‘मैले कहिल्यै सोचिनँ कि समस्या ममा पनि हुन सक्छ’–३५ वर्षीय समीर (नाम परिवर्तन) ले निधार खुम्चाउँदै भने । पाँच वर्षदेखि सन्तानको पर्खाइमा रहेका उनी र उनकी श्रीमतीले धेरै परीक्षण गराए । अन्ततः जब शुक्रकिट परीक्षण (सिमेन एनालाईसिस) भयो, रिपोर्टले देखायो–शुक्रकिट संख्या सामान्यभन्दा धेरै कम छ ।
यस्तै अवस्थाको सामना गर्दै आएका हजारौं पुरुषका लागि यो कुरा अझै पनि ‘नबोलिने पीडा’ बनेको छ । महिलाको गर्भधारण असमर्थतामा दोष धेरैजसो महिला पक्षमै लगाउने समाजमा पुरुषको प्रजनन क्षमतामा आउने समस्याहरू अझै ओझेलमा छन् । तर पछिल्ला अन्तर्राष्ट्रिय अनुसन्धानहरूले भने पुरुष प्रजनन प्रणालीमा गहिरो संकट देखाएका छन् ।
५०% ले घटिसक्यो शुक्रकिट संख्या
लेभिन लगायतका अनुसन्धानकर्ताद्वारा गरिएको सन् २०२२ को अध्ययन (ह्युमन रिप्रोडक्सन अपडेट) मा प्रकाशित एक ठूला स्तरको विश्लेषण अनुसार पछिल्ला ४० वर्षमा पुरुषको औसत शुक्रकिट संख्या ५०% भन्दा बढीले घटेको छ । यो दर यति छिटो घटिरहेको छ कि भविष्यमा मानिस प्रजनन् संकटतर्फ उन्मुख हुनसक्ने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कुल निःसन्तान दम्पतीहरूमध्ये झन्डै ५०% पुरुषसँग सम्बन्धित कारणहरू हुन्छन् । तीमध्ये प्रमुख समस्या नै शुक्रकिटको संख्या र गुणस्तरमा कमी हो ।
किन घट्छ शुक्रकिट संख्या ?
अमेरिकन सोसाइटी अफ रिप्रोडक्टिव मेडिसिन र युरोपियन सोसाइटी अफ युरोलोजीका अनुसार शुक्रकिट घट्नु कुनै एक कारणको परिणाम होइन । यसमा चिकित्सा, जीवनशैली, वातावरणीय र जेनेटिक चारवटै तहका कारण जिम्मेवार देखिन्छन् ।
चिकित्सकीय हर्मोन असन्तुलन, भेरिकोसिल, अण्डकोषमा संक्रमण, क्यान्सरको उपचार, अस्वस्थकर जीवनशैली, धूम्रपान, मद्यपान, मोटोपन, लामो समयसम्म तातो स्थानमा बस्ने, पर्यावरणीय कीटनाशक, बिस्फेनोल ए (बीपीए) र फ्थालेट्जस्ता प्लास्टिक रसायन (बीपीए एक प्रकारको रासायनिक पदार्थ हो, जुन प्लास्टिक उत्पादनमा प्रयोग गरिन्छ ।
मुख्यतः पानीको बोतल, खानेकुरा राख्ने कन्टेनर, टिनको डब्बाको भित्रपट्टि प्रयोग हुने लेपमा पाइन्छ । यसले हर्मोन असन्तुलन, शुक्रकिटमा कमी, प्रजनन क्षमतामा असर गर्छ । यसैगरी फ्थालेट्स प्लास्टिकलाई नरम, लचिलो र पारदर्शी बनाउने रसायन हो । यसले टेस्टोस्टेरोन स्तर घटाउने, शुक्रकिट उत्पादन घटाउने जस्ता वंशाणुगत अवस्था रहेका छन् ।
सामान्य शुक्रकिट मानक के हो ?
डब्लुएचओ २०२१ को मापदण्ड अनुसार स्वस्थ शुक्रकिट मूल्याङ्कन यसरी गरिन्छः आयतन (भोल्युम) कम्तिमा १.४ मिलिटिर, शुक्रकिट संख्या (कन्सन्ट्रेसन) कम्तिमा १६ मिलियन प्रति मिलिलिटर, कुल संख्या (टोटल स्पर्म काउन्ट) कम्तिमा ३९ मिलियन प्रति नुमना, गतिशीलता (मोटिलिटी) कम्तिमा ४२ प्रतिशत यात्रा गर्न सक्ने शुक्रकिट, प्रगतिशील गतिशीलता कम्तिमा ३० प्रतिशत, सामान्य रुप (मोर्फोलोजी) कम्तिमा ४ प्रतिशत सामान्य आकार, पिएच स्तर कम्तिमा ७.२, जीवित शुक्रकित (भाइटालिटी) कम्तिमा ५४ प्रतिशत हुन जरुरी हुन्छ ।
विशेषज्ञहरुका अनुसार ५ मिलियन प्रति एमएल भन्दा कम शुक्रकिट हुने अवस्थालाई गम्भीर ओलियोगोस्पर्मिया भनिन्छ । यस्तो अवस्थामा स्वभाविक गर्भधारणको सम्भावना धेरै कम हुन्छ । तर संख्या नै सबै कुरा होइन । गतिशीलता र रुप पनि अण्डासम्म पुगेर फर्टिलाईज हुने क्षमता अत्यन्तै महत्वपूर्ण हुन्छ । कम शुक्रकिट संख्याले गर्भधारण प्रक्रियामा प्रत्यक्ष असर गर्छ।

सम्भावित समाधान
मायो क्लिनिक फर्टिलिटी एण्ड स्टेरिलिटी जर्नलका अनुसार अण्डासम्म पुग्न जीवनशैली सुधार, हर्मोन सन्तुलन गर्न औषधि,गतिशीलता वा आकृति खराब भएको अवस्थामा आईयूआई, आईभीएफ, इक्सीमा जान सकिन्छ । शुक्रकिट नदेखिने अवस्था (टीसा वा पिसा जस्ता सर्जिकल विधि प्रयोग गर्नुपर्ने हुनसक्छ ।
भविष्यका उपाय
नयाँ अनुसन्धानहरूले केही आशाजनक उपायहरू सुझाएका छन् । एन्टिअक्सिडेन्ट जस्तै कोइन्जाइम, जिंक, भिटामिन सी र इ ले शुक्रकिटको गुणस्तरमा सुधार ल्याउन सक्छ।विशेषगरी एजोस्पर्मिया भएका पुरुषहरूका लागि जीन इडिटिङ र स्टिम सेल थेरापी जस्ता प्रविधिहरू भविष्यमा अझै प्रभावकारी उपाय बन्नसक्छन् ।
समाजले बुझ्नुपर्ने कुरा
नेपालमा अझै पनि पुरुष निःसन्तानपनलाई खुलस्त कुरा गरिँदैन। यो विषयलाई लाज वा पुरुषत्वसँग जोडेर हेर्ने प्रवृत्तिले समयमै उपचारबाट रोकिएको पाइन्छ। बेलैमा परीक्षण र उपचारमा लागेमा धेरै सम्भावनाहरू खुलेका हुन्छन् ।
निष्कर्ष
शुक्रकिट संख्या घट्नु एउटा वैज्ञानिक, सामाजिक र मानसिक रूपमा गम्भीर विषय हो। पुरुषले यसबारे खुला रूपमा कुरा गर्न आवश्यक छ ताकि उनीहरूको स्वास्थ्य मात्र होइन, दम्पतीको भविष्य पनि सुरक्षित रहोस् । समयमै परीक्षण गरौं, समाधान खोजौं। पुरुष प्रजनन स्वास्थ्यलाई नजरअन्दाज नगरौं ।
सपना जन्मिन्छन् तर गर्भ बस्दैन
सोमबार, साउन २६, २०८२
डा. सानुमैंया र डबल खुशी
सोमबार, साउन २६, २०८२
निजी मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन
बुधबार, वैशाख ३, २०८२
