नेपाल हेल्थ न्युज, काठमाडौं । कुनै समय नेपालमा बाथरोग (रियुम्याटिक रोग) भन्नेबित्तिकै धेरैको बुझाइ घुँडा दुख्ने, उमेरसँगै हुने सामान्य समस्या वा जीवनभर सहेर बस्नुपर्ने पीडासँग जोडिन्थ्यो । जोर्नी सुन्निने, बिहान उठ्दा शरीर अरठ्ठ हुने, मेरुदण्ड दुख्ने वा अटोइम्युन रोगका कारण शरीरका विभिन्न अंग प्रभावित हुने समस्यालाई धेरैले समयमै रोगका रूपमा चिन्दैनथे । विशेषज्ञ सेवा सीमित थियो, अनुसन्धान न्यून थियो र जनचेतनाको अवस्था पनि सन्तोषजनक थिएन ।
यही अवस्थामा सन् २०१२ मा काठमाडौंको रातोपुलस्थित एउटा सानो घरबाट सुरु भएको नेशनल बाथरोग सेन्टर आज १३ वर्ष पूरा गर्दै देशव्यापी बाथरोग सेवाको एउटा महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।
उपचार, जनचेतना र अनुसन्धानलाई समान महत्व दिँदै अघि बढेको सेन्टरले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा नयाँ अभियान ‘रुमा फ्युजन नेटवर्क’ सार्वजनिक गर्दै बाथरोग उपचारलाई थप वैज्ञानिक, अनुसन्धानमुखी र समन्वित बनाउने लक्ष्य अघि सारेको छ ।
पीडामुक्त जीवनको सपनाबाट सुरु भएको यात्रा
१३ वर्षअघि नेपालमा बाथरोगसम्बन्धी विशेषज्ञ सेवा अत्यन्त सीमित थियो । बिरामीहरू सही निदानका लागि लामो समय भौंतारिन्थे । धेरैजसो अवस्थामा रोग पहिचान हुनुअघि नै जोर्नीमा स्थायी क्षति पुगिसकेको हुन्थ्यो ।यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यसहित सुरु भएको नेशनल बाथरोग सेन्टरले प्रारम्भदेखि नै एउटा स्पष्ट दृष्टिकोण बोकेको थियो—‘बाथरोगबाट पीडित व्यक्तिलाई समयमै सही निदान र उपचारमार्फत गुणस्तरीय जीवन प्रदान गर्ने ।’
निरन्तर सेवा, वैज्ञानिक उपचार पद्धति र बिरामीमैत्री दृष्टिकोणका कारण सेन्टरले क्रमशः बिरामीहरूको विश्वास जित्दै गयो । आज सेन्टरमा दैनिक करिब दुई सय बाथरोगका बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।
देशभर फैलिएको सेवा सञ्जाल
१३ वर्षको अवधिमा सेन्टरले आफ्नो सेवा राजधानीमा मात्र सीमित राखेन । अहिले काठमाडौंको रातोपुल, भक्तपुरको टेखापुखु, ललितपुरको युएन पार्क लेन कुपण्डोल, पोखराको मुस्ताङ चोक, झापाको शनिश्चरे रोड, बुटवलको सुखनगर, दाङको तुलसीपुर, चितवनको भरतपुर र धनगढी गरी देशका नौ स्थानबाट सेवा प्रदान गरिरहेको छ । साउन महिनादेखि सुर्खेतमा समेत सेवा विस्तार हुने तयारी भइरहेको छ ।
स्वास्थ्य सेवाको विकेन्द्रीकरणको सन्दर्भमा यो विस्तार महत्वपूर्ण मानिएको छ । किनभने बाथरोगजस्ता दीर्घकालीन रोगका बिरामीलाई नियमित फलोअप आवश्यक हुन्छ । विशेषज्ञ सेवा राजधानी बाहिर पुग्दा बिरामीको आर्थिक तथा मानसिक भार दुवै कम हुन्छ ।
‘रुमा फ्युजन नेटवर्क’: अनुसन्धान र सहकार्यको नयाँ अध्याय
१३औँ वार्षिकोत्सवको मुख्य आकर्षणका रूपमा सेन्टरले ‘रुमा फ्युजन नेटवर्क’ अभियान सार्वजनिक गरेको छ । यो अभियान बाथरोग तथा अटोइम्युन रोगको क्षेत्रमा कार्यरत अस्पताल, अनुसन्धान संस्था, चिकित्सक तथा विभिन्न डेटा प्रणालीलाई एउटै सहकार्यात्मक संरचनामा जोड्ने अवधारणामा आधारित छ । यसको मुख्य उद्देश्यहरूमा बाथरोगसम्बन्धी अनुसन्धानलाई सुदृढ बनाउने, क्लिनिकल ट्रायल सञ्चालन गर्ने, विभिन्न केन्द्रबीच वैज्ञानिक डेटा आदानप्रदान गर्ने, नयाँ उपचार पद्धति विकासमा सहकार्य गर्ने, अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान वातावरण निर्माण गर्ने जस्ता विषय समावेश छन् ।
नेपालमा बाथरोगसम्बन्धी अनुसन्धान अझै प्रारम्भिक अवस्थामै रहेको सन्दर्भमा यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार भविष्यको चिकित्सा सेवा केवल उपचारमा सीमित रहने छैन, अनुसन्धान र डेटा–आधारित निर्णय प्रक्रियाले नै स्वास्थ्य सेवाको गुणस्तर निर्धारण गर्नेछ ।
प्रारम्भिक पहिचानमा जोड
बाथरोग उपचारको सबैभन्दा ठूलो चुनौती भनेकै ढिलो निदान हो । विशेषज्ञहरूका अनुसार धेरै बिरामी अस्पताल पुग्दा रोगले जोर्नी वा अन्य अंगमा उल्लेखनीय क्षति पु¥याइसकेको हुन्छ । त्यसैले सेन्टरले यसपटक प्रारम्भिक पहिचानलाई प्राथमिकतामा राख्दै नेक्सन ल्याव सोलुसन सँगको सहकार्यमा डीआर–४ एचएलए परीक्षण सुरु गरेको छ । यो परीक्षणले विशेष प्रकारका बाथरोगहरूको जोखिम र पहिचानमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । सेन्टरको मूल सन्देश पनि यही छ—‘रोगको प्रारम्भिक चरणमै सही पहिचान गरौं, उपचारमा ढिलाइ नगरौं ।’
बाथरोग केवल घुँडा दुख्ने समस्या होइन
वार्षिकोत्सव समारोहमा बोल्दै सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित वैद्यले बाथरोगलाई सामान्य जोर्नी दुखाइका रूपमा मात्रै बुझ्ने प्रवृत्ति अझै कायम रहेको बताउनुभयो ।
उहाँका अनुसार बाथरोगमा रुमाटोइड आर्थराइटिस, एन्काइलोजिङ स्पोन्डिलाइटिस, ल्युपस, सोरियाटिक आर्थराइटिस, गाउट लगायत दर्जनौँ जटिल रोगहरू पर्छन् ।
यस्ता रोगको सुरुआती लक्षण सामान्य देखिए पनि समयमै उपचार नपाए स्थायी अपांगता, कार्यक्षमता ह्रास तथा जीवनस्तरमा गम्भीर असर पर्न सक्छ । डा. वैद्यले प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार सुरु गर्न सके बिरामीले सामान्य र सक्रिय जीवन बिताउन सक्ने बताउनुभयो ।
गुणस्तरीय जीवनमा केन्द्रित सेवा
कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमाले नेशनल बाथरोग सेन्टरले बाथरोग उपचार, जनचेतना, अनुसन्धान र बिरामीको जीवनस्तर सुधारमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य सेवाको मूल्य केवल रोग निको पार्नुमात्र नभई बिरामीलाई सम्मानजनक र गुणस्तरीय जीवन प्रदान गर्नु भएको उल्लेख गर्नुभयो ।

वास्तवमा बाथरोग उपचारको उद्देश्य पनि यही हो । पूर्ण रूपमा रोग हटाउन नसकिने अवस्थामा पनि पीडा नियन्त्रण, जोर्नीको कार्यक्षमता जोगाउने, मानसिक स्वास्थ्य सुधार गर्ने र बिरामीलाई सामाजिक तथा आर्थिक रूपमा सक्रिय बनाउने प्रयास आधुनिक बाथरोग उपचारको मूल लक्ष्य हो ।
आफ्नै अत्याधुनिक भवनतर्फ
१३ वर्षको यात्रासँगै सेन्टर अब अर्को चरणमा प्रवेश गर्न लागेको छ । प्रवन्ध निर्देशक रोशन कक्षपतिका अनुसार चाँडै नै काठमाडौंको जयबागेश्वरीस्थित सुविधासम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालन गरिनेछ । नयाँ भवनले विशेषज्ञ सेवा, अनुसन्धान, प्रशिक्षण तथा आधुनिक प्रविधिमा आधारित उपचारलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
हाल सेन्टरमा ११ जना बाथरोग विशेषज्ञ चिकित्सकसहित १०८ जना दक्ष जनशक्ति कार्यरत छन् । यो संख्या नेपालमा बाथरोग सेवाको विस्तार र संस्थागत विकासको संकेतका रूपमा हेरिएको छ ।
भविष्यतर्फको यात्रा
१३ वर्षको उपलब्धिलाई केवल संस्थागत उत्सवका रूपमा मात्र हेर्न मिल्दैन । यो नेपालमा बाथरोग उपचारको विकासक्रमको एउटा महत्वपूर्ण अध्याय पनि हो ।
कुनै समय सीमित चिकित्सक र सीमित सेवामा निर्भर रहेको क्षेत्र आज देशव्यापी सञ्जाल, अत्याधुनिक परीक्षण, अनुसन्धान र अन्तरसंस्थागत सहकार्यको दिशातर्फ अघि बढिरहेको छ । ‘रुमा फ्युजन नेटवर्क’ जस्ता अभियानले आगामी दिनमा नेपाललाई बाथरोग अनुसन्धान र उपचारको क्षेत्रमा क्षेत्रीय स्तरमै उदाहरणीय केन्द्र बनाउन सक्ने सम्भावना देखाएको छ ।
र अन्ततः यो यात्राको केन्द्रमा एउटै लक्ष्य छ—‘बाथरोगका कारण पीडित कुनै पनि नेपालीले पीडा होइन, गुणस्तरीय र सक्रिय जीवन बाँच्न पाओस् । ’
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३

