नेपाल हेल्थ न्युज, धनगढी । कैलाली — ७ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भइसकेको गेटा अस्पतालमा उपकरण खरिदको नाममा व्यापक अनियमितता भएको खुलासा भएको छ। पूर्वाधार तयार भए पनि अस्पताल सञ्चालन, मेडिकल कलेज सुरु र विश्वविद्यालय स्थापनाका विषयमा चासोभन्दा बढी ध्यान उपकरण खरिदमा देखिएको छ।
वीर अस्पताल काठमाडौंबाट सरुवा भएर चैत १४ गते गेटा अस्पताल आएका डा. प्रदीपकुमार यादवले एक साताभित्रै १७ वटा उपकरण खरिदका टेन्डर आह्वान गर्नुभयो। तीमध्ये धेरै टेन्डर खरिद ऐन र भ्रष्टाचार निवारण ऐन विपरीत रहेको आरोप लागेको छ।
एकल आपूर्तिकर्तालाई फाइदा पुग्ने गरी टेन्डर प्याकेजिङ
धेरै टेन्डरहरूमा खास कम्पनीका मोडेल नामै उल्लेख गरेर स्पेसिफिकेसन तयार पारिएको छ। उदाहरणस्वरूप, मेडिकल ग्यास पाइपलाइनको टेन्डरमा GCE मेडिकल कम्पनीको MC-80 Duplex मोडेल तोकिएको छ। यस्तै, पाठेघरको क्यान्सर जाँच गर्ने मेसिनमा पनि निश्चित कम्पनीको उत्पादन मिल्ने गरी बुँदाहरू राखिएको पाइयो।
आईसीयू उपकरण टेन्डरमा त झन अटोमेटिक ट्राचियल सेक्रेशन रिमोभल डिभाइस नामको मेसिनसँगै अन्य करोडौंका उपकरण राखेर एम केयर टेक्नोलोजीलाई मात्र फाइदा पुग्ने गरी प्याकेज बनाइएको देखिएको छ।
स्पेसिफिकेसन तयारीमा पनि सेटिङको आशंका
गेटा अस्पतालमै कार्यरत बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतलाई बाइपास गर्दै काठमाडौँबाट अर्का इन्जिनियरलाई बोलाएर टेन्डर स्पेसिफिकेसन तयार गरिएको छ। चाखलाग्दो कुरा के छ भने काज सरुवा भएको मितिभन्दा अगाडि नै उनले टेन्डर तयार गरेको देखिन्छ। पाँच दिनमै १३ वटा टेन्डरको स्पेसिफिकेसन तयार पार्न सकिने सम्भावनामा पनि प्रश्न उठेको छ।
कानुनी प्रावधानहरूको उल्लंघन
खरिद ऐनको दफा ३ (क) अनुसार एक आपसमा असम्बन्धित वस्तुहरू एउटै प्याकेजमा राख्न नपाइने व्यवस्था छ। तर गेटा अस्पतालका अधिकांश टेन्डरमा यस्तै अनियमित प्याकेजिङ देखिएको छ। भ्रष्टाचार निवारण ऐन अनुसार प्रतिस्पर्धा सीमित हुने गरी टेन्डर बनाउनु आपराधिक कार्य हो र त्यसमा तीन वर्षसम्मको कैद सजायको व्यवस्था छ।
निर्देशकको प्रतिक्रिया
निर्देशक डा. यादवले भने आफूले सबै प्रक्रिया कानुनअनुसार नै गरेको दाबी गरेका छन्। “स्पेसिफिकेसन मन नपरेपछि नयाँ इन्जिनियरलाई जिम्मा दिएको हो। प्रक्रिया अनुसार प्रिबिड मिटिङ पनि गरिएको छ,” उहाँले भन्नुभयो।
बृहत् संरचना तर अस्पष्ट योजना
सरकारले गेटा अस्पतालको संरचनामा ६ अर्ब ६८ करोडभन्दा बढी लगानी गरिसकेको छ। ६ सय शय्याको अस्पताल भवन, मेडिकल कलेज, प्रशासनिक भवन, आवासहरू, अक्सिजन प्लान्ट, शवगृहलगायतका संरचना बनिसकेका छन्। तर अझै पनि ५० शय्याको अस्थायी अस्पताल मात्र सञ्चालनमा छ, र अस्थायी दरबन्दीसमेत नवीकरण भएको छैन।
स्थानियको माग, अस्पताल सञ्चालनलाई प्राथमिकता दे
सेती प्रादेशिक अस्पतालका पूर्वमेसु डा. शुभेषराज कायस्थ भन्नुहुन्छ, “उपकरण मात्रै होइन, जनशक्ति, स्थायी दरबन्दी, र कार्यान्वयनमा ध्यान दिनुपर्छ। यो सुदूरपश्चिमको सपना हो, यसलाई योजना अनुसार अघि बढाइनुपर्छ।”
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
