नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह (मे ११–१७) र विश्व मायोपिया सचेतना सप्ताह (मे १९–२५) को अवसरमा नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिष्ठानले काठमाडौं लगायत देशभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल केन्द्रहरूमा सचेतनामूलक गतिविधिहरू संचालन गरेको जानकारी दिएको छ। प्रतिष्ठान परिसरमै सचेतना डेस्क स्थापना, भिडियो सामग्री प्रदर्शन, सामाजिक सञ्जाल मार्फत जानकारी प्रवाह तथा विभिन्न जिल्लामा रेडियो कार्यक्रमद्वारा जनचेतना फैलाइएको बताइएको छ।
रेटिनोब्लास्टोमा अर्थात् बालबालिकाको आँखामा हुने दुर्लभ क्यान्सरबारे सचेत गराउन प्रतिष्ठानले विशेष जोड दिएको छ। प्रतिष्ठानको अकुलोप्लास्टि तथा अकुलर अंकोलोजी विभाग प्रमुख डा। पूर्णिमा राजकर्णिकारका अनुसार अँध्यारो कोठामा तस्बिर खिच्दा आँखाको नानीमा सेतो टिका देखिनु, आँखाको अस्वाभाविक रातोपन, आकार बढ्दै जानु, आँखाको डेढोपन तथा सुख्खापन जस्ता लक्षणहरू रेटिनोब्लास्टोमाका संकेत हुन सक्छन्।
यी लक्षणहरू पहिचान गर्न सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठानले ओपन आइज नेपाल सँगको सहकार्यमा वैशाख २८ देखि जेष्ठ ३ गतेसम्म निःशुल्क ओपीडी सेवा, उपचार तथा प्रोस्थेसीस सफाइको व्यवस्था गरेको थियो।
त्यस्तै, मायोपिया (टाढा भएका वस्तुहरू हेर्न कठिनाइ हुने समस्या) सम्बन्धी सचेतना सप्ताह जेठ ५ देखि ११ गतेसम्म सञ्चालन भइरहेको छ। यस वर्षको नारा “स्क्रिन तल, आँखामाथि” रहेको छ — जसले डिजिटल स्क्रिनको अधिक प्रयोगले दृष्टिमा पर्ने असरबारे जनचेतना जगाउने उद्देश्य राखेको छ।
बाल आँखा रोग विशेषज्ञ तथा प्रतिष्ठानकी डेप्युटी डाइरेक्टर डा.सिर्जना अधिकारीका अनुसार, मायोपिया रोकथामका लागि बालबालिकालाई नियमित रूपमा बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नु, मोबाइल–टिभी स्क्रिनको प्रयोग न्यून गर्न लगाउनु, प्रत्येक २० मिनेटको अन्तरालमा २० फिट टाढा हेर्ने बानी बसाल्नु र विद्यालय भर्ना अघि अनिवार्य रूपमा आँखाको परीक्षण गराउनु आवश्यक छ।
तिलगंगा आँखा प्रतिष्ठानले यस्ता कार्यक्रमहरूद्वारा आम जनसमुदायमा आँखासम्बन्धी रोगप्रति समयमै चेतना फैलाएर दृष्टि गुम्नबाट जोगाउने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
औषधिको मूल्यवृद्धिमा अर्बौँ अनियमितता, सांसद खत्रीले गरे कारबाहीको माग
बुधबार, चैत २५, २०८२
वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस प्रकरणमा मुद्दा दायर
बुधबार, चैत २५, २०८२
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण
बुधबार, चैत २५, २०८२
आज दशौँ स्वास्थ्य बीमा दिवस
बुधबार, चैत २५, २०८२
