नेभिगेशन

बयालपाटा अस्पताल सञ्चालनको जिम्मा अब प्रदेश सरकारलाई

नेपाल हेल्थ न्युज, अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका–७ मा रहेको बयालपाटा अस्पताल अब सुदूरपश्चिम प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा आउने भएको छ। आगामी भदौ १ गतेदेखि अस्पतालको सम्पूर्ण सञ्चालन अधिकार प्रदेश सरकारले लिन सक्ने गरी प्रक्रियागत कामहरू सम्पन्न भएका छन्।

न्याय हेल्थ नेपाल र सुदूरपश्चिम प्रदेश सरकारबीच अस्पताल स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौता हालै सामाजिक विकास मन्त्रालयमा सम्पन्न भएको हो। सम्झौतामा न्याय हेल्थ नेपालका तर्फबाट कुन्दन दीक्षित र मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हस्ताक्षर गरेका छन्।

पछिल्लो एक दशकभन्दा बढी समयदेखि गैरसरकारी संस्था न्याय हेल्थ नेपालद्वारा सञ्चालित यो अस्पतालले सुदूरपश्चिमका विकट क्षेत्रहरूमा निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो। अब भने यो सेवालाई राज्यले आफ्नै संयन्त्रमार्फत निरन्तरता दिने भएको हो।

सम्झौता पछि सामाजिक विकास मन्त्री मेघराज खड्काले भन्नुभयो, “हामी बयालपाटा अस्पताललाई व्यवस्थित, उत्तरदायी र पारदर्शी रूपमा अगाडि बढाउनेछौं। यो हाम्रो स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने दिशातर्फको महत्वपूर्ण कदम हो।”

मन्त्री खड्काका अनुसार अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्ने गरी १७ बुँदे सम्झौता गरिएको छ। उहाँले अस्पतालको सेवा, पूर्वाधार, जनशक्ति र प्रशासनिक ढाँचामा आवश्यक सुधार गर्ने योजना रहेको पनि बताउनुभयो।

यो हस्तान्तरण केवल संस्थागत मात्र नभई सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने दिशातर्फको दीर्घकालीन पहलको रुपमा लिइएको छ। प्रदेश सरकारले सेवा निरन्तरता, मानव संसाधनको सुनिश्चितता, र स्थानीय तहसँग समन्वयलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने जनाएको छ।

बयालपाटा अस्पतालको आगामी सञ्चालन अब प्रदेश सरकारकै जिम्मेवारीमा पर्ने भएकाले यसले दीर्घकालीन, समावेशी र सशक्त स्वास्थ्य संरचना निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट