नेभिगेशन

सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव: सर्जिकल सेवा ठप्प

नेपाल हेल्थ न्युज, सिन्धुलीमाढी । सिन्धुली जिल्लाको सबैभन्दा ठूलो स्वास्थ्य संस्था सिन्धुली अस्पताल हाल विशेषज्ञ चिकित्सकको अभावका कारण सेवा प्रवाहमा बाधा आइरहेको छ।

पछिल्लो वर्ष ५० श्य्याको अस्पताललाई १०० श्य्यामा विस्तार गरी प्रादेशिक अस्पतालका रूपमा उन्नयन गरिएको भए पनि चिकित्सक अभावका कारण त्यसअनुसारको सेवा दिन सकिएको छैन। अस्पताल स्रोतका अनुसार ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये हाल ६ जना चिकित्सकको पद रिक्त रहेको छ। यस्तै, ९ जना मेडिकल अधिकृतको दरबन्दीमध्ये पनि १ जना अधिकृतको सरुवापछि त्यो पद खाली भएको छ।

विशेषगरी एनेस्थेसिया (बेहोस बनाउने) विशेषज्ञको नहुँदा जेठ १ गतेदेखि सबै प्रकारका सर्जिकल सेवा रोकिएको छ। अस्पतालका निमित्त निर्देशक डा. अभिषेक थपलियाका अनुसार दुई वर्षे करारमा आएका एनेस्थेसिया चिकित्सकको अवधि वैशाख अन्त्यसँगै सकिएपछि समस्या भएको हो। “स्थायी दरबन्दीमा आएका चिकित्सक पहिले नै सरुवा भइसकेका थिए। करार अवधि सकिएपछि अहिले सबै अप्रेसन बन्द छन्,” उहाँले जानकारी दिनुभयो।

अस्पतालले साउन र फागुन महिनामा गरी दुई पटक विज्ञापन गरे पनि एनेस्थेसिया पदमा कुनै पनि दरखास्त नपरेको बताइएको छ। मेडिकल अधिकृतको पद स्थानीय तहबाट करारमार्फत पूर्ति गरिएको छ।

दैनिक ३५० भन्दा बढी बिरामी ओपीडी तथा आकस्मिक कक्षमार्फत सेवा लिन आउने गरेका छन्। यद्यपि, सिटिस्क्यान सेवा उपलब्ध हुँदाहुँदै पनि दुई वर्षदेखि रेडियोलोजिष्टको अभाव रहँदा सो सेवा काठमाडौंस्थित अस्पतालसँग समन्वय गरी सञ्चालन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष शतिशचन्द्र ढकालले बताउनुभयो।

नाक, कान, घाँटी तथा छालासम्बन्धी विशेषज्ञ चिकित्सक पनि नभएको अस्पतालले जनाएको छ।

भौतिक पूर्वाधारको हकमा पनि समस्या उत्तिकै रहेको देखिएको छ। प्रदेश सरकारले १०० श्य्याको अस्पताल घोषणा गरे पनि आवश्यक भवनको अभावले हाल ८५ श्य्या मात्र सञ्चालन भइरहेको छ। चिकित्सकका लागि बसोबासको क्वाटरसमेत पर्याप्त नभएको अध्यक्ष ढकालको भनाइ छ।

पाँच वर्षअघि सेवा दिँदै आएको पुरानो भवन भत्काएर त्यही स्थानमा चार ब्लकको अपाङ्गमैत्री ( लिफ्टसहितको ) नयाँ भवन निर्माण गरिएको छ। यद्यपि, त्यो भवनबाट पनि १०० श्य्याको सेवा सम्हाल्न सकिने अवस्थामा छैन। संघीय सरकारको सहयोगमा २१ करोड ९८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको क्षमताअनुसार थप पूर्वाधार आवश्यक रहेको बताइएको छ।

अस्पताल विकास समितिले शहरी विकास कार्यालयमार्फत प्रदेश सरकार हुँदै संघीय स्वास्थ्य मन्त्रालयमा नयाँ भवन निर्माणका लागि प्रस्ताव पठाइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट