नेभिगेशन
मेडिकल फिल्डमा दैनिक अपटुडेट

नेपालमा आधुनिक क्यान्सर उपचारको आधार निर्माण गर्ने एक नाम:डा. सिमित सापकोटा 

डाक्टर बन्ने यात्रादेखि क्यान्सर विशेषज्ञसम्म

जनस्वास्थ्य सरोकार, काठमाडौं । डा.सापकोटा क्लिनिकल अंकोलोजिष्ट तथा काठमाडौं क्यान्सर सेन्टर (केसिसि) का अध्यक्ष हुनुहुन्छ । उहाँको चिकित्सकीय यात्रा सन् २००७ मा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेसँगै सुरु हुन्छ । त्यो बेला डा. सापकोटाको रेडिएसन अंकोलोजी रुचिकर विषय बन्यो । उहाँले पोष्टग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पिजिआईएमईआर) चण्डिगढबाट रेडिएसन अंकोलोजीमा पोष्ट ग्राजुयट गर्नुभयो । 

नेपाल फर्किँदा देखिएको कटु यथार्थ
शुरुमा सिभिल सर्भिस अस्पतालमा करिब ६ वर्ष काम गर्नुभयो । त्यो समयमा लिनियाक एक्सिलेटर  मेसिन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा मात्र उपलब्ध थियो । धेरै बिरामी रेडिएसन थेरापीका लागि भारत वा अन्य देश जान बाध्य थिए ।
काठमाडौं क्यान्सर सेन्टरः बाध्यताबाट सम्भावनासम्म
त्यतिबेला आफ्नै परिवारमा कसैलाई क्यान्सर भएमा विदेश जानुपर्ने बाध्यता थियो।

त्यसैले नेपालमै राम्रो क्यान्सर सेन्टर बनाउने अठोटका साथ डा. सापकोटा र उहाँको टिम काठमाडौं क्यान्सर सेन्टर (केसिसि) सञ्चालनमा ल्याउन सफल भयो । काठमाडौंमा पहिलो अत्याधुनिक लिनियाक एक्सिलेटर मेसिन केसिसिले भित्र्यायो। त्यो बेला इन्टेन्सिटी–मोडुलेटेड रेडिएसन थेरापी (आईएमआरटी), भोल्युमेट्रिक मोडुलेटेड आर्क थेरापी (भिम्याट) जस्ता एडभान्स रेडिएसन प्रविधि नेपालमा नियमित र मुख्यधारमा ल्याउने काम केसिसिले  गर्यो ।

आईएमआरटी भनेको किरण (रेडिएसन) को तीव्रता नियन्त्रण गरेर क्यान्सरको ट्युमरमा अत्यन्तै सटीक रूपमा रेडिएसन दिने आधुनिक उपचार विधि हो । यसैगरी भिम्याट भनेको मेसिन घुम्दै (आर्क बनाएर) ट्युमर वरिपरि रेडिएसन दिने अत्याधुनिक प्रविधि हो । यो आईएमआरटी भन्दा छिटो हुन्छ र अझ सटीक उपचार सम्भव हुन्छ ।
नेपालमै दुर्लभ र अत्याधुनिक उपचार
बोन म्यारो ट्रान्सप्लान्टका लागि टोटल बडी रेडिएसन(टिबिआई) नेपालमा हाल केसिसिमा मात्र छ ।  ‘छालाको क्यान्सर (माइकोसिस फन्गोइडिस) मा टोटल स्किन इलेक्ट्रोन थेरापीको सुविधा नेपालमा केसिसि मात्र हो । यो सुविधा  अन्तर्राष्ट्रिय रूपमा पनि सीमित केन्द्रमा छन् ।  ब्रेकीथेरापी पहिले सर्भाइकल क्यान्सरमा मात्र सीमित थियो । तर केसिसिले फोक्सो, कलेजो, ओठको क्यान्सरमा पनि सफलतापूर्वक प्रयोगमा ल्यायो । यसका उपचार परिणाम अत्यन्तै उत्साहजनक छन्। डा. सापकोटाको टिमले गरेकोरिसर्चका आधारमा देश–विदेशका सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने निम्तो आइरहन्छ।

अष्ट्रेलियन ब्राकीथेरापी सोसाइटीमा टिम लिडरको रुपमा डा. सापकोटोले गरेको प्रस्तुति निकै प्रशंसनीयय थियो । इन्डियन ब्राकीथेरापी सोसाइटीमा केसिसिको रिसर्चपहिलो नम्बरमा परेको थियो ।


क्यान्सरको सम्पूर्ण उपचार नेपालमै
‘क्यान्सरको सम्पूर्ण उपचार एउटै छातामुनि नेपालमै होस् भन्ने थियो । आज प्रायः क्यान्सरका सबै उपचार नेपालमै सम्भव बनिसकेका छन् । यो हाम्रो सामूहिक प्रयासको परिणाम हो ।’—डा. सापकोटा बताउनुहुन्छ ।
डाक्टर बन्ने सपना र यथार्थ
‘शुरुका दिनमा मैले पढेको सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्न सकेको थिइनँ । त्यो बेला मलाई पनि बाहिर जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो। तर निरन्तरको मिहिनेतले हामी वर्षमा करिब १५ वटा रिसर्च पेपर प्रस्तुत गर्न सफल भएका छौं । क्लिनिकल र रिसर्च दुवै गर्न पाएकोमा म सन्तुष्ट छु ।’—डा. सापकोटा भन्नुहुन्छ—मलाई पढाउने प्राध्यापकले भन्नुहुन्थ्यो—‘मेडिकल फिल्डमा आएपछि दैनिक अपटुडेट भइरहनुपर्छ ।’ आज पनि सिक्ने प्रयास जारी छ । बिरामीको रोग मात्र नभई परिवारको आर्थिक र मानसिक समस्या बुझेर उपचार गर्नुपर्छ । यो मेरो पेशाको दायित्व हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप क्यान्सर