नेपाल हेल्थ न्युज, काठमाडौं । क्यान्सर उपचारलाई बिरामी–केन्द्रित बनाउँदै सेवा विस्तार गर्ने लक्ष्यसहित काठमाडौं क्यान्सर सेन्टरले राजधानीको नयाँ बानेश्वरमा ‘केसिसी सिटी क्लिनिक’ सञ्चालनमा ल्याएको छ। चैत १५ गतेदेखि विधिवत सेवा सुरु गर्ने तयारी गरिएको उक्त क्लिनिकको सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्लिनिकल अंकोलोजिष्ट डा. सिमित सापकोटाले रिवन काटेर उद्घाटन गर्नुभयो।
भक्तपुरको ताथलीमा मुख्य केन्द्र सञ्चालन गर्दै आएको काठमाडौं क्यान्सर सेन्टरले अब बिरामीको सहज पहुँचलाई प्राथमिकतामा राख्दै शहरको केन्द्रमै सेवा विस्तार गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै डा.सापकोटाले क्यान्सर उपचारलाई अस्पतालसम्म सीमित नराखी बिरामीको जीवनशैलीसँग जोड्ने अवधारणा अघि बढाइएको बताउनुभयो।
'हामीले उपचार मात्र होइन, उपचारपछि बिरामीको जीवन कस्तो हुन्छ भन्ने विषयमा पनि ध्यान दिन थालेका छौं,'- उहाँले भन्नुभयो, 'बिरामीलाई ‘व्याक टु नर्मल लाइफ’ फर्काउन आवश्यक सेवा यही क्लिनिकबाट दिने लक्ष्य छ।'
उपचारपछि जीवनमा फर्काउने फोकस
सिटी क्लिनिकको विशेषता भनेको क्यान्सर उपचारपछि आवश्यक पर्ने पुनर्स्थापना (रिह्याविलिटेसन) र जीवन व्यवस्थापनमा केन्द्रित सेवा हो। यसअन्तर्गत ‘अंको रिह्याविलिटेसन क्लिनिक’ सञ्चालनमा ल्याइनेछ जसले उपचारपछिको शारीरिक तथा मानसिक अवस्थालाई सुधार गर्न सहयोग पुर्याउनेछ।
त्यसैगरी क्यान्सर उपचारका कारण भविष्यमा सन्तान प्राप्तिमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘अंको फर्टिलिटी क्लिनिक’ पनि सुरु गरिने भएको छ। विशेषगरी युवा बिरामीलाई लक्षित गर्दै उपचारअघि नै प्रजनन क्षमताको संरक्षण गर्ने उपायबारे परामर्श र सेवा उपलब्ध गराइनेछ।
डा. सापकोटाका अनुसार, 'युवा पुस्तामा क्यान्सरको समस्या बढ्दै गइरहेको छ। यस्तो अवस्थामा उपचारपछि उनीहरूको सन्तान प्राप्ति क्षमतालाई कसरी जोगाउने भन्ने विषय निकै महत्वपूर्ण हुन्छ।'
अत्याधुनिक प्रविधिमा आधारित सेवा
क्लिनिकमा ‘एड्भान्स्ड मोलिक्युलर अंकोलोजी’ सेवा पनि सुरु गरिनेछ जसअन्तर्गत क्यान्सरको प्रकारअनुसार मोलिक्युलर टेस्टिङ, जीन सिक्वेन्सिङ गरी व्यक्तिगत (पर्सनलाइज्ड) उपचार योजना तयार गरिनेछ। आवश्यक परेमा अन्तर्राष्ट्रिय विशेषज्ञता पनि ल्याइने सेन्टरले जनाएको छ।
यसका साथै क्यान्सर उपचारको नयाँ प्रविधि ‘सेलुलर थेरापी’ (जस्तैः कार टी सेल थेरापी) सुरु गर्ने तयारी पनि भइरहेको छ। यस प्रविधिमा बिरामीकै रगतबाट टी सेल निकालेर जेनेटिक रूपमा परिमार्जन गरी पुनः शरीरमा पठाइन्छ जसले क्यान्सर कोषिकासँग लड्न मद्दत गर्छ।
बहु–विशेषज्ञ सेवा एउटै छानामुनि
केसिसी सिटी क्लिनिकमा नियमित ओपिडी र डे–केयर सेवासँगै अल्ट्रासाउन्ड, ल्याब, फिजियोथेरापी लगायतका सुविधा उपलब्ध हुनेछन्। साथै, नाक–कान–घाँटी, पल्मोनरी (फोक्सो), स्त्रीरोग लगायतका विशेषज्ञ सेवा पनि एउटै स्थानमा पाइनेछ।
क्लिनिक संयोजक पुनम पाण्डेले बिरामीलाई अस्पतालसम्म बारम्बार जानुपर्ने झन्झट कम गर्न र सहज परामर्शका लागि शहरमै सेवा सुरु गरिएको बताउनुभयो। 'बिरामीलाई आवतजावत र परामर्श लिन गाह्रो हुने भएकाले सबै सुविधा एकै ठाउँमा दिने उद्देश्यले क्लिनिक स्थापना गरिएको हो'- उहाँले भन्नुभयो।
भविष्यमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा
काठमाडौं क्यान्सर सेन्टर ५० शैय्याको अस्पतालका रूपमा सञ्चालनमा रहेको छ। प्रशासन तथा मानव स्रोत व्यवस्थापन प्रमुख वर्षा कोइरालाका अनुसार निकट भविष्यमै बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने योजना रहेको छ।
'कार्टिसेल थेरापी, सेलुलर थेरापी, जीन थेरापी लगायतका अत्याधुनिक सेवा विस्तार गर्दै जाने हाम्रो लक्ष्य हो'- कोइरालाले बताउनुभयो।
बिरामी–केन्द्रित सेवा विस्तार
राजधानीको व्यस्त केन्द्र बानेश्वरमा क्लिनिक स्थापना गर्नुको मुख्य उद्देश्य बिरामीलाई फलोअप र परामर्शमा सहजता प्रदान गर्नु रहेको सेन्टरले जनाएको छ। क्यान्सर उपचारलाई केवल रोग निको पार्ने प्रक्रियाभन्दा बाहिर ल्याएर जीवनको समग्र गुणस्तर सुधार गर्ने दिशामा ‘केसिसी सिटी क्लिनिक’ले नयाँ अभ्यास सुरु गरेको छ जसले नेपाली क्यान्सर सेवामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

