नेपाल हेल्थ न्युज, महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले ६४ स्लाइसको आधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टका अनुसार, सिटी स्क्यान मेसिन जडानको काम अन्तिम चरणमा पुगेको छ र आगामी सातादेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको छ।
गत फागुनमा अस्पतालले बालाजी सर्जिकल सप्लायर्ससँग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपैयाँको लागतमा मेसिन खरिद गर्ने सम्झौता गरेको थियो। सेवा सुरु भएपछि स्थानीय बिरामीले सिटी स्क्यानका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ।
अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णानन्द भट्टका अनुसार, पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवाको पहुँच विस्तार हुँदै गएको छ। सिटी स्क्यान सेवा सुरु हुनु यहाँका बिरामीका लागि ठूलो राहत हो, उहाँले भन्नुभयो।
हाल अस्पतालमा २३ जना विशेषज्ञ चिकित्सक कार्यरत छन्। मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, मानसिक रोगजस्ता विभागहरूमा सेवा विस्तार गरिएको छ। यद्यपि २८ जना विशेषज्ञ चिकित्सकको स्वीकृत दरबन्दी भए पनि एक जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् भने अन्य करार र छात्रवृत्तिमार्फत सेवा दिइरहेका छन्।
स्थानीय इन्द्र साउँदका अनुसार, विगतमा सिटी स्क्यान सेवा नहुँदा दैनिक ८–१० बिरामी अन्यत्र रिफर गरिन्थ्यो। अब घरनजिकै यो सेवा पाउनु स्थानीयका लागि सहज र किफायती हुने अपेक्षा गरिएको छ।
२०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल क्रमशः स्तरोन्नति हुँदै हाल प्रादेशिक अस्पतालका रूपमा सेवा दिइरहेको छ। संघीय संरचनामा आएपछि अस्पतालमा विशेषज्ञ सेवाको पहुँच बढ्न थालेको हो।
अस्पतालमा अझै केही विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेकाले आगामी दिनमा ती पदहरूमा पनि योग्य चिकित्सक भर्ना गरिने अपेक्षा गरिएको छ। अस्पतालले आवश्यक पूर्वाधार र उपकरण विस्तारमा समेत जोड दिएको बताइएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
