नेपाल हेल्थ न्युज, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार भएको आगलागीका कारण आइतबार (आज) र सोमबार (भोलि) दुई दिनसम्म आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले दिएको जानकारी अनुसार, अस्पतालको ओपीडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएको हो। सो कोठामा अस्पतालमा दिनहुँ प्रयोग हुने औषधी, उपकरण र अन्य सामग्रीहरू राखिने गरिन्थ्यो। आगलागीबाट ओपीडी, मेडिकल स्टोर र फार्मेसीमा गम्भीर क्षति पुगेको छ।
अस्पतालको भ्याक्सिन स्टोरमा रहेको फ्रिजबाट विद्युत सट भई आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट करिब तीन देखि चार करोड रुपैयाँ बराबरको क्षति भएको छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरी, दमकल र अस्पताल प्रशासनको सहकार्यमा आगो नियन्त्रणमा लिइए पनि धेरैजसो सामग्री जलेर नष्ट भइसकेका छन्। उपकरण, औषधी, प्रयोगशाला सामग्री र फार्मेसीमा रहेका औषधीहरूमध्ये धेरै नष्ट भएका छन्।
यो अवस्थाका कारण अस्पतालले आइतबार र सोमबारका लागि ओपीडी सेवा, ल्याब परीक्षण र अन्य नियमित स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो। यद्यपि, आकस्मिक (इमर्जेन्सी) सेवा भने यथावत् सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ।
डा. सुवेदीका अनुसार, क्षतिको मूल्यांकन भइरहेको छ र सेवाहरू पुनः सुचारु गर्न केही दिन लाग्न सक्ने सम्भावना छ। अस्पतालले सर्वसाधारणसँग सेवाको असुविधाका लागि क्षमायाचना गर्दै वैकल्पिक स्वास्थ्य सेवा केन्द्रहरूमा जान अनुरोध पनि गरेको छ।
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
