नेपाल हेलथ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा कार्यरत चिकित्सक डा. सरोज साहमाथि कार्यस्थलमै भएको सांघातिक आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार ड्युटीमा रहेका बेला डा. साहमाथि बिरामीका आफन्तलगायतको समूहले गरेको आक्रमणको घोर भत्सर्ना गरेको हो।
स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न स्थानमा पटक–पटक यस्ता आपराधिक घटना भइरहेको भन्दै संघले घटनाले चिकित्सकको पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर असर पुर्याएको जनाएको छ।
संघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अमानवीय घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानूनको दायरामा ल्याउनुपर्छ।”
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्व राज दवाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
संघले स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा सेवा प्रदान गर्ने अवस्था सुनिश्चित गर्न तथा यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ।
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३

