नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा दन्त स्वास्थ्यबारे चेतना विस्तार हुँदै जाँदा गिँजासम्बन्धी रोग र उपचारका नयाँ आयामहरूबारे बहस पनि गहिरिँदै गएको छ। यही सन्दर्भमा नेप्लिज सोसाइटी अफ पेरियोडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजी (एनएसपिओआई) को आयोजनामा ११ औँ वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मार्च २१ र २२ गते आयोजित उक्त सम्मेलनमा नेपाल, बेलायत र भारतलगायतका एक सयभन्दा बढी पेरियोडेन्टल विशेषज्ञहरूको सहभागिता रहेको थियो। सम्मेलनको मूल विषय थियो—
'पेरियोडोन्टल र इम्प्लान्ट उपचारमा आधारदेखि अग्रपङ्तिसम्म'
ज्ञान आदानप्रदानको अन्तर्राष्ट्रिय मञ्च- 'हामी कहाँ छौं र कहाँ पुग्दैछौं’ भन्ने मूल्याङ्कन'
एनएसपिओआईकी अध्यक्ष प्रा.डा. अमिना प्रधानाङ्गका अनुसार सन् २०१४ मा स्थापना भएको सोसाइटीले हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमार्फत ज्ञान आदानप्रदानलाई निरन्तरता दिँदै आएको छ।
उहाँले भन्नुभयो,
'यो ११ औँ अन्तर्राष्ट्रिय सम्मेलन हो, जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले आफ्नो अनुभव साटासाट गर्नुभयो। यसले हामी कहाँ छौं, विश्व कहाँ पुगेको छ र हामीले के सिक्न बाँकी छ भन्ने बुझ्न मद्दत गर्यो।'
हाल सोसाइटीमा १३४ जना पेरियोडेन्टल विशेषज्ञहरू आबद्ध छन्।
विश्वस्तरीय अभ्यासको झलक काठमाडौंमै- गिँजाको रोग वर्गीकरणदेखि नयाँ प्रविधिसम्म
सम्मेलनमा बेलायतका प्रसिद्ध विज्ञ डा. इयान निडलम्यानको सहभागिता विशेष आकर्षणको रूपमा रह्यो। उहाँ आधुनिक गिँजा रोग वर्गीकरणका अग्रणी विशेषज्ञमध्ये एक हुनुहुन्छ।
त्यस्तै भारतबाट आएका विशेषज्ञ र पेरियोडेन्टोलोजी अध्ययनरत विद्यार्थीहरूले पनि नवीन अनुसन्धान र अभ्यास प्रस्तुत गरेका थिए।
प्रा.डा.प्रधानाङ्गका अनुसार,
'अन्तर्राष्ट्रिय रूपमा गिँजाको रोगको समस्या र समाधान कसरी भइरहेका छन्, छिमेकी देशहरू कहाँ पुगेका छन्, हामी कुन स्तरमा छौं—यी सबै विषयमा छलफल भयो। यसले चिकित्सकलाई अपडेट राख्छ र बिरामीलाई आधुनिक उपचार दिन सहयोग पुगेको छ।'
मुख स्वास्थ्य र जीवनस्तरको सम्बन्ध-‘स्वस्थ मुख, स्वस्थ शरीर’
एनएसपिओआईकी महासचिव डा. खुस्वु गोयलका अनुसार मुखको स्वास्थ्य केवल दाँतसँग मात्र सम्बन्धित नभई समग्र शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको छ।
उहाँले भन्नुभयो,
'मुख स्वास्थ्यले जीवनस्तरमा प्रत्यक्ष असर गर्छ। गिँजाले दाँतलाई आधार दिन्छ, र त्यही आधार कमजोर भयो भने समस्या गम्भीर बन्दै जान्छ।'
गिँजाको रोगः ढिलो थाहा हुने ‘सायलन्ट समस्या’-दुखाइ नहुँदा बिरामी ढिलो पुग्ने चुनौती
विशेषज्ञहरूका अनुसार गिँजाको रोग सुरुआती चरणमा प्रायः दुखाइ नहुने भएकाले धेरै बिरामीहरू ढिलो अस्पताल पुग्ने गर्छन्। दन्त लेउ (प्लाक) बाट सुरु हुने समस्या क्रमशः गिँजा हुँदै हड्डीसम्म पुग्छ र अन्ततः दाँत झर्ने अवस्थासम्म पुर्याउन सक्छ।
डा. गोयल भन्नुहुन्छ,
'समस्या गम्भीर भइसक्दा मात्रै बिरामी आउँछन्। त्यसैले सचेतना अत्यन्त आवश्यक छ।'
नेपालमा बढ्दै दन्त स्वास्थ्यप्रतिको चेतना-‘अब बल्ल दाँतको उपचार गर्नुपर्छ भन्ने सोच विकास हुँदै’
प्रा.डा. प्रधानाङ्गका अनुसार नेपालमा अहिले दन्त स्वास्थ्यप्रति जनचेतना विस्तार हुँदै गएको छ।
'पहिले दाँतको समस्या गम्भीर रूपमा लिइँदैनथ्यो, तर अहिले उपचार आवश्यक छ भन्ने सोच विकास हुँदैछ,' उहाँले भन्नुभयो।
भोलिको उपचार आजको ज्ञानमा निर्भर-अपडेट चिकित्सक, गुणस्तरीय उपचार
सम्मेलनले चिकित्सकहरूलाई नयाँ प्रविधि, उपचार पद्धति र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराउँदै भविष्यका लागि मार्गनिर्देशन गरेको छ।
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
