नेभिगेशन
जीवनशैली

तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ 

अझ धेरै स्टोरी लेख्नुछ,  अझ धेरै जिन्दगी बाँकी छ 

बिहान ६ बजे तीनकुनेको जिम हलमा एकजना महिला टमाटर जस्तै अनुहार बनाएर ट्रेडमिलमा दौडिरहेकी हुन्छिन् । उनको अनुहार चिने जस्तो लाग्छ । उनी पत्रकार शारदा खनाल रहिछन् । कहिले आफ्नो रिपोर्टिङमा मन्त्रीको लवाइखवाइ चिरफार गर्ने उनी अहिले आफूलाई नै अनुशासनमा राख्न संघर्षरत छिन् ।

‘तपाईंको ब्लडप्रेसर (बीपी) बढिरहेको छ, तौल पनि नियन्त्रणमा छैन । त्यसैले मधुमेहको खतरा छ’ भन्ने चिकित्सकको चेतावनीले उनी झस्किइन् । त्यसपछि मोटोपनाविरुद्धको उनीप्रतिको व्यक्तिगत युद्ध सुरु भयो   । तर शारदा मात्र होइनन् । उनीजस्तै लाखौं नेपाली अहिले मोटोपनाको चपेटामा छन् । मोटोपन रोग हो । यो जीवनशैलीसँग गाँसिएको, समाज, अर्थतन्त्र र राष्ट्रिय स्वास्थ्य प्रणालीलाई असर पार्ने रोग नै हो ।

मोटोपनाः बढ्दो शहरी रोग
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले २०७८ सालमा गरेको सर्वेक्षण अनुसार नेपालका शहरी क्षेत्रमा ३० प्रतिशत मानिस मोटोपनाको उच्च जोखिममा रहेका छन् । विशेषतः महिला, कार्यालयमा काम गर्ने व्यक्ति, निजी विद्यालयका बालबालिका मोटोपनाको चपेटामा छन् । ‘फेसबुक स्क्रोल गर्नुभन्दा केही घण्टा फुर्सदमा हिँड्नुभयो भने पनि ठूलो परिवर्तन आउँछ भन्छन् पोखराका फिटनेस इन्फ्लुएन्सर सागर पौडेल । उनी एक वर्षअगाडि १०५ किलोका थिए । अहिले ७८ किलोमा सीमित छन् । ‘पहिला ब्यूटीफुल लाग्न जिम जान्थेँ, अहिले हेल्दी हुन जान्छु’—उनी हाँस्छन् ।

तौल किन बढ्छ ? कारणहरू गम्भीर छन्
 

खानपानमा असन्तुलन– चाउचाउ, बर्गर, प्याकेट फूड भान्साको अपरिहार्य भाग बनिसकेको छ ।

 

शारीरिक श्रमको अभाव– अधिकांश नेपालीको जीवनशैली बसिरहने र सवारीसाधनमा निर्भर हुने भएको छ ।

 

तनाव र निद्राको कमी– मानसिक थकान, अल्छी जीवनशैली र डिजिटल लतले पनि मोटोपनालाई बढावा दिएको छ ।

अनुवांशिक कारण– केहीमा हर्मोन, थाइराइड र इन्सुलिन असन्तुलनले मोटोपनाको भूमिका खेल्छ ।

अन्तर्राष्ट्रिय अनुसन्धान के भन्छन् ?
अमेरिकाको हार्वर्ड पब्लिक हेल्थ स्कुलको अध्ययनले दैनिक ३० मिनेटको व्यायामले तौल घटाउने मात्र नभई मुटु रोग र क्यान्सरको जोखिमसमेत कम गर्ने देखाएको छ ।  ल्यान्सेट जर्नलको २०२१ को अनुसन्धानले भनेको भनेको छ—‘सम्बन्धि देशका सरकारले स्वस्थ खाना प्रवद्र्धन गर्ने, जंक फूडमाथि कर लगाउने र साइकल ट्र्याक बनाउने जस्ता नीति ल्याउन सकेमा मात्र दीर्घकालीन सुधार सम्भव छ । जापानले सुरु गरेको ‘मेटाबोलिक सिन्ड्रोम चेक’ कार्यक्रमले त नागरिकको पेट नापेर रोग नियन्त्रण गरिरहेको छ । 
wet-loss1-1748413772.jpg
शारदाको ८ किलो यात्रा
काठमाडौंकी पत्रकार शारदाले तौल घटाउने निर्णय लिँदा उनका साथीहरूले उडाउने जस्तै गरे । अब त ४० कटिसकेको मान्छे, के घटाउने तौल ? भन्नेहरू पनि कम थिएनन् । तर उनी अडिइनन् । ‘सुरुमा चिनी कटौटी गरेँ । त्यसपछि बिहान ३० मिनेट हिँड्न थालेँ । बेलुकी तातो पानी र फलफूल खान थालेँ । ६ महिनामा ८ किलो तौल घटाएँ ।’—उनी भन्छिन्—‘बाहिरी रूप बदलिएको होला । तर आत्मविश्वास भने झनै बढेको छ ।’

नेपालमा के भइरहेको छ ?
नेपाल सरकारले विद्यालयस्तरमा पोषण शिक्षा र व्यायामप्रति चेतना अभिवृद्धि गर्न थालेको भनिएपनि यो अझै कागजमै सीमित छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्—‘जंक फूड नियन्त्रण गर्न कानुन चाहिन्छ । विद्यालय वरपर फास्ट फूड स्टल हटाउने प्रयास गर्छौं । तर राजनीतिक दबाब आउँछ ।’ त्यहीबीच निजी जिम सेन्टर, योग क्लास र फिटनेस च्यानलले नेपाली युवाहरूमाझ मोटोपना घटाउने अभियानमा नयाँ उर्जा ल्याएका छन् ।

अबको बाटोः समाधान के हो ?
खानपानमा सुधार–
लोकल, सिजनल खाना खाने, चिनी, तेल र नुन कम गर्ने ।

शारीरिक सक्रियता– हरेक दिन कम्तिमा ३० मिनेट हिँड्ने वा व्यायाम गर्ने ।

नीद र तनाव सन्तुलन– गहिरो निद्रा र तनाव न्यूनीकरणले हर्मोनमा सुधार हुन्छ ।

सामाजिक समर्थन– परिवार र साथीहरूको साथले लक्ष्यमा पुग्न सजिलो हुन्छ ।

नीतिगत तहबाट पहल– बजार नियन्त्रण, पोषण अनुगमन र सार्वजनिक स्वास्थ्य शिक्षा आवश्यक ।

जीवन तौलले होइन, सोचले तोकिन्छ
मोटोपना कुनै एक व्यक्ति मात्रको कथा होइन । यो हाम्रो समय, खानपान र समाजको प्रतिबिम्ब हो । यसको समाधान पनि सामूहिक प्रयासमै सम्भव छ । शारदाले ट्रेडमिलमा पसिना बगाउँदा बगाउँदै भन्छिन्—‘अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ किनभने अझ धेरै स्टोरी लेख्नुछ । अझ धेरै जिन्दगी बाँकी छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फिगर एण्ड फिटनेश