नेपाल हेल्थ न्युज, हेटौँडा । हेटौँडामा प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारले सहयोग गरेको यस परियोजना अन्तर्गत मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गर्नुभएको हो।
मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारी मात्र होइन, स्थानीय समुदायले समेत यसबाट सहज लाभ पाउने बताउनुभयो। सुरक्षा व्यवस्थामा सरकारको विशेष ध्यान रहेको र त्यसको रूपमा यो अस्पतालको निर्माण शुरु गरिएको उहाँको भनाइ थियो।
यो अस्पताल बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालनमा आउनेछ र यसमा बहिरङ्ग विभागका कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ तथा पार्किङ जस्ता सुविधा समावेश हुनेछन्।
प्रदेश सरकारले ३० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छ भने यसलाई दुई चरणमा निर्माण गर्ने योजना बनाइएको छ। अहिले पहिलो चरणमा १५ शय्याको अस्पतालको निर्माण कार्य शुरु गरिएको छ।
अस्पताल भवनको निर्माण ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा सम्पन्न हुने छ, जसमा मूल्य अभिवृद्धि कर समेत समावेश छ। निर्माण कार्य आगामी पुस १८ गतेभित्र पूरा गरिने जनाइएको छ।
बागमती प्रदेश प्रहरी अस्पतालका चिकित्सक, प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले अस्पतालको पहिलो चरण सम्पन्न भएपछि आवश्यक सेवा सुरु गरिने बताउनुभयो। हाल हेटौँडा १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
