नेभिगेशन

नेपालमा ३८औँ क्यान्सर सर्भाइभर्स दिवस मनाइँदैः क्यान्सरबाट बाँचेकाहरूको सम्मान

नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले ३८ औँ क्यान्सर सर्भाइभर्स दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ । क्यान्सरबाट बाँच्न सफल भएका व्यक्तिहरूको संघर्ष, प्रेरणा र साहसलाई सम्मान गर्न सोसाइटीले जेठ १८ गते (जुन १) आइतबारका दिन सो कार्यक्रमको आयोजना गरेको हो । 

नेपालमा यसपटकको कार्यक्रम सनराइज क्याफे, मध्य बानेश्वरमा बिहान ११ बजेदेखि दिउँसो २ः३० बजेसम्म आयोजना गरिने आयोजक संस्थाले जनाएको छ । हरेक वर्ष जुन महिनाको पहिलो आइतबार विश्वव्यापी रूपमा  यो दिवस मनाइन्छ । 


नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष प्रमिता खनालका अनुसार, यस वर्षको कार्यक्रमको विशेष आकर्षणका रूपमा क्यान्सर सर्भाइभर तथा वरिष्ठ गायिका मिरा राणाको उपस्थितिमा साहसिक सर्भाइभर तथा साइकल यात्री नमिता बस्नेतलाई सम्मान गरिनेछ । साथै क्यान्सरबाट बाँचेकाहरूको लुकेको प्रतिभालाई उजागर गर्ने कार्यक्रम पनि रहेको छ ।


सर्भाइभर्स दिवसको सुरुवात् सन् १९८८ को जुन ५ मा अमेरिकाको न्यु मेक्सिकोमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि गरिएको थियो । यो दिवस मनाउने उद्देश्य क्यान्सर सर्भाइभरहरूको जीवनस्तर सुधार, उनीहरूको स्वास्थ्यका लागि आवश्यक स्रोतको व्यवस्था, तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु हो ।

हाल विश्वमा ५ करोड ३५ लाखभन्दा बढी व्यक्ति क्यान्सरबाट बाँच्न सफल भएका छन् । उनीहरूका लागि पुनः जीवन यापन सहज छैन । सामाजिक, आर्थिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी चुनौतीहरू दिनप्रतिदिन बढ्दो छन् ।


नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले क्यान्सर सम्बन्धी जनचेतना फैलाउने, मनोसामाजिक परामर्श दिने, विद्यालय तथा कलेजमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, स्क्रिनिङ क्याम्प र र्याली आयोजना गर्ने जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।


साथै सर्भाइभर्सहरूलाई आर्थिक रूपमा सक्षम बनाउने आयमूलक कार्यक्रम, स्वास्थ्य संस्थासँग समन्वयमा स्वास्थ्य शिविर, निःशुल्क वा सहज उपचारको माग गर्दै नीति निर्मातासँग पैरवी जस्ता कार्यमा पनि संस्था सक्रिय रहँदै आएको छ ।

अध्यक्ष प्रमिता खनाल भन्नुहुन्छ—‘सूचना प्रविधिको युगमा पनि क्यान्सरप्रति जनचेतनाको अभावले गर्दा यो रोग अझै घातक रूपमा फैलिरहेको छ । त्यसैले सर्भाइभर्स दिवसलाई अवसर मानेर हामी जनचेतनालाई अझ व्यापक बनाउने प्रयासमा छौं ।’
नेपाल हेल्थ न्युजमार्फत पनि आयोजकले यो सन्देश आम जनसमुदायमा पुर्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट