिकेसन?
सार्वजनिक खरिद प्रणालीको मूल उद्देश्य खुला प्रतिस्पर्धा सुनिश्चित गर्दै गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा खरिद गर्नु हो । त्यसैले प्राविधिक स्पेसिफिकेसन तयार गर्दा कुनै एक उत्पादक वा सीमित समूहलाई मात्र अनुकूल हुने अवस्था सिर्जना हुनु नहुने विज्ञहरूको धारणा छ ।

खरिद प्रक्रियामाथि प्रश्न उठाउने पक्षले ६५ सेमी बोरको मापदण्डले सीमित उत्पादकलाई लाभ पुग्ने वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यदि ६० सेमी वा सोभन्दा माथि अथवा ७० सेमी वाइड बोरसमेत सहभागी हुन सक्ने गरी मापदण्ड तय गरिएको भए प्रतिस्पर्धा अझ व्यापक हुनसक्थ्यो ।
ट्रमा सेन्टरको प्रतिक्रिया आउन बाँकी
यस विषयमा विस्तृत जानकारी तथा उठेका प्रश्नबारे प्रतिक्रिया लिन राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो । तर समाचार तयार पार्दासम्म उहाँसँग सम्पर्क हुन सकेन । 
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२

