नेपाल हेल्थ न्युज, काठमाडौँ । वीर अस्पतालको सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको पहलमा एक विशेष कार्यदल गठन गरिएको छ। वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायको संयोजकत्वमा गठन भएको यो तीन सदस्यीय टोलीले अस्पतालको स्रोत, संरचना र सेवाको समग्र मूल्याङ्कन गर्दै आवश्यक सुधारका उपायहरू सुझाउनेछ।
कार्यदलमा स्वास्थ्य व्यवस्थापनका जानकार दीपक मोहन भट्टराई र डा. सुरेश तिवारी पनि समावेश हुनुहुन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो टोलीलाई अस्पतालमा कार्यरत जनशक्ति तथा प्रविधिको प्रभावकारी उपयोग सम्बन्धमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।
फार्मेसी, रेडियोलोजी, प्याथोलोजी र अर्थोपेडिक्सजस्ता विभागहरूको सेवा अवस्था तथा प्रयोग भइरहेका उपकरणको प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधारका उपायहरू पेश गर्न पनि कार्यदललाई भनिएको छ। साथै अस्पतालको प्रशासनिक तथा आर्थिक पक्षमा देखिएका जटिलताहरूको समाधानबारे सुझाव दिनुपर्नेछ।
डिजिटल प्रविधिको प्रयोगमार्फत अस्पताल व्यवस्थापनमा पारदर्शिता र कार्यक्षमता बढाउनका लागि देखिएका चुनौतीहरूको विश्लेषण गर्दै भावी योजनाहरूसमेत प्रस्तुत गर्न कार्यदललाई निर्देश दिइएको छ।
यसअघि मन्त्री पौडेलले अस्पतालमा बिग्रिएर नचलिरहेका उपकरणहरूको मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्नुभएको थियो। महावीर पुनको नेतृत्वमा रहेको उक्त केन्द्रले थुप्रै उपकरणहरू न्यून लागतमा मर्मत गरी पुनः प्रयोगमा ल्याउन सफल भएको थियो।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले कार्यदलको सुझाव कार्यान्वयनमा लैजान सक्दो प्रयास गरिने जानकारी दिनुभएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
