नेभिगेशन

भक्तपुर क्यान्सर हस्पिटलमा फ्रोजन सेक्सन

क्यान्सर शल्यक्रियामा निर्णायक मोड 

३८ वर्षीया सविता (नाम परिवर्तन) लाई स्तनमा गाँठो देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको क्रममा फ्रोजन सेक्सन गरियो । रिपोर्ट आयो—‘गाँठो क्यान्सर हो तर मार्जिन क्लिन छ ।’ यसकै आधारमा ठूलो स्तरको मस्टेक्टोमी नगरी आवश्यक परिमाणमा मात्रै गाँठो हटाइयो । सविता भन्छिन्—‘मलाई दोस्रो पटक सर्जरी गर्नुपर्दैन भन्ने सुन्दा ठूलो राहत मिल्यो । फ्रोजन सेक्सनले मेरो शरीरको अनावश्यक भाग काटिनुबाट जोगायो ।’

दोस्रो अपरेशनबाट मुक्ति
पोखराकी ५५ वर्षीया जमुना (नाम परिवर्तन) ले आफ्नो अनुभव यसरी सुनाइन्—‘पहिले मलाई ट्युमर पूर्णरूपमा हटाइयो कि हटाइएन भन्ने पत्ता लगाउन डाक्टरले दुई हप्ता लाग्ने भन्नुभएको थियो । तर फ्रोजन सेक्सनको रिपोर्टले अपरेशनकै बेला ट्युमर पूर्णरूपमा हटाइएको पक्का भयो । मेरो दोस्रोपटक शल्यक्रिया गर्नुपरेन । 

यतिखेर विश्वभर क्यान्सर शल्यक्रियामा ‘फ्रोजन सेक्सन’ आधुनिक मापदण्डका रूपमा स्थापित हुँदै गएको छ । नेपालमै पनि यसलाई अभ्यासमा ल्याउन थालिएको छ । विशेषगरी भक्तपुर क्यान्सर अस्पतालले सुरु गरेको फ्रोजन सेक्सनको अभ्यासले नयाँ युगको सुरुवात् गरेको छ । 

क्यान्सर शल्यक्रियामा फ्रोजन सेक्सनको भूमिका
फ्रोजन सेक्सन शल्यक्रियाको क्रममा तुरुन्त गरिने द्रुत प्याथोलोजिकल परीक्षण हो । सर्जनले शंकास्पद गाँठो वा शल्यक्रियाको किनाराबाट नमूना निकाल्छन् जसलाई तत्काल जमाएर (क्रायोसेक्शन) पातलो तहमा काटिन्छ । त्यसलाई विशेष रङ (एच एण्ड ई स्टेन) लगाएर माइक्रोस्कोपिक परीक्षण गरिन्छ । प्याथोलोजिस्टले १५ देखि २० मिनेटभित्र नतिजा दिएपछि सर्जनले ट्युमर पूर्ण रूपमा हटाउने वा थप तन्तु काट्ने निर्णय गर्न सक्छन् ।

अपरेशन भइरहँदा नै ‘यो क्यान्सर हो कि होइन? यदि हो भने कति फैलिएको छ ? अझै थप टिस्यु हटाउनुपर्छ कि ?’ भन्ने प्रश्नको जवाफ तुरुन्तै पाइन्छ । शल्यक्रियाकै क्रममा क्यान्सर वा गैर–क्यान्सर छुट्याउन सकिने त भइहाल्यो । यसका साथै ट्युमर ठूलो वा सानो काट्ने भन्ने निर्णय तुरुन्त गर्न सकिन्छ । बाँकी भागमा क्यान्सर कोषहरू छन् कि छैनन् भन्ने सुनिश्चित गर्न मार्जिन मूल्य गर्न सकिन्छ । पहिलो सर्जरीमै ट्युमर पूर्ण हटाउने सम्भावना बढ्छ जसले पुनः अपरेशनको आवश्यकता न्यून गर्छ ।

फ्रोजन सेक्सन कसरी हुन्छ ? 
सर्जनले ट्युमर वा शंकास्पद गाँठो काटेर निकाल्छन् । क्रायोमेसिनमा फ्रिज गरिन्छ । विशेष क्रायोस्ट्याट नामक मेसिनमा टिस्यु तुरुन्तै २० डिग्री सेन्टिग्रेड सोभन्दा तलमा जमाइन्छ । पातलो खण्ड अर्थात ५–१० माइक्रोन मोटाईको स्लाइड काटिन्छ । रङ लगाइन्छ अर्थात (एच एण्ड ई) हेमोटोक्सिलिन र इओसिन लगाएर कोशिकाको बनावट प्रस्ट देखाइन्छ । प्याथोलोजिस्टबाट परीक्षण हुुन्छ । माइक्रोस्कोपमा हेरेर तुरुन्तै रिपोर्ट तयार पारिन्छ । रिपोर्ट अपरेशन थिएटरमै सर्जनलाई पठाइन्छ । यो सबै प्रक्रिया सामान्यतया १५–३० मिनेट मा पूरा हुन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास र अनुसन्धान
अन्तर्राष्ट्रिय अनुसन्धानहरूले फ्रोजन सेक्सनलाई शल्यक्रिया सफलता दर बढाउने मुख्य उपकरणका रूपमा लिएका छन् । अमेरिकन जर्नल अफ सर्जिकल प्याथोलोजी (२०२१) का अनुसार, फ्रोजन सेक्सनले ट्युमर क्यान्सर हो वा होइन भन्ने प्राथमिक निदानमा ९२–९८% सम्म शुद्धता देखाएको छ ।

डब्लुएचओ क्यान्सर रिपोर्ट (२०२०) ले पनि यसलाई क्यान्सर शल्यक्रियाको गुणस्तर मापन गर्ने सूचकमा समावेश गरेको छ  । स्तन क्यान्सर सर्जरीमा गरिएको बहुवर्षीय अध्ययन (मायो क्लिनिक, अमेरिका) मा फ्रोजन सेक्सनमार्फत मार्जिन मूल्याङ्कन गर्दा दोस्रो अपरेशन आवश्यक पर्ने दर ३०% बाट घटेर ८% मा सीमित भएको थियो ।

युरोपका केही देशहरूमा (जर्मनी, फ्रान्स) क्यान्सर सर्जरीमा फ्रोजन सेक्सन प्रयोग ९०% भन्दा बढी केसमा हुन्छ । जर्नल अफ सर्जिकल अन्कोलोजी (२०२२) मा प्रकाशित एक अध्ययनअनुसार, ब्रेस्ट क्यान्सर शल्यक्रियामा फ्रोजन सेक्सन प्रयोग गर्दा पुनः शल्यक्रियाको दर २५–३०% बाट घटेर १०% भन्दा कम हुने देखिएको छ ।

अमेरिकन कलेज अफ सर्जन्सका अनुसार ट्युमरको मार्जिनबारे तत्काल जानकारी प्राप्त हुँदा बिरामीलाई मनोवैज्ञानिक रुपमा पनि सन्तुष्टि मिल्छ र उपचारमा ढिलाइ हुँदैन । जापान, अमेरिका, जर्मनीलगायत मुलुकका क्यान्सर सेन्टरहरूले यसलाई स्तन, मस्तिष्क, थाइराइड, हेड–नेक ट्युमरमा नियमित प्रोटोकलको रूपमा प्रयोग गर्छन् ।

नेपालमा अभ्यासः भक्तपुर क्यान्सर अस्पतालको पहल
महँगा प्रविधि, प्रशिक्षित प्याथोलोजिस्टको अभाव र शल्यक्रिया कक्षमै तुरुन्त प्याथोलोजी सुविधा उपलब्ध नहुनुलगायतका कारण नेपालमा क्यान्सर शल्यक्रियामा फ्रोजन सेक्सन लामो समयसम्म प्रयोगमा थिएन । तर पछिल्ला वर्षमा भक्तपुर क्यान्सर अस्पतालले यो प्रविधि सुरु गरेर नयाँ सम्भावना देखाएको छ ।

अस्पतालका चिकित्सकहरूका अनुसार, अघिल्लो वर्ष मात्र स्तन क्यान्सर शल्यक्रियामा ५० भन्दा बढी बिरामीलाई फ्रोजन सेक्सनमार्फत लाभ भएको छ । यसअघि ट्युमर पूर्ण हटाइएको छ कि छैन भन्ने सुनिश्चित हुन दुई सातासम्म प्रतिक्षा गर्नुपथ्र्यो जसले दोहोरिने शल्यक्रियाको सम्भावना बढाउँथ्यो । अब भने शल्यक्रियाकै क्रममा ३० मिनेटमै नतिजा उपलब्ध हुने भएकाले बिरामीलाई एकै पटक पूर्ण उपचार सम्भव भएको छ ।

भविष्यः नेपालमा सम्भावना
नेपालमा क्यान्सरका बिरामी हरेक वर्ष बढ्दैछन् । नेपाल क्यान्सर रजिष्ट्रि (२०२२) अनुसार, हरेक वर्ष झण्डै ३५,००० नयाँ क्यान्सर केस देखिन्छन् । यस सन्दर्भमा फ्रोजन सेक्सनलाई विस्तार गर्नु अपरिहार्य छ । साथै प्रदेशस्तरीय अस्पतालमा प्रविधि विस्तार गर्नुपर्ने माग बढ्दो छ । प्याथोलोजिस्टलाई फ्रोजन सेक्सनमा तालिम दिने कार्यक्रम आवश्यक छ ।

सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर मेसिन र जनशक्ति विकास गर्न सकिन्छ । कहिलेकाँही फ्रोजन सेक्सन शतप्रतिशत शुद्ध नहुन सक्छ । स्थायी प्याराफिन ब्लकमा गर्ने परीक्षणभन्दा केही त्रुटि सम्भावना रहनसक्छ । त्यसैले यो प्रविधि अपनाउन विशेषज्ञ प्याथोलोजिस्ट, उच्चस्तरीय प्रयोगशाला र समन्वयित सर्जिकल–प्याथोलोजी टिम आवश्यक पर्छ । 
सारांशमा
फ्रोजन सेक्सन आधुनिक क्यान्सर शल्यक्रियामा जीवनरक्षक प्रविधि साबित भइरहेको छ । यसले सर्जरीको परिणाम सुधार्छ, दोस्रो अपरेशनको आवश्यकता घटाउँछ र बिरामीलाई तुरुन्त उपचारको सुनिश्चितता दिन्छ । अन्तर्राष्ट्रिय स्तरमा यसको सफल अभ्यास देखिएझैं नेपालमा पनि भक्तपुर क्यान्सर अस्पतालको पहलले क्यान्सर उपचारलाई नयाँ युगतर्फ डो¥याएको छ । अब देशभरका प्रमुख अस्पतालमा यो सुविधा विस्तार गर्ने, प्याथोलोजिस्ट तालिम कार्यक्रम सञ्चालन गर्ने र प्रविधिलाई राष्ट्रिय क्यान्सर उपचार प्रोटोकलमा समावेश गर्न आवश्यक देखिन्छ । 

फ्रोजन सेक्सन अनिवार्य सेवा

डा. उज्ज्वल चालिसे कार्यकारी निर्देशक भक्तपुर क्यान्सर हस्पिटल

डा. उज्ज्वल चालिसे,कार्यकारी निर्देशक,भक्तपुर क्यान्सर हस्पिटल
क्यान्सर उपचारलाई प्रभावकारी बनाउन भक्तपुर क्यान्सर हस्पिटलले ‘फ्रोजन सेक्सन’ सेवालाई अनिवार्य रुपमा प्रयोग गर्दै आएको छ । क्यान्सर शल्यक्रियाको सफलता दर बढाउन फ्रोजन सेक्सनको प्रयोग अपरिहार्य छ । क्यान्सरका बिरामीका लागि यो सेवा अत्यावश्यक भएकाले हामीले हरेक पटक प्रयोग गर्छौं । करिब २ वर्षअघि सुरु गरिएको फ्रोजन सेक्सन सेवाले शल्यक्रियाको क्रममा तत्काल निर्णय लिन सहज बनाएको छ । 

निर्णय लिन सजिलो, बिरामीलाई फाइदा

yutsabman-1762512999.JPG
डा. उत्सवमान श्रेष्ठ,क्यान्सर सर्जन,भक्तपुर क्यान्सर हस्पिटल
यसअघि अस्पतालमा क्यान्सरको शल्यक्रियापछि रिपोर्ट आउन केही दिन पर्खिनुपथ्र्यो र कहिलेकाहीँ त दोहो¥र्याएर शल्यक्रिया गर्नुपथ्र्यो । तर अहिले फ्रोजन सेक्सनका कारण शल्यक्रियाको क्रममा नै क्यान्सर र मार्जिन भएनभएको पत्ता लाग्छ । यसले डाक्टर र बिरामी दुवैलाई राहत दिएको छ । बिरामीलाई अनावश्यक अपरेशनबाट मुक्ति र उपचार प्रक्रिया छिटो बनाएको छ । यो प्रविधि ब्रेष्ट, जिआई, लिम्फ नोड, गाइनेकोलोजी र अर्थोपेडिकलगायतका क्यान्सरहरुमा  प्रयोग हुँदै आएको छ । फ्रोजन सेक्सन सुरु भएपछि शल्यक्रियाको क्रममा निर्णय लिन सजिलो र बिरामीले धेरै फाइदा महसुस गरेका छन् । 
 

अब दोहोर्‍याएर अपरेशन गर्ने झन्झट हट्यो 

dr-dip-lamichhane-1762513193.jpg
डा. दिप लामिछाने,क्यान्सर सर्जन,भक्तपुर क्यान्सर हस्पिटल
करिब दुई वर्षयता भक्तपुर क्यान्सर अस्पतालमा ‘फ्रोजन सेक्सन’ सेवा सुरु भएपछि क्यान्सर उपचारमा समयमै निर्णय लिन सहज भएको छ । विगतमा अस्पतालमा गरिएको अपरेशनपछि हिस्टोप्याथोलोजीकल  रिपोर्ट आउन दुई हप्तासम्म पर्खनुपर्दथ्यो । तर फ्रोजन सेक्सनबाट भने २०–३० मिनेटमै प्रारम्भिक रिपोर्ट प्राप्त हुन्छ । क्यान्सरको शल्यक्रिया गर्दा रोग नलागेको भाग बचाउन फ्रोजन सेक्सनको भूमिका महत्वपूर्ण हुन्छ । आँखाले देख्न नसकिएको भाग छुट्यो कि भनेर थाहा पाउन मार्जिन चेक गर्न फ्रोजन सेक्सन अत्यावश्यक हुन्छ । यस प्रविधिले दोहो¥याएर क्यान्सरको अपरेशन गर्नुपर्ने बाध्यता हटाएको छ । अस्पतालमा दैनिक पाँचवटा जति मेजर र करिब २० वटा माइनर शल्यक्रिया हुने गरेको छ । फ्रोजन सेक्सन नाक, कान, घाँटी, छाला, स्तन, पेट (आन्द्रा–रेक्टम), डिम्बाशयलगायत क्यान्सरमा प्रयोग भइरहेको छ । तर सबै अवस्थामा फ्रोजन सेक्सन आवश्यक नपर्न पनि सक्छ । 

गाइने क्यान्सर शल्यक्रियामा ठूलो राहत
alija-shrestha-1762513380.JPG

एलिजा श्रेष्ठ,गाइने अंको सर्जन ,भक्तपुर क्यान्सर हस्पिटल
फ्रोजन सेक्सनका कारण महिला क्यान्सर बिरामीलाई सुरक्षित, छिटो र लक्षित उपचार दिन सक्षम भएका छौं । यसले हामीलाई पनि सजिलो बनाएको छ । बिरामीलाई प्रत्यक्ष लाभ, शल्यक्रियाको समय र बिरामीको शरीरमा अनावश्यक हानि कम भएको छ । फ्रोजन सेक्सन नहुँदाको समयमा क्यान्सरको शल्यक्रिया गर्दा ग्रन्थी, बोसे आन्द्रा लगायत पाठेघरसँग जोडिएका सबै संरचना निकाल्नुपथ्र्यो । यसले बिरामीको शरीरमा अनावश्यक क्षति पुर्याउँथ्यो र शल्यक्रियाको समय पनि बढाउँथ्यो । तर अब फ्रोजन सेक्सनका कारण क्यान्सर नभएको अवस्थामा एक्सटेन्सिव सर्जरी गर्नुपर्दैन । यो प्रविधिले महिलाहरूलाई ठूलो राहत मिलेको छ । पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरसँग सम्बन्धित क्यान्सर बिरामीले सजिलो र सुरक्षित उपचार पाएका छन् । 

दश देखि बीस मिनेभित्र रिपोर्ट तयार

pratima-1762513575.JPG
 

डा. प्रतिमा श्रेष्ठ,प्याथोलोजिष्ट,भक्तपुर क्यान्सर हस्पिटल
शल्यकक्षबाट पठाइएको टिस्यु जाँच गरेर चाँडै सही रिपोर्ट दिने गरेका छौं । हाम्रो रिपोर्टको आधारमा शल्यक्रियाको निर्णय निर्धारण हुन्छ । क्यान्सरको अनावश्यक अपरेशनबाट बचाउने भएकाले फ्रोजन सेक्सनले बिरामीको उपचारलाई तेज, सुरक्षित र लक्षित बनाउने महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले हामी अलर्ट भएर बस्नुपर्छ । शल्यक्रियाको क्रममा सानो टिस्यु पठाइएमा रिपोर्ट १० मिनेट र ठूलो टिस्युको रिपोर्ट १५–२० मिनेटभित्र तयार हुन्छ । यदि कुनै टिस्युको फ्रोजन जाँच गर्नुपर्ने भएमा एकदिन अगाडि नै जानकारी दिनुपर्छ । यसले ल्याब र फ्रोजन मेसिनमा काम गर्ने स्टाफलाई तयारी अवस्थामा राख्न सहज हुन्छ । फ्रोजन सेक्सनको रिपोर्टले क्यान्सर भएनभएको बताउने मात्र नभई शल्यक्रियाको मार्गदर्शन पनि गर्छ । 

अंग बचाउन सफल

purna-ram-1762513732.JPG

डा. पुण्य राम खर्बुजा,क्यान्सर सर्जन,भक्तपुर क्यान्सर हस्पिटल
क्यान्सरको उपचारमा अत्याधुनिक प्रविधिको रूपमा ‘फ्रोजन सेक्सन’ प्रयोग सुरु भएपछि भक्तपुर क्यान्सर अस्पतालमा अंग बचाएर शल्यक्रिया गर्ने दर उल्लेखनीय रूपमा बढेको छ । क्यान्सरको शल्यक्रिया गर्दा सामान्यतया ट्युमर मात्र नभई वरिपरिका लिम्फ नोडहरू पनि एकमुष्ट रूपमा निकाल्नुपर्ने हुन्छ । तर शल्यक्रियाको क्रममा फ्रोजन सेक्सनमार्फत तुरुन्तै परीक्षण गरी सही रिपोर्ट प्राप्त भएपछि अंग सुरक्षित राख्दै शल्यक्रिया गर्न सहज भएको छ । क्यान्सरमा ¥याडिकल सर्जरी गर्नुपर्छ । तर फ्रोजन सेक्सनको रिपोर्टले हामीलाई क्यान्सरको फैलावटबारे तत्काल जानकारी दिने भएकाले आवश्यक निर्णय सजिलै गर्न सकिन्छ । साथै बिरामीलाई दोहो¥याएर अपरेशन गर्नुपर्ने समस्या पनि न्यून भएको छ । विशेषगरी स्तन, मिर्गौला, मुख तथा अन्य अङ्गमा हुने क्यान्सरको शल्यक्रियामा यो प्रविधि प्रभावकारी सावित भइरहेको छ । 

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट