नेपाल हेल्थ न्युज, काठमाडौं । जब मेरो जेठो छोरा कृत दुई वर्षभन्दा माथि पुग्यो, म केही अनौठोपन महसुस गर्न थालेँ । बोलाउँदा उसले फर्केर हेर्दैनथ्यो । न आँखा जुधाउँथ्यो, न त हाम्रो अनुहारमा मुस्कान देखाउँथ्यो । ऊ आफ्नै संसारमा हराउँथ्यो—कहिले घुम्ने, कहिले खेलौना सीधामा लाइन लगाउने । हामीले सुरूमै बुझेनौँ । बच्चा ठूला भएपछि बोल्छ भन्ने आशामा बस्यौं ।
तर जब अटिजमको पहिचान भयो, हाम्रो जीवन एकाएक बदलियो ।
अटिजम—यो शब्द नै धेरैका लागि अझै अपरिचित छ । अहिले अलि धेरै सुनिन्छ, केही सचेतना फैलिएको छ । तर, यसको वास्तविक चुनौती—सञ्चार र व्यवहारका समस्या—अझै समाजले गहिरो गरी बुझेको छैन । अटिजम भएका बालबालिकाले आफूलाई चाहिने कुरा प्रष्ट व्यक्त गर्न सक्दैनन् । उनीहरुलाई वरपरको वातावरण बुझ्न गाह्रो हुन्छ । अरूको हाउभाउ, भावना, मनस्थिति बुझ्न नसक्ने हुन सक्छन् । यही कारणले गर्दा उनीहरूलाई आत्मनिर्भर बन्न गाह्रो हुन्छ ।
एउटा अभिभावकको संघर्ष
कृतको पढाइ कक्षा १० सम्म मात्र सीमित रह्योख। एसईई दिन सकेन । अहिले ऊ स्कुलमा भोकेस्नल काम गर्छ—किचन र लाइब्रेरीमा सघाउँछ । चित्रकलामा रुचि देखाउँछ । २० वर्षको उमेरमा उसले आत्मनिर्भर बन्ने प्रयास गरिरहेको छ । यो उसको संघर्ष मात्र होइन, हाम्रो परिवारको पनि साझा यात्रा हो । अटिजम भनेको सामान्य समस्या होइन । बच्चा सानो हुँदा कुरा नगरेको ठिकै होला जस्तो लाग्छ । तर समय बित्दै जाँदा उसलाई वरपरको दुनियाँसँग जुध्न धेरै गाह्रो हुन्छ ।
समाज र सरकारको भूमिका
नेपालमा अटिजम भएका बालबालिकाको संख्या कति छ भन्ने कुरामा अझै अन्योल छ । पछिल्लो जनगणनामा ४,७८६ जना मात्र देखाइएको छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार यो संख्या करिब २.५ देखि ३ लाख हुनुपर्ने हो । अटिजम भएका बालबालिकाको शिक्षामा पहुँच अत्यन्तै न्यून छ । केही संस्था प्रयासरत छन् । जस्तैः अटिजम केयर नेपाल सोसाइटी, जसले १८ वर्षदेखि दक्ष जनशक्ति उत्पादन, अभिभावक सशक्तिकरण, र थेरापी सेवा प्रदान गर्दै आएको छ । तर संस्थाहरू मात्रले पुग्दैन । सरकार, समाज र परिवारहरू सबै मिलेर अघि बढ्नुपर्छ । स्थानीय सरकारहरू केही सजग भएका छन्, कतिपय नगरपालिकाले अटिजम स्कुल खोल्ने पहल पनि गरेका छन् । तर अझ धेरै काम गर्न बाँकी छ ।
प्रारम्भिक चिनारी र हस्तक्षेप
अटिजम समयमै चिन्ने र थेरापी सुरु गर्ने हो भने धेरै फाइदा हुन्छ । अभिभावकहरूले बच्चालाई ध्यान दिएर हेर्नुपर्छ ।
- बोलाउँदा हेर्छ कि हेर्दैन ?
- चिनजानका मान्छे देख्दा मुस्कुराउँछ कि उदासै हुन्छ ?
- मिनिङफुल शब्द प्रयोग गर्छ कि दोहोर्याएर मात्र बोल्छ ?
- एक्लै बस्छ, सामानहरू लाइनमा लगाउँछ ?
- अनौठो ढंगले हात फर्फराउँछ ?
यी सबै संकेतहरू छन्, जसले हामीलाई समयमै सतर्क बनाउँछ । तर त्यत्तिले मात्र हुँदैन । अभिभावक स्वयंले दुई–तीन महिना लामो कम्प्रिहेन्सिभ तालिम लिएर बच्चालाई बुझ्न, सिकाउन, थेरापीका तरिकाहरू परिवारमा अपनाउन जान्नुपर्छ । सही थेरापी, सही मार्गदर्शन र धैर्य—यी तीन कुरा अपरिहार्य छन् ।
भविष्य निर्माणका लागि
अटिजम भएका बालबालिकाले बाल्यकालमा मात्र होइन, जीवनभर सहयोग र मार्गदर्शन चाहिन्छ । यो दीर्घकालीन यात्रा हो—जहाँ परिवारको प्रेम, समाजको समझदारी र सरकारको साथ आवश्यक पर्छ । अन्ततः अटिजम कुनै अभिशाप होइन । यो केवल एउटा फरक तरिकाले बाँच्ने शैली हो—जहाँ प्रेम, धैर्य र समझदारीले नयाँ भविष्य निर्माण गर्न सकिन्छ ।
