नेभिगेशन

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

नेपाल हेल्थ न्युज, गोरखा । गोरखाको पालुङटार नगरपालिकामा रहेका सबै वडाका स्वास्थ्य संस्थामा पछिल्लो दुई महिनादेखि गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम र आइरन चक्की अभाव देखिएको छ। स्थानीय तहले समयमै औषधि खरिद प्रक्रिया अघि नबढाएको कारण महिलाहरूले बजारबाट पैसा तिरेर चक्की किन्न बाध्य भएका छन्।

पालिकाको केन्द्र ठाँटीपोखरीस्थित वडा नं ५ को स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रमा थापामगरका अनुसार, दुई महिनादेखि क्याल्सियम र आइरन चक्की आपूर्ति पूर्ण रूपमा ठप्प छ। गर्भवतीहरू नियमित रूपमा चक्की लिन आउनुहुन्छ, तर हामीसँग स्टक नै नभएकाले बजारबाट किनेर खान सुझाव दिनुपरेको छ, थापामगरले बताइन्।

यस्तै वडा नं १० स्थित स्वास्थ्यचौकी प्रमुख अनिशा जोशीका अनुसार, डेढ महिनादेखि उनीहरूको स्वास्थ्यचौकीमा पनि यी औषधिहरू छैनन्। “गर्भवतीहरू सित्तैमा पाइने औषधि पैसा तिरेर किन्नुपरेको भन्दै गुनासो गर्नुहुन्छ,” जोशीले भनिन्, “कतिपयले त हामीलाई नै औषधि किनेर दिन दबाब दिनुहुन्छ।”

पालिकाको वडा नं ९ को सेरा स्वास्थ्यचौकीका गङ्गादत्त सेढाईँले पनि दुई महिनादेखि चक्की अभाव रहेको पुष्टि गरे। “कसरी गर्भवतीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी दिने भन्ने चुनौती छ अहिले,” उनले भने।

पालुङटार नगरपालिकाका १० वटै वडाका स्वास्थ्य संस्थामा समान रूपमा समस्या देखिएको छ। औषधिको अभावका कारण नियमित सेवा प्रवाहमा बाधा पुगेको र स्वास्थ्यकर्मीहरू समेत मानसिक दबाबमा परेका छन्।

यसबीच, प्रदेश जनस्वास्थ्य कार्यालय गण्डकीका प्रमुख यामप्रसाद शर्माले क्याल्सियम र आइरन जस्ता औषधि खरिद गर्ने जिम्मेवारी स्थानीय तहको भएको स्पष्ट पारेका छन्। पहिले संघबाटै आउँथ्यो, तर अब संघले नपठाउने सूचना जारी गरेपछि स्थानीय तह आफैले औषधि किन्नुपर्ने नियम छ, शर्माले बताए।

उनका अनुसार संघीय सरकारबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधिमध्ये केही प्रदेश, केही संघ र केही स्थानीय तहले छुट्टाछुट्टै जिम्मेवारी लिएर व्यवस्थापन गर्नुपर्ने प्रावधान छ। तर पालिकाले समयमा निर्णय नगर्दा गर्भवती महिलाहरू स्वास्थ्य जोखिममा परिरहेका छन्।

गर्भवती महिलाको स्वास्थ्य सुरक्षामा गम्भीर असर पार्ने यो अवस्थाप्रति पालिकाले तत्काल ध्यान नदिने हो भने समस्या अझ चर्किन सक्ने देखिन्छ। नागरिकहरूको आधारभूत स्वास्थ्य अधिकार सुनिश्चित गर्न पालुङटार नगरपालिकाले चाँडोभन्दा चाँडो औषधि आपूर्ति प्रक्रिया अघि बढाउनु अपरिहार्य देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट