नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य सेवा नियमन, चिकित्सक व्यवस्थापन तथा कानुनी सुधारसँग सम्बन्धित १८ वटा महत्वपूर्ण निर्णय अनुमोदन गरेको छ।
हालै सम्पन्न काउन्सिलको पूर्ण बैठकले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षालाई थप पहुँचयोग्य बनाउन आगामी आर्थिक वर्षदेखि काठमाडौं उपत्यकाबाहिर समेत सञ्चालन गर्ने निर्णय गरेको हो। यस व्यवस्थाले देशका विभिन्न क्षेत्रका परीक्षार्थीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
बैठकले पछिल्लो समय बढ्दो अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न ‘एन्टी–क्वेकरी गाइडलाइन, २०८३’ लाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। उक्त मस्यौदालाई अन्तिम रूप दिन आवश्यक प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइने जनाइएको छ।
चिकित्सकहरूको विवरणलाई आधुनिक र व्यवस्थित ढंगले अभिलेखीकरण गर्न काउन्सिलले ‘नेशनल मेडिकल रजिस्ट्री’ निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ। यस अन्तर्गत काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको डिजिटल प्रोफाइल तयार गरिनेछ। साथै चिकित्सकहरूको शैक्षिक योग्यता तथा प्राप्त डिग्री सम्बन्धी विवरण काउन्सिलको आधिकारिक प्रणालीमार्फत नियमित अद्यावधिक गरिने योजना रहेको छ।
काउन्सिलले आफ्नो ऐन तथा नियमावलीमा आवश्यक संशोधनका विषयमा अध्ययन तथा सुझाव दिन एक कार्यदल समेत गठन गरेको छ। कार्यवाहक अध्यक्ष डा. कुन्जाङ शेर्पाको संयोजकत्वमा गठन गरिएको उक्त समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
काउन्सिलका अनुसार यी निर्णयहरूले स्वास्थ्य क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउने, चिकित्सकहरूको अभिलेख व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तथा सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने जनाइएको छ।



विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
