नेपाल हेल्थ न्युज, विराटनगर । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ मा एक अर्ब रुपैयाँको अनुमानित लगानीमा औषधि उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ। एलेक्सा लाइफ साइन्सेस प्रालिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय औषधि उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग स्थापना गरिरहेको हो।
कम्पनीका अध्यक्ष दिनेशकुमार स्वर्णकारका अनुसार हालसम्म उद्योग निर्माणमा करिब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ भने थप २५ करोड लगानी गरेपछि पूर्ण रूपमा निर्माण सम्पन्न हुने बताइएको छ। प्रारम्भिक चरणमा स्लाइन उत्पादन हुने उद्योगले दोस्रो चरणमा विभिन्न साइजका एसभीपी सिसा इन्जेक्सन उत्पादन गर्नेछ। अन्तिम चरणमा भने आँखा र कानका लागि आवश्यक ड्रप उत्पादन सुरु गरिनेछ।
हाल नेपालमा सञ्चालनमा रहेका लगभग ११ वटा औषधि कम्पनीमध्ये केवल एक स्वदेशी कम्पनीले मात्र पूर्ण क्षमतामा काम गरिरहेको छ। यस्तो अवस्थामा एलेक्सा लाइफ साइन्सेस सञ्चालनमा आएपछि यो उद्योग देशकै ठूलो र स्तरीय बन्ने सम्भावना रहेको स्वर्णकारले बताउनुभयो।
नेपालको औषधि बजारको वार्षिक कारोबार करिब ६० अर्ब रुपैयाँको भए पनि यसमा ६५ प्रतिशत हिस्सा विदेशी कम्पनीहरूले ओगटिरहेका छन्। स्वर्णकारका अनुसार औषधि नीतिको कमजोरी र स्वदेशी उद्योगलाई पर्याप्त प्रोत्साहन नदिईनु नै यसको मुख्य कारण हो। औषधि व्यवस्था विभागमा १०० भन्दा बढी कम्पनी दर्ता रहे पनि सक्रिय रूपमा सञ्चालनमा रहने कम्पनीको संख्या करिब ७५ मात्र छ।
एलेक्साका निर्देशक रञ्जित भगतका अनुसार धेरैजसो उद्योगहरूले एउटै प्रकारका औषधि उत्पादन गर्ने गरेकाले प्रतिस्पर्धा तीव्र छ र छोटो बजार हिस्सा बाँडिन पुगेको छ। यसको प्रभाव स्वरूप केवल २०–२५ कम्पनी मात्र ठीकठाक सञ्चालनमा छन् भने अन्यको अवस्था कमजोर रहेको छ।
स्वर्णकारले उद्योग सञ्चालनका क्रममा विभिन्न अवरोधहरू पनि रहेको उल्लेख गरेका छन् — जस्तै नियमित विद्युत् आपूर्तिको अभाव, उत्पादन सामग्रीमा लाग्ने उच्च भन्सार शुल्क, मूल्य अभिवृद्धि करको भार, र समयमै स्वास्थ्य बिमाको भुक्तानी नहुँदा पर्न सक्ने असरहरू।
त्यसैगरी, एउटै खालका औषधिहरू स्वदेशी रूपमा उत्पादन भइरहेका भए पनि विदेशी औषधिको खुला आयातका कारण स्थानिय उत्पादनको बजार विस्तारमा कठिनाइ आएको स्वर्णकारको भनाइ छ। साथै, विगत १०–१५ वर्ष यता केही औषधिहरूको खुद्रा मूल्यमा परिवर्तन नभएकोले लागत र आम्दानीको असन्तुलन सिर्जना भएको पनि उहाँले बताउनुभयो।

औषधि लिमिटेडबाट सिटामोल र जीवनजल खरिद प्रक्रिया सुरु
बुधबार, वैशाख ३१, २०८२
भरतपुर अस्पताल र नेपाल औषधि लिमिटेडबीच औषधि आपूर्तिसम्बन्धी सम्झौता
बुधबार, वैशाख ३१, २०८२
गाजाको अस्पतालमा इजरायली आक्रमण, ६ बम खसालिँदा २८ को मृत्यु दर्जनौँ घाइते
बुधबार, वैशाख ३१, २०८२