नेपाल हेल्थ न्युज, बर्दीबास । बर्दीबास नगरपालिकाका अधिकांश वडामा क्षयरोगका बिरामी फेला परेका छन् । पछिल्लो एक वर्षको अवधिमा नगरपालिकाभित्र १४५ जना क्षयरोगी पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । तीमध्ये सबैभन्दा बढी वडा नं. ८ को हात्तीलेट क्षेत्रमा मात्र २२ जना संक्रमित भेटिएपछि स्थानीय तहमा चिन्ता थपिएको छ ।
नेपाल सरकारको सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्यलाई साथ दिँदै गाउँ-गाउँमा खटिएको स्वास्थ्य टोलीले बिरामी पहिचानसँगै औषधि वितरणको कार्य अघि बढाएको छ । हात्तीलेट स्वास्थ्य चौकीमा हालै सम्पन्न विशेष शिविरमा बागमती सेवा समाज र महोत्तरी क्षयरोग टिमको सहकार्यमा अत्याधुनिक प्रविधिबाट परीक्षण गरियो ।
शिविरमा १२३ जनाको सामूहिक परीक्षण (स्क्रिनिङ) गर्दा २८ जनामा क्षयरोगको आशंका देखिएको र तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जानकारी दिनुभयो।
परीक्षण गरिएका बिरामीको खकार संकलन गरी थप परीक्षणका लागि गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ, यादवले बताउनुभयो ।
वडाध्यक्ष शमशेरसिंह लामाले हात्तीलेट क्षेत्रको सामाजिक र आर्थिक अवस्था क्षयरोगको फैलावटको प्रमुख कारक भएको बताउनुभयो । उहाँका अनुसार यहाँ करिब १,४०० परिवार बसोबास गर्छन्, जसमा दलित र विपन्न समुदायको उपस्थिति उल्लेखनीय छ । स्वास्थ्य शिक्षा अभाव, अस्वस्थकर बानी र न्यून पोषणका कारण रोग फैलन सहज भएको हो, वडाध्यक्ष लामाको भनाइ छ ।
शिविरमा आशंकास्पद भेटिएका २८ मध्ये २४ जना दलित तथा जनजाति समुदायका हुन् । यसले समुदाय(आधारित स्वास्थ्य सचेतनाको खाँचो औंल्याएको छ ।
वडा नं. ७ र ११ मा क्षयरोगका कारण तीन जनाको मृत्यु भइसकेको तथ्यले पनि अवस्था गम्भीर रहेको संकेत गर्छ । नगरप्रमुख प्रह्लाद क्षेत्रीले समुदायमै पुगेर गरिने यस्ता शिविरहरूले समयमै रोगको पहिचान र उपचारको बाटो खोल्ने भएकाले क्षयरोग नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

