नेपाल हेल्थ न्युज, भक्तपुर । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसेलाई नियुक्त गरेको छ ।
१२ असार २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालका निमित्त निर्देशक रहेका चालिसेलाई कार्यकारी निर्देशकका रूपमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै डा.चालिसेले अब औपचारिक रूपमा अस्पतालको प्रमुख कार्यकारी जिम्मेवारी सम्हाल्ने भएका छन् । उहाँ अस्पतालमा विगत केही समयदेखि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । यस बीचमा उहाँले अस्पतालमा सेवा सुधार, भौतिक पूर्वाधार विस्तार, जनशक्ति व्यवस्थापन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुभएको थियो ।
डा. चालिसेको पृष्ठभूमी
डा.उज्वल चालिसे रेडिएसन अन्कोलोजीका विशेषज्ञ हुनुहुन्छ। उहाँ लामो समयदेखि क्यान्सर उपचार र अनुसन्धानमा समर्पित हुनुहुन्छ । भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत रहँदै उहाँले क्लिनिकल नेतृत्व, प्रशासनिक दक्षता र संस्थागत सुधारको समायोजन गरेर अस्पतालको सेवा स्तरमा उल्लेखनीय परिवर्तन ल्याउन ल्याउन थाल्नुभएको छ ।
उहाँ हाल कन्सल्यान्ट रेडिएसन अंकोलोजिष्टको रूपमा समेत काम गरिरहनुभएको छ । चिकित्सकीय जिम्मेवारीसँगै व्यवस्थापन क्षमतामा समेत अब्बल मानिने डा. चालिसे सजग योजनाकार र दिगो सुधारको राम्रो व्यक्तिको रुपमा मानिनुहुन्छ ।
सुधारका संकेत—निमित्त निर्देशककालको उपलब्धि
निमित्त निर्देशकका रूपमा कार्यरत हुँदा डा. चालिसेले केही महत्वपूर्ण सुधारात्मक कदमहरू चाल्नुभएको छ । जुन यस प्रकार छन् ।
सामाजिक सुरक्षा कोषसँग सेवा सम्झौता
डा. चालिसेको पहलमा अस्पतालले सामाजिक सुरक्षा कोषसँग सम्झौता ग¥यो । जसअनुसार कोषमा आबद्ध लाभग्राहीहरूले क्यान्सर सम्बन्धी सम्पूर्ण सेवा केवल २०% शुल्क तिरेर पाउन थालेका छन् । यसले गरीब तथा श्रमिक वर्गलाई प्रत्यक्ष राहत मिलेको छ ।
अस्पतालमा प्रशासनिक पारदर्शिता र कार्यदक्षता सुधार
कर्मचारी मूल्यांकन प्रणाली, हाजिरी अनुगमन, सेवा शुल्क एकरुपीकरण लगायतका सुधारात्मक कदम चालिएको छ ।
सेवा विस्तार र दक्ष जनशक्ति समायोजन
रेडिएसन थेरापी, केमोथेरापी, क्लिनिकल अन्कोलोजी, नर्सिङ र फिजियोथेरापी लगायतका सेवा एकाइहरूलाई समन्वयात्मक ढंगले अघि बढाइएको छ ।
‘क्यान्सर बिजेता’ कार्यक्रमको थालनी
उपचारपछि निको भएका बिरामीहरूको सम्मान, प्रेरणा र मनोबल अभिवृद्धिका लागि ‘क्यान्सर बिजेता’ कार्यक्रम सुरु गरिएको छ । यसले बिरामी मात्र होइन, चिकित्सक र कर्मचारीबीचको आत्मीय सम्बन्ध बलियो बनाएको छ ।
अस्पतालको समग्र अवस्था सुधार गर्ने लक्ष्य
डा. चालिसेले कार्यकारी निर्देशकका रूपमा कार्यभार सम्हालेपछि भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकीय सेवा, भौतिक पूर्वाधार र अनुसन्धान कार्यमा दीर्घकालीन सुधार ल्याउने लक्ष्य लिएका लिनुभएको छ ।
उहाँ भन्नुहुन्छ—
“नेपालमा क्यान्सरको उपचार अझै धेरै मानिसको पहुँचबाहिर छ । हामी यहाँबाट किफायती र गुणस्तरीय सेवा प्रवाह गर्ने मोडेल स्थापना गर्दैछौं । अस्पताललाई सेवा, शिक्षा र अनुसन्धानको केन्द्र बनाउने मेरो योजनामा सरकार, कर्मचारी र जनताको साथ आवश्यक छ ।”
दूरगामी सोचः स्थानीय अभिप्रेरणा
भक्तपुर क्यान्सर अस्पताल क्यान्सरको उपचारमा समर्पित नेपालकै प्रमुख संस्थाहरूमध्ये एक हो । यतिबेला यो अस्पतालले देशभरका हजारौं क्यान्सर पीडितलाई सेवा दिइरहेको छ ।
अस्पतालको सेवा अझ विस्तार गर्नका लागि डा. चालिसेले केही महत्वपूर्ण योजनाहरू अघि सानुभएको छ जस्तै—
- आधुनिक रेडिएसन उपकरण थप्ने
- डिजिटल स्वास्थ्य प्रविधिको प्रयोग
- डाटाबेस निर्माण र क्यान्सर रजिस्ट्रेशनको एकीकरण
- नेशनल क्यान्सर पोलिसीसँग अस्पतालको समन्वय
- स्वदेशी विशेषज्ञ उत्पादनमा जोड
बिरामीमैत्री सेवा–चालिसेको प्राथमिकता
डा. चालिसेले आफ्नो नेतृत्वमा बिरामीमैत्री सेवा संस्कृति विकास गर्न चाहनुहुन्छ । बिरामीको सहजता, सस्तो उपचार, मनोवैज्ञानिक परामर्श, परियोजना व्यवस्थापन र मूल्यमा पारदर्शिता उहाँका प्रमुख प्राथमिकता हुन् ।
उहाँको भनाइ छ—
“क्यान्सरको उपचार केवल औषधि वा सर्जरी होइन, बिरामीप्रति करुणा, विश्वास र समर्पण हो । अस्पतालले यस दृष्टिकोणमा काम गर्नुपर्नेछ ।”
अतः डा. उज्वल चालिसेको कार्यकारी निर्देशक पदमा नियुक्ति भक्तपुर क्यान्सर अस्पताल मात्र होइन, सम्पूर्ण नेपाली क्यान्सर उपचार सेवाका लागि उत्साहजनक समाचार हो । व्यावसायिक दक्षता, नेतृत्व क्षमता र मानवीय दृष्टिकोण भएका डा. चालिसे जस्ता व्यक्तित्वको नेतृत्वमा अस्पतालले गुणस्तरीय सेवा, वैज्ञानिक अनुसन्धान र सामाजिक जवाफदेहिताको नयाँ युगमा प्रवेश गर्ने आशा गरिएको छ ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
