
नेपालमा बर्ड फ्लुका कारण पहिलो पटक एक जनाको ज्यान गएको आधिकारिक रूपमा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ती व्यक्तिलाई बर्ड फ्लु सर्नुको कारण पत्ता लगाउन अनुसन्धान थालिएको बताएका छन्।
मन्त्रालयको एपिडिमिओलजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता डाक्टर प्रकाशप्रसाद शाहका अनुसार ती युवकलाई कसरी बर्ड फ्लुको सङ्क्रमण भयो त्यो थाहा पाउन उनी बस्ने क्षेत्रमा "प्राविधिकहरूको टोलीले आज (शुक्रवार) बाटै अनुसन्धानहरू थाल्दैछ।" स्वास्थ्य मन्त्रालयका अनुसार परिचय गोप्य राखिएका ती युवकलाई गत चैत १० गते खोकी र ज्वरोका कारण अस्पताल भर्ना गरिएको थियो। त्यसलगत्तै उनलाई औषधि दिइएको बताइएपनि त्यसको पाँच दिनपछि श्वासप्रश्वासको समस्याका कारण उनको मृत्यु भएको मन्त्रालयले बताएको छ।'बर्ड फ्लुकै कारण मृत्यु'
बर्ड फ्लु गराउने H5N1 नामक भाइरसको सङ्क्रमणबाट प्राय: मानिसको मृत्यु नहुने भन्दै केही विज्ञहरूले ती युवकको मृत्यु अन्य कारणले भएको हुन सक्ने शङ्का व्यक्त गरेका छन्। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती बिरामीलाई बर्ड फ्लु नै भएको दाबी गरेको छ। अस्पताल भर्ना भएपछि बिरामीमा इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको शङ्का लागि चिकित्सकहरूले घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका थिए।

सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छन्?
चिकित्सकहरूका अनुसार मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्। सङ्क्रमण भएपछि देखिने लक्षणहरू निम्न प्रकारका छन्:- खोकी लाग्छ, ज्वरो आउँछ
- टाउको दुख्छ, जाडो लाग्छ
- हाछ्युँ आउँछ
- मांसपेशीमा पीडा हुन्छ
- नाकबाट पानी बग्छ वा नाक थुनिन्छ
कसरी बच्न सकिन्छ?
तस्वीर - कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन
- काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ
- पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ
- खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ
- काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ
- चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ
- व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन
- बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ
- फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ
- मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ
- फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ
- सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ

