नेपाल हेल्थ न्युज, काठमाडौं । जनघनत्व अत्यधिक भएको संघीय राजधानी काठमाडौं अहिले कोभिड संक्रमणको केन्द्रजस्तै बनेको छ ।
भदौ लागेपछि देशभरमा सबैभन्दा धेरै संक्रमण देखिएको जिल्ला पनि काठमाडौं भएको छ । समुदायमा नै संक्रमण फैलँदै गर्दा त्यहाँको स्थिति अझै बिग्रन सक्ने देखिएको छ ।
चिनको बुहानबाट आएका एक बिद्यार्थीमा पहिलो संक्रमण गत ९ माघ २०७६ मै देखिएपनि त्यसपछि अर्का संक्रमित ९ चैत्र २०७६ मात्रै भेटिएका थिए । काठमाडौंमा तेस्रो संक्रमित २ वैशाख २०७७ र अर्को ३० वैशाखमा फेला परे । जेठदेखि यो संख्या वढ्दै गयो । असार अन्तिममा पुग्दा उपत्यकामा दैनिकजसो दोहोरो अंकमा बिरामी थपिए । साउनको २३ गते १३ अंकमा बृद्धि देखियो र उपत्यकामा एकैदिन १०६ जना संक्रमित भेटिए । भदौ लागेयता लगातार काठमाडौं सर्वाधिक संक्रमण देखिने जिल्ला बनेको छ ।भदौ १ गते काठमाडौंमा मात्र १३९ जनामा भाइरस पुष्टि भएको थियो भने सिंगो उपत्यकाभर १६८ जनामा यो रोग देखियो । त्यसयता काठमाडौं पहिलोबाट दोस्रोम ाझरेको छैन । काठमाडौं मात्र नभई उपत्यकाका ३ वटै जिल्लामा संक्रमण फैलावट आक्रामक भएको छ । भदौ १० गते त काडमाडौंमा मात्रै २३० थपिँदा उपत्यकाका अरु २ जिल्लामा समेत गरी ३०१ जनामा भाइरस देखिएको छ ।
उपत्यकामा कुल बिरामीको संख्या ४०२१ पुगेको छ । ७ साउनमा लकडाउन खुलेर आवतजावत खुकुलो भएपछि महामारी व्यापक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निश्कर्ष छ ।मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारी भन्नुहुन्छ—‘शुरुवातका चरणमा काठमाडौं उपत्यका भित्र बाहिरबाट आउनेहरुबाट सरेर संक्रमण देखिरहेको अवस्था थियो । तर पछिल्लो चरणमा घरभन्दा बाहिर निस्कने र उपत्यकाभन्दा बाहिर नजाने व्यक्तिहरुमा पनि संक्रमण भएको अवस्था देखिन्छ । पछिल्लो संक्रमणले जननघनत्व धेरै भएको राजधानीमा आवतजावतको प्रक्रिया, हाम्रो काम, व्यवसाय, आदिले घरबाहिर जानैपर्ने कारणले पनि संक्रमण लिएर घर आउने हो कि भन्ने अवस्था देखिएको छ । यसले अस्पतालमा भर्ना गर्नुपर्ने लक्षण भएका व्यक्तिहरुको अनुपात पनि बढाइरहेको छ र आईसियू भेन्टिलेटरमा राख्नुपर्ने अनुपात पनि बढिरहेको देखिन्छ ।’ उपत्यकाभरीमा ४० लाख बढीको बसोबास रहेकोमा २५ लाखको हाराहारी त काठमाडौं जिल्लामै छ । यहाँ हरेक एक वर्ग किलोमिटरमा २० हजार मानिस बस्छन् ।
यति धेरै बसोबास भएको समुदायमा संक्रमण रोक्नका लागि गर्नुपर्ने तयारी नै नगर्नु पहिलो कमजोरी बनेको छ । बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा नराखी सिधै समुदायमा पठाउँदा संक्रमण सजिलै समुदायमा पुग्यो ।प्रहरी मुख्यालयदेखि अख्तियार, अदालत र व्यापारिक प्रतिष्ठानमा ठूल्ठूलो समुदायमा संक्रमण देखिनुले सावधानीमा ध्यान नपुगेको देखाउँछ । इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्नुहुन्छ—‘नेपालको करिब ६० प्रतिशत स्रोत साधन, ६० प्रतिशत अस्पतालका शैया, ६० प्रतिशत चिकित्सक, ६० प्रतिशत नर्स, काठमाडौंमै छन् । यसलाई प्रयोग गरेर हामीले ज्वरो, खोकी, सास फेर्न गाह्रो भएका व्यक्तिहरुको व्यापक खोजी गर्नुपर्दथ्यो । बरु टेलिफोनबाट बिमरण माग्दै घरघरमा स्वास्थ्य टोली खटाएर उनीहरुको परीक्षण गर्ने नमुना संकलन गर्न सकेको भए नियन्त्रणमा ठूलो टेवा पुग्न सक्ने अवस्था थियो । यसबाट संक्रमण रोक्न सकिन्छ ।’
काठमाडौंमा देखिएको संक्रमणको यो दरले स्थिति अरु बिग्रन संकेत गरिरहेको छ ।समुदायस्तरमा परीक्षण व्यापक बनाएर संक्रमितलाई अलग्गै राखी हेरचाह गर्न अझै ढिला गरिएमा परिणाम सोचेभन्दा निकै भयानक हुनसक्ने अवस्था आउन सक्ने देखिन्छ । यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२ट्रेन्डिङ
