नेपाल हेल्थ न्युज, बैतडी । बैतडी जिल्लामा पछिल्लो समयमा डेङ्गी संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालका अनुसार गत तीन महिनाभित्र जिल्लाभर १८ जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा संक्रमण भेटिएको हो। अन्य स्थानीय तहहरूमा भने अहिलेसम्म डेङ्गीका बिरामी फेला परेका छैनन्।
गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्मरण गर्दै स्वास्थ्यकर्मीहरूले यस वर्ष पनि सचेतना आवश्यक रहेको बताएका छन्।
हाल जिल्लाभर लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालनमा छ। स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टका अनुसार एडिस जातका पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी फैलिने भएकाले लामखुट्टाको टोकाइबाट जोगिनु नै प्रभावकारी उपाय हो।
डेङ्गी लाग्दा उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरका जोर्नी तथा मांसपेशीमा पीडा हुनु, र खानाको इच्छा नहुने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा नाक, गिजा वा पेटबाट रगत बग्ने लक्षणसमेत देखापर्न सक्छन्।
स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर डेङ्गी परीक्षण गराउन आग्रह गरेको छ। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न पनि सबैलाई सचेत गराइएको छ।
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
