नेभिगेशन
क्यान्सरसँगको कठोर संघर्षपछि पुनर्जन्मको कथा

क्यान्सरमाथि विजय यात्राः एक आमाको अदम्य साहस

१३ वर्षअघिको क्यान्सरले थिचेको शरीर, तर नझुकेको आत्मबल

अप्रिल १ मजाक गर्ने दिन थियो । तर १३ वर्ष वर्ष अघि म भने मृत्युको ढोका अगाडि उभिएकी थिएँ । त्यो दिन मेरो जीवनका लागि सबैभन्दा गम्भीर मोड थियो । रिपोर्टले क्यान्सर बतायो । त्यसपछि जिम्मेवारीको अर्थ, मायाको वजन र बाँच्नुपर्ने कारण झन् गहिरो भयो । 
शंका, उपेक्षा र अन्ततः क्यान्सर
समस्या एकदम सामान्य देखिन्थ्यो । घाँटी खसखस गथ्र्यो । एलर्जी होला भनेर चिकित्सकले सुरूमा गम्भीरता देखाएनन् । विस्तारै स्वर हराउँदै गयो । शारीरिक पीडा बढ्दै गयो । अन्ततः घाँटीमा गाँठा देखिए । म एक आमाको भूमिकामा संघर्षरत थिएँ । शरीर भने रोगले थिचिँदै थियो । तर आमाको प्रेमले मलाई मुस्कुराइरहन बाध्य बनाएको थियो । बच्चाहरूले ‘किन आमा बोल्नु हुन्न,आज खाना किन छैन?’ जस्ता प्रश्न गर्दा म पीडाभन्दा बढी अपराधबोधले चुक्क हुन्थेँ ।

सिभिल अस्पतालमा गरिएको परीक्षणपछि डा. समिरले श्रीमानलाई बोलाउनुभयो । म सिधा सोध्न बाध्य भएँ–‘के मलाई क्यान्सर भएको हो?’ त्यसपछि समय थमिएजस्तै भयो । म रोइनँ, तर मन चिसो भयो । मभित्रको आमाले छोराछोरीको भविष्य देखेर डरायो । 
 

दिल्लीबाट नयाँ संघर्ष
राजीव गान्धी क्यान्सर अस्पताल दिल्ली गयौँ । त्यो क्षण अज्ञात, विशाल र डर लाग्दो थियो । मनभित्र एउटा आशाको दियो बलेको थियो–‘म मर्ने छैन, म फर्किनेछु ।’ शल्यक्रियामा रोवोर्ट प्रयोग गरियो । घाँटीबाट ३५ वटा गाँठा निकालिए । म चार दिनमै डिस्चार्ज भएँ । यो समयमा म शारीरिक रूपमा होइन, आत्मबलले बाँचेकी थिएँ । 

रसायनले शरीर जलायो, विश्वासले जीवन बचायो
रेडिएसन र किमोथेरापी निकै पीडादायी बन्यो । जिब्रो सुनिन्थ्यो, घाँटी जल्थ्यो, न त खाना निल्न सकिन्थ्यो । शरीरका हरेक अङ्ग चिच्याउँथे– ‘थाकिस !’ सँधैझैँ फेरि हरेक बिहान हुन्थ्यो । सास तन्किन्थ्यो । त्यो नै थियो– ‘बाँच्नुको प्रमाण ।’ 
नयाँ जीवनको प्रारम्भ
नेपाल फर्किँदा म भौतिक रूपमा कमजोर थिएँ । तर मनोबल भने बलियो थियो । विर्तामोडमा फेरि अप्रेसन भयो । ट्रेकियोस्टोमी गरेर श्वास फेर्ने प्वाल बनाइयो । आवाज गुमेको थियो । तर आत्मबल चट्टान जस्तै थियो ।

आज म सिँधै बोल्दिन । तर प्रविधिको सहायताले टाइप गरेर भावना बाँड्छु । छोराछोरीले मनको आवाज बुझ्छन् । श्रीमान् र परिवारको माया मेरो जीवनरेखा बनेको छ । 

टिकटकबाट फेरि बाँचेँ
सञ्जु बहिनी र सरस्वती दिदीले टिकटकमा गरेका लाइभ हेर्दा मैले फेरि समाजसँग जोडिने बाटो पाएँ । मानिसहरूको प्रतिक्रिया आयो–‘हामी तपाईंबाट हिम्मत लिन्छौंँ ।’ म विस्तारै एक बाँच्ने महिलाबाट अरूलाई बचाउने प्रेरणा बन्दै गएँ । 
समूहमा शक्ति–नारीहरूको आत्मबल
कहिलेकाँही साथीहरु भेटघाट गर्दछौं । घरबाटै बनाएर लगेको खाना खाएर पिकनिक मनाएर रमाइलो गर्दछौं । हामीसँग पीडाका कथा छन् । अब त यस्ता कथा अरूलाई बाँड्न सक्ने आत्मबल पनि छ । 

म दैनिक विहान ५ बजे उठ्छु र पूजा गर्छु । करेसाबारी स्याहार्छु । छोराछोरीका लागि नयाँ परिकार बनाउँछु । जीवन फेरि गतिशील हुन्छ ।

अब मलाई चाहिएको छैन करूणा । केवल सुनुवाइ, साझा अनुभूति र प्रेरणा बाँड्ने अवसर चाहन्छु ।
अन्तिम शब्द
म मरेकी थिइनँ– त्यो एउटा जीवनको अध्याय थियो । म बाँचेँ– अब अरूलाई बाँच्छु भन्ने हिम्मत बाँड्नेछु । samjhana-dahal-1774334636.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप क्यान्सर