‘यो कुन अभिशाप हो ! मैले के पाप गरेँ ?’ यस्तै प्रश्न आफूलाई गर्दै शारदा (नाम परिवर्तन) का आँखामा आँशु छचल्किरहन्छ । उनमा सन्तान प्राप्तीको प्यास धेरै छ । तर इच्छाले मूर्त रूप लिन नपाउँदा अपमानको चोटले अठ्याइरहन्छ । विवाह भएको आठ वर्ष भइसक्यो । समाजले अनेक आरोप लगाइरहेको छ ।
अनेकौ प्रकृतिका आरोपलाई चिर्न उनले अनेक उपाय गरिरहेकी छन् । झारफुक गर्नेदेखि नाम चलेका चिकित्सक र अस्पताल धाएको धेरै भयो । तर गर्भ कहिल्यै बस्दैन । यसैगरी ‘सायद यसपटक चाहिँ पोजेटिभ हुन्छ’–यस्तो सोच्दै सीमा (नाम परिवर्तन) ले गर्भ परीक्षण किट हेरिन् । फेरि पनि परिणाम उस्तै । त्यही पुरानो रेखा, एक्लो, निस्तेज र मौन । विगत तीन वर्षदेखि हरेक महिनाको अन्त्यमा उनको आशालाई निराशाले जितिरहेको छ ।
निःसन्तानको उपचार बच्चा जन्माउने विषय मात्र होइन, यो सन्तानप्रतिको अधिकार, आत्म–सम्मान र मानसिक स्वास्थ्यको मुद्दा पनि हो ।
सीमा र राजु अझै पनि सन्तानसुखको प्रयासमा छन् । हरेक परीक्षणपछिको नकारात्मक नतिजा उनीहरूका लागि हार होइन, अर्को आशाको सुरूवात् हो । यो दम्पतीले चिकित्सा भन्दा पहिला सहानुभूति खोजिरहेको छ ।
उल्लेखित पात्रहरूको जस्तै कहानी हजारौँ नेपाली महिलाको छ । निःसन्तान समस्या महिलाको मात्र होइन । यो पुरूष र महिला दुवैको प्रजनन प्रणालीमा देखिने समस्या हो ।
विज्ञान भन्छ– ‘निःसन्तान एक रोग हो’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निःसन्तापनलाई पुरूष वा महिलाको प्रजनन् प्रणालीमा देखिने रोग मानेको छ । १२ महिना वा सोभन्दा बढी समयसम्म नियमित यौनसम्बन्ध राख्दा पनि गर्भधारण नभएमा डब्लुएचओले निःसन्तानको रूपमा परिभाषित गरिने जनाएको छ । विश्वप्यापी रूपमा यस्तो समस्या महिला वा पुरूष दुवैमा हुनसक्छ । कहिलेकाहीँ ठोस कारण पत्ता नै लाग्दैन।
महिलामा देखिने सामान्य कारण
- फालोपियन ट्युब बन्द हुने : यो प्रायः यौन रोग, असुरक्षित गर्भपतन वा संक्रमणका कारण हुनसक्छ ।
- अण्डाशयसम्बन्धी विकारः यो पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम (पिसीओएस), पाठेघरमा फाइब्राइड, सेप्टेट युटेरस वा एन्डोमेट्रियोसिसका कारण हुनसक्छ ।
- हर्मोनल असन्तुलनः यसले अण्डा उत्पादनलाई प्रभावित बनाउँछ ।
पुरूषमा देखिने कारण
शुक्रकिट नबन्ने वा कम बन्ने र शुक्रकिटको गुणस्तर कमजोर हुने गर्छ । यसमा गतिशीलता र बनावटको समस्या देखिन्छ । शुक्रकिट बाहिर ल्याउने नली अवरूद्ध हुनसक्छ । भोरिकोसिल वा किमोथेरापीको प्रभावले हर्मोनको असन्तुलन वा अण्डकोषमा क्षति पुग्नसक्छ ।
जब समाज घाउमा नुन छर्किन्छ
शारीरिक रूपमा बाँझोपन पीडादायी छ । साथै समाजले मानसिक रूपमा अझ गहिरो घाउ बनाइदिन्छ ।‘ बाँझी’ शब्द आफैँमा एक सामाजिक हिंसा हो । सन्तान नहुँदा पुरूषलाई ‘दुर्भाग्य’ मानिन्छ भने महिलालाई ‘दोषी’ । यही सोचले धेरै महिलाले हिंसा, तिरस्कार, बहिष्कार र डिप्रेसनको सामना गर्नुपरेको छ । उनीहरूको आत्मविश्वास, आत्मसम्मान र जीवनप्रतिको आशा क्रमशः नकारात्मक बन्ने गर्छ ।
प्रविधि छ तर सस्तो छैन
निःसन्तानको उपचार सम्भव छ । आईभिएफ (इनभिट्रोफर्टिलाईजेसन) आईयूआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) र अन्य सहायक प्रजनन प्रविधि आर्टिफिसियल रिप्रोडक्टिभ ट्रिटमेन्टबाट धेरैले सन्तान पाउने गरेका छन् । तर यी प्रविधि सबैको पहुँचमा छैनन् । नेपालमा आईभिएफको एकपटकको लागत औसत दुईदेखि पाँच लाख रूपैयाँसम्म पर्छ । सरकारी अस्पतालमा सीमित सेवा मात्र उपलब्ध छन् । यस्तो सेवा बीमा प्रणालीमा समावेश छैन । ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका लागि यी प्रविधि ‘सपना’ मात्रै बनिरहेका छन् ।

समाधान के हो ?
यौन तथा प्रजनन स्वास्थ्य शिक्षामा निःसन्तानबारे जानकारी दिन जरूरी छ । सामाजिक दृष्टिकोणमा परिवर्तन गर्न शिक्षा र चेतना अपरिहार्य हुन्छ । महिलामाथि लाग्ने आरोप हटाउन जरूरी छ । साथै पुरूषलाई पनि सन्तान प्राप्तीको जिम्मेवारी बुझाउन आवश्यक हुन्छ । यौन सञ्चारित रोगको रोकथाम, सुरक्षित गर्भपतन, पोष्टपार्टम सेप्सिस नियन्त्रणजस्ता काम प्राथमिकतामा राख्न सार्वजनिक स्वास्थ्य नीति अपरिहार्य छ ।
आईभिएफ, आईयूआईलगायत प्रविधिलाई सरकारी अनुदान वा बीमा प्रणालीमा ल्याउन प्रविधिमा पहुँच अर्को महत्वपूर्ण पाटो हो । तेस्रो पक्ष प्रजनन, डोनेसन वा सरोगेसी जस्ता सेवामा कानूनी स्पष्टता हुन पनि उत्तिकै जरूरी छ ।
निःसन्तान मात्र होइन, मौनता पनि समस्या हो । निःसन्तान लुकाएर उपचार हुँदैन । यो कुरा खुलस्त राख्नुपर्ने, बुझ्नुपर्ने र सहनुभूति देखाउनुपर्ने विषय हो । शारदा आज पनि उपचार गराइरहेकी छन् । उनलाई शरीरको मात्र होइन, मनको उपचार पनि आवश्यक छ । सन्तान पाउने नपाउने भन्ने भविष्यको कुरा हो । तर समाजले लगाउने ‘पूर्व जन्मको पाप’ लगायतका लाल्छना र आरोप घटेमा पक्कै पनि उनी जस्ता महिलालाई आत्मविश्वास बढ्ने छ ।
घट्दो शुक्रकिट संख्या
सोमबार, साउन २६, २०८२
डा. सानुमैंया र डबल खुशी
सोमबार, साउन २६, २०८२
निजी मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन
बुधबार, वैशाख ३, २०८२
