नेभिगेशन

तीनकुने आन्दोलनमा घाइतेको उपचार: तीन अस्पतालले पेश गरे ३९ लाख बराबरको खर्च

नेपाल हेल्थ न्युज, काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको व्यवस्थाविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गरेबापत तीन अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जम्मा ३९ लाखभन्दा बढीको बिल पेश गरेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौँ मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल र बी एन्ड बी अस्पतालले उक्त खर्च विवरण मन्त्रालयमा बुझाएका हुन्। ती अस्पतालले आन्दोलनमा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गरेका थिए।

उपचार खर्च विवरण अनुसार, निजामती कर्मचारी अस्पतालले ६ जना बिरामीको उपचार गरेबापत १२ लाख ८८ हजार ३८५ रुपैयाँ, काठमाडौँ मेडिकल कलेजले ७ जनाको उपचार गरेबापत १ लाख ४६ हजार ९७१ रुपैयाँ र बी एन्ड बी अस्पतालले ४ जनाको उपचार गरेबापत २४ लाख ७१ हजार ५२१ रुपैयाँ बराबरको बिल प्रस्तुत गरेका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार, स्वास्थ्य मन्त्रालयले आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च राज्यले व्यहोर्ने घोषणा गर्दै सम्बन्धित अस्पतालहरूलाई निःशुल्क सेवा दिन निर्देशन दिएको थियो।

डा. बुढाथोकीका अनुसार सो दिनको आन्दोलनमा ३३ जना घाइते भएका थिए, जसलाई उपत्यकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचार गरिएको थियो। यद्यपि अहिले सबै घाइते डिस्चार्ज भइसके पनि केहीको फलोअप सर्जरी र थप उपचार बाकी रहेको बताइएको छ।

फलोअप उपचार बी एन्ड बी अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अझै चलिरहेको छ। त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने अहिलेसम्म उपचार खर्चको बिल पेश गरेका छैनन्।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालबाट बिल सङ्कलन भएपछि कुल उपचार खर्च झण्डै ८० लाख रुपैयाँसम्म पुग्ने अनुमान गरेको छ। यसपछि उपचार खर्चको भुक्तानीका लागि अर्थ मन्त्रालयसँग आवश्यक रकम माग गरिने बताइएको छ।

डा. बुढाथोकीले भन्नुभयो, सबै अस्पतालको बिल प्राप्त भएपछि रकम संकलन गरी अर्थ मन्त्रालयमा पठाइनेछ र त्यसपछि सम्बन्धित अस्पतालहरूलाई भुक्तानी दिने प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट