नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसन बस्दै आएका डा. गोविन्द केसीले आफ्नो पछिल्लो सत्याग्रह आज दिउँसो तोडेका छन्। उनले कैलालीस्थित गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस ग्रहण गर्दै अनसन समाप्त गरेका हुन्।
गत आइतबारदेखि अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन जटिल बन्दै गएको थियो। उनका सहयोगी डा. अमृत जैसीका अनुसार, मंगलबार बिहान मुटुको चालमा गडबडी देखिनुका साथै मांसपेशी दुख्ने र कमजोरी आउने समस्या देखिएको थियो। चिकित्सकहरूको सल्लाहमा पनि थप उपचार लिन उनले नमानेको बताइएको छ।
डा. केसीले निजी मेडिकल कलेजहरूको एमबीबीएस सिट संख्या मनपरी रूपमा बढाइएको भन्दै विरोधस्वरूप अनसन सुरु गरेका थिए। चिकित्सा शिक्षा आयोगले साउन ३० गतेको बैठकमा निजी मेडिकल कलेजहरूलाई १३० सम्म सिट तोक्ने निर्णय गरेपछि उनले यसलाई ‘शिक्षाको गुणस्तरमा आँच आउने र स्वास्थ्य सेवा कमजोर पार्ने’ भन्दै आपत्ति जनाएका थिए।
उनले भनेका छन्, “सिट संख्या बढाउँदा केही नेताहरू र मेडिकल माफियाहरू लाभान्वित हुन्छन्, तर यसले शिक्षाको स्तर घटाउँछ र अन्ततः आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्छ।”
सत्याग्रहमार्फत डा. केसीले विभिन्न मागहरू अगाडि सारेका छन्, जसमा गेटा मेडिकल कलेजमा शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्न, इलाम, डडेलधुरा र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्न, साथै अघिल्ला सम्झौताअनुसार गैरनाफामूलक चिकित्सा शिक्षा, दरबन्दी, एकीकृत प्रतिष्ठान ऐन र उच्च शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने जस्ता विषयहरू समावेश छन्।
उनले शिक्षा र स्वास्थ्य प्रणाली जनमुखी र सर्वसुलभ बनाउन सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन्।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
