नेपाल हेल्थ न्युज, काठमाडौं । पाँच वर्षमुनिका बालबालिकालाई दिइँदै आएको पोषण भत्ता विस्तार र वृद्धि गर्नुपर्ने विषयमा सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिका सांसदहरू, स्वास्थ्य तथा शिक्षा समितिका सदस्यहरू र बाल अधिकारमा क्रियाशील जनप्रतिनिधिहरूले पोषण क्षेत्रमा थप लगानीको माग गरेका हुन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले हाल ५ वर्षमुनिका बालबालिकालाई दिइँदै आएको पोषण भत्ता अहिले ५८ जिल्लामा मात्र पुगेको र अब यो भत्ता बाँकी १९ जिल्लामा पनि विस्तार गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो। उहाँले सरकारले पोषण भत्ता वृद्धि गर्ने विषयमा गम्भीर छलफल गरिरहेको पनि बताउनुभयो।
बाल अधिकारका लागि संसदीय समूहका संयोजक रञ्जुकुमारी झाले सामाजिक सुरक्षा भत्ता आवश्यकता पहिचानका आधारमा उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो। उहाँका अनुसार, “बालबालिकाको पोषणमा गरिएको लगानी दीर्घकालीन समृद्धिमा योगदान दिन्छ।”
स्वास्थ्य तथा शिक्षा समितिका सभापति अम्बर बहादुर थापाले बालबालिकाको पोषणमा लगानी वृद्धि गरिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले बालबालिकाको पोषण सुनिश्चित नगरेसम्म समतामूलक समाज सम्भव नरहने बताउनुभयो।
सांसदहरूले पोषण भत्ताको दायरा विस्तारसँगै वर्तमान ८ सय रुपैयाँ भत्ता वृद्धि गर्न, लक्षित वर्ग पहिचान गरी प्रभावकारी वितरण सुनिश्चित गर्न र समन्वयका लागि स्थानीय सरकारसँग सहकार्य बढाउन सरकारलाई आग्रह गरेका छन्।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
