नेपाल हेल्थ न्युज, मकवानपुर । हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि एक बिरामीका आफन्तले हातपात गरेको घटना सार्वजनिक भएको छ।
बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ का अजित विडारीले उपचार प्रक्रियासम्बन्धी विवादकै क्रममा डा. शाहलाई धकेल्दै मुक्का प्रहार गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका निर्देशक डा. आकेश प्रजापतका अनुसार विवाद अस्पतालमा ल्याइएका दुर्घटनाग्रस्त बिरामीको भर्ना र रिफर प्रक्रियामा उत्पन्न भएको थियो।
घटनापछि त्यहाँ उपस्थित अन्य कर्मचारी र बिरामीका आफन्तहरूले स्थिति नियन्त्रणमा ल्याएका थिए। सो समयमा अस्पतालमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनका भनाइमा, डा. शाहले कानुनी कारबाही नगर्न अनुरोध गरेपछि विडारी अस्पतालबाट फर्किएका थिए।
दुर्घटनामा परी कुहिनोमा चोट लागेको सुरक्षा कँडेललाई राजु विडारीमार्फत अस्पताल ल्याइएको थियो। प्रारम्भिक परीक्षणपछि इमर्जेन्सीमा ड्युटीमा रहेका डा. सचिन दासले अर्थोपेडिक सर्जनको निरीक्षण आवश्यक ठानेर डा. शाहलाई बोलाएका थिए।
स्वास्थ्य बीमामार्फत उपचार गर्ने विषयमा कुरा काटाकुटी चलेपछि विवाद चर्किएको बताइन्छ। डा. शाहले घाउ सफा गरेर टाँका लगाउने अघि एक दिन अस्पतालमा अब्जरभेसनका लागि भर्ना हुन सल्लाह दिएका थिए, तर बिरामी पक्षले असहमति जनाउँदै अन्यत्र लैजाने अडान लिएका थिए। यही क्रममा अजित विडारीले हातपात गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार डा. शाहलाई गम्भीर चोट लागेको छैन। यद्यपि, घटनाबारे अनुसन्धान सुरु गरिएको र आक्रमणमा संलग्न व्यक्ति पहिचान गरी प्रक्रिया अघि बढाइने बताइएको छ।
यसैबीच, नेपाल चिकित्सक संघ मकवानपुर शाखाले उक्त घटनाबारे छलफल गर्दै प्रहरीमा औपचारिक उजुरी दिने तयारी गरेको जनाएको छ। संघका सचिव डा. राजु सेंढाइका अनुसार बिहीबार बिहान अस्पताल प्रशासन र डा. शाहसँगको बैठकपछि लिखित उजुरी दर्ता गर्ने निर्णय भएको हो।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
